बङ्गलादेशमा १२औं राष्ट्रिय निर्वाचनअन्तर्गत आइतबार बिहानैदेखि मतदान सुरु भएको छ। करिब १७ करोड जनताका २९९ प्रतिनिधि (सांसद) चुन्नका मतदान भएको हो।
यद्यपि आइतबारको मतदान पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सहितका केही दलले भने बहिष्कारको घोषणा गरेका छन्।
प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न गरेको विपक्षी दलको मागलाई बेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुनेमा आशङ्का गर्दै उनीहरूले मतदान बहिस्कार गरेका हुन्।
आइतबार बिहान ८ बजेपछि जारी निर्वाचनका लागि ४२ हजारभन्दा बढी मतदान केन्द्र तोकिएका छन्। अपरान्ह ४ बजेसम्म मतदान केन्द्रभित्र लाइनमा पुगेका मतदाताले साँझ अबेरसम्म पनि मतदान गर्न पाउनेछन्।
निर्वाचनमा मतदानका लागि ११ करोड ९६ लाख व्यक्ति योग्य रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार योग्य मतदातामध्ये झन्डै आधा महिला छन् भने पहिलो पटक मतदानका लागि योग्य बनेका मतदाताको सङ्ख्या एक करोड ५० लाख छ।
पाकिस्तानको सञ्चारमाध्यम अल जजिराका अनुसार प्रमुख विपक्षी दल बीएनपीको अनुपस्थितिमा प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने अपेक्षा गरिएको छ। मतदानको प्रारम्भिक परिणाम सोमबार बिहानसम्म आइसक्ने बताइएको छ।
यता बीएनपीले भने शनिबारदेखि नै ४८ घण्टे राष्ट्रव्यापी हडताल सुरु गरेको छ।
सर्वोच्च अदालतले गत पुस ५ गते निर्वाचन आयोगलाई निर्वाचन अघि बढाउन अनुमति दिएको थियो।
ढाका ट्रिब्यूनको रिपोर्टअनुसार स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले सुरक्षा चिन्तालाई उजागर गर्दै बङ्गलादेशभरका निजी अस्पताल र क्लिनिकलाई स्वास्थ्य सेवाहरू सञ्चालन गर्न र शनिबारदेखि बुधबारसम्म आपत्कालीन अवस्थाको सामना गर्न तयार रहन निर्देशन दिएको छ।
निर्वाचन आयोगका अनुसार निर्वानमा २७ दल र स्वतन्त्रसमेत गरी कुल एक हजार ५०० उम्मेदवार प्रतिस्पर्धामा छन्। रासस
Shares

प्रतिक्रिया