पश्चिमी इराकको एक एयरबेसमा मिसाइल आक्रमणमा परी कैयौं अमेरिकी सैनिक घाइते भएका छन्।
अमेरिकी सेनाको केन्द्रीय कमान्डले शनिबार साँझ इरान समर्थित लडाकुहरूले इराकको अल असद एयरबेसलाई ब्यालेस्टिक मिसाइल र रकेटले निशाना बनाएको बताएको छ।
यस हमलापछि धेरै अमेरिकी सैनिकको चोटपटकबारे अनुसन्धान भइरहेको छ। यस आक्रमणमा इराकी सेनाका पनि कम्तीमा एक सदस्य घाइते भएका छन् ।
‘इस्लामिक रेजिस्टेन्स इन इराक’ नामक संगठनले अल असद एयरबेसलाई निशाना बनाएको जिम्मेवारी लिएको छ।
अमेरिकामा रहेको वासिङटन इन्स्टिच्युट फर नियर इस्ट पोलिसीका अनुसार यो समूह २०२३ को अन्त्यमा देखा परेको थियो। यसमा इराकमा सक्रिय इरानका धेरै सशस्त्र समूह समावेश छन्।
यसले हालैका हप्तामा अमेरिकी सेनाविरुद्ध धेरै आक्रमण गरेको छ। अल असद बेसमा पछिल्ला केही वर्षमा धेरै पटक आक्रमण भएका छन्।
अमेरिकी सेनाले शनिबार प्रहार गरिएका अधिकांश क्षेप्यास्त्र रोकिएको बताएको छ। यद्यपि, कतिपयले हवाई रक्षालाई चकित पारेर आधारलाई निशाना बनाए। यसबाट भएको क्षतिको मूल्यांकन भइरहेको छ।
गत वर्ष अक्टोबरमा इजरायल र गाजाबीच युद्ध सुरु भएपछि इराक र सिरियामा रहेका अमेरिकी सैन्य आधारमा इरानसँग सम्बन्धित संगठनले गरेको यो पछिल्लो आक्रमण हो।
केही दिनअघि अमेरिका, बेलायत र तिनका सहयोगीले यमनमा हुथी विद्रोही बसेको स्थानमा आक्रमण गरेका थिए। हुथी विद्रोहीले लाल सागर हुँदै जाने जहाजलाई निशाना बनाएका थिए।
Shares

प्रतिक्रिया