ad ad

ग्लोबल


दुई वर्षको युद्धपछि कस्तो स्थितिमा छ युक्रेन?

६५ लाख शरणार्थी, गुम्यो जीडीपीको ३० प्रतिशत हिस्सा र ३५ लाख रोजगारी
दुई वर्षको युद्धपछि कस्तो स्थितिमा छ युक्रेन?

युद्धले ध्वस्त बाखमुत सहर


मन्सुर मिरोवालेव
फागुन १२, २०८० शनिबार २०:४९,

आन्द्रेइको दस्तामा सैनिकहरूको कमी छ। हतियारको पनि चरम अभाव छ। सामुन्नेबाट आक्रमण गरिरहेका रुसी सेनातर्फ उनीहरूले दिनमा १० गोलाभन्दा बढी प्रहार गर्न पाउँदैनन्। 

४५ वर्ष पुगे आन्द्रेइ। उनको पेट दुखिरहन्छ। आँखा कमजोर हुँदै गएका छन्। उनलाई पटकपटक चोट लागेकाले कयौँ पटक अस्पताल भर्ना भइसकेका छन् उनी।

दुई वर्षअघि रुसको आक्रमण सुरु हुँदा आन्द्रेइ राजधानी किभमा थिए। युद्धको पहिलो साताभरि उनी किभको रक्षार्थ लडे। अन्ततः ठूलो क्षति बेहोरेपछि रुसी सेना पछि हट्यो। त्यसपछि आन्द्रेइ पूर्वी सहर बाखमुतको रक्षाका लागि लडे। जुन गत मे महिनामा रुसको कब्जामा पर्‍यो।

उनी कति समय अग्रमोर्चामा खटिन्छन्, त्यसको टुंगो हुँदैन। कमान्डिङ अफिसरले उनको तलबभत्ता कम गर्न जानीजानी उनको अग्रमोर्चामा तैनाथीको समय घटाइदिने गरेको उनको गुनासो छ।

यी सारा अप्ठ्याराका बाबजुद आफ्नो भूमि रक्षार्थ उभिने मामिलामा उनमा कुनै द्विविधा देखिँदैन।

‘यो मेरो जग्गा हो, बुझ्नुभो? म यहीँ हुर्किएँ। यही उब्जेको अन्न खान्छु म। त्यसकारण म लडिरहन्छु,’ छुट्टीमा पूर्वी सहर खार्कोवमा रहेका उनले भने।

युद्धको नियमअनुसार उनले आफ्नो थर र आफ्नो दस्ता तैनाथ रहेको स्थान भने खुलाएनन्।

अझै पनि युक्रेनका ८५ प्रतिशत मानिस आफ्नो जित हुनेमा विश्वस्त रहेको एउटा सर्वेक्षणले देखाएको छ।

बाँकी १५ प्रतिशतमध्ये अधिकांश पूर्वी तथा दक्षिण क्षेत्रका हुन्। जुन लडाइँको मोर्चाबाट नजिकै पर्छन्। तिनले युद्धको सबैभन्दा खराब परिणाम आफैँले भोगेका छन्।

‘उनीहरूले कब्जा गरेको जमिन उनीहरू नै राख्न चाहन्छन् भने पनि म शान्तिका लागि सहमत हुन्छु,’ युक्रेनको दोस्रो ठूलो सहर खार्कोवका बासिन्दा कोन्स्तान्तिन भन्छन्।

गत वर्ष उनको अपार्टमेन्ट भवनको ठिक छेउमा विस्फोट हुँदा उनको फ्ल्याटका झ्याल फुटे भने धातुको ढोका समेत ह्वांग भयो।

उनी यहीँ बसिरहेका छन्। तर, दैनिक बमबारी र गत वर्षको प्रत्याक्रमणको असफलताले उनलाई थकाएको छ।

‘हरेक दिन, हरेक रात गोला विस्फोटको आवाज सुन्दै बुढो हुन चाहन्नँ म। किनभने एक दिन त्यसले मेरो घरमा लाग्नेछ,’ उनी भन्छन्।

युक्रेनका लागि पश्चिमा सहयोग निर्णायक हुने ७९ प्रतिशत युक्रेनीको भनाइ छ। तर, सहयोग घट्दैछ। पश्चिमा सरकारहरूले घुमाउरो तरिकाले युक्रेनलाई रुससँग गुमेको भूमि छाडेर शान्ति सम्झौतामा हस्ताक्षर गर्न भनिरहेका छन्।

शान्ति वार्ता तर कसको सर्तमा?
राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र युक्रेनका प्रत्येक नेताको सार्वजनिक सर्त एउटै छ, वार्ता सुरु हुनुअघि मस्कोले कब्जा गरेको सबै भूमि छाड्नुपर्छ।

‘भूमि छाड्ने कुरा राजनीतिक रुपले कसैले पनि स्वीकार्दैन,’ विश्लेषक अलेक्सी कुस्च भन्छन्, ‘कोरियाको जस्तैगरी द्वन्द्व रोक्ने विषयमा अनौपचारिक कुरा हुँदैछ।’

दुई कोरियाबीच १९५३ मा युद्धविराम भएको थियो। त्यसले औपचारिक रुपमा युद्ध अन्त्य नभए भने लडाइँ भने रोकियो। 

तर, युद्ध नसकिउन्जेल युक्रेनले ‘आधिकारिक रुपमा घोषित अधिकतम लक्ष्य’ नै उद्घोष गरिरहने उनी बताउँछन्।

युद्धले युक्रेनको जीडीपीको ३० प्रतिशत हिस्सा र ३५ लाख रोजगारी खोसेको प्रधानमन्त्री डेनिस स्मिहाल बताउँछन्।

तर, युक्रेनको सबैभन्दा ठूलो क्षति भनेको उसका जनता हुन्।

कम्तीमा ६५ लाख युक्रेनीले विदेशमा शरण लिएका छन्। अहिले किभको नियन्त्रणमा रहेको क्षेत्रमा ३ करोडभन्दा कम जनसंख्या रहेको विश्लेषकहरूको अनुमान छ। १९९१ मा स्वतन्त्र हुँदा युक्रेनको जनसंख्या ५.२ करोड थियो।

थुप्रै शरणार्थीका लागि फर्केर जाने ठाउँ समेत बाँकी छैन।

गत जुनमा मारियोपोलको घेराबन्दीमा परेकी २८ वर्षिया हलिनाले आफ्ना दुई साना सन्तानले बेहोरेको कष्ट सुनाएकी थिइन्।

गोलाबारी चरममा पुग्दा भुइँतलामा उनीहरू होस गुमाउँथे। अनि उनीहरूले सोधे, ‘मर्दा दुख्छ कि दुख्दैन?’

चेक रिपब्लिक आइपुगेकी उनका बच्चा सुरक्षित छन्। तर, तिनले चोट बिर्सेका छैनन्।

‘मेरो छोरो विमानको आवाजले भर्खर मात्र डराउन छाडेको छ। छोरी कहिलेकाहीँ राति रुन्छे,’ उनले सुनाइन्, ‘हाम्रो नयाँ जीवन सुरु हुँदैछ। तर, दुर्भाग्यवश युक्रेनमा होइन।’

गत साता अब्दिब्काबाट युक्रेनी सेना पछि हट्यो र रुसले दुर्लभ विजय प्राप्त गर्‍यो। यसलाई रुसी प्रचारकहरूले खुब उचाले।

‘किभको सत्ता र त्यसका संरक्षकहरूले कहिल्यै नबिर्सिने चोट खाए,’ किरिल स्त्रेल्निकोवले मंगलबार लेखेका छन्।

सम्पूर्ण रुपमा एक्लिएन रुस
स्वतन्त्र विश्लेषकहरू पुटिनको मूल्यांकन स्वीकार गर्दैनन्। तर, रुसको अर्थतन्त्र ध्वस्त पार्न रचिएको पश्चिमा नाकाबन्दीविरुद्ध त्यसले अनपेक्षित रुपमा सबलता देखाएको उनीहरूको भनाइ छ। शुक्रबार अमेरिकाले रुसविरुद्ध नयाँ चरणका प्रतिबन्धहरू घोषणा गरेको छ।

‘नाकाबन्दीले जुन हिसाबले रुसको अर्थतन्त्रलाई असर गर्ने अपेक्षा थियो, त्यो गर्न सकेन, रुस पूर्ण रुपमा एक्लिएन,’ बर्लिनस्थित कार्नेगी रसिया युरेसिया सेन्टरका तैमुर उमारोव भन्छन्।

जीवन सम्पूर्ण रुपमा सैनिकीकरण भएपछि थुप्रै युक्रेनीहरू राजनीतिक रुपमा दक्षिणतर्फ ढल्केको किभका मानवअधिकारकर्मी वेचेस्लाव लिखाचेव भन्छन्।

त्यस्ता चरमपन्थी समूहहरूले रुसी भाषा, सामान, साहित्य र अर्थोडक्स चर्चमा पनि प्रतिबन्ध लगाउनुपर्ने बताउँदै आएको छ।

आजभोलि दसौँ लाख रुसीभाषी युक्रेनीहरूले युक्रेनी भाषा बोल्न थालेका छन्। जेलेन्स्कीको सरकार अर्थोडक्स चर्चमाथि प्रतिबन्ध लगाउने योजनामा छ।

‘किनाराका चरमपन्थी विचारलाई अहिले जनताको ठूलै हिस्साले बोक्न थालेको छ। केही त सरकारले समेत लागू गराएको छ,’ लिखाचेव भन्छन्।

युद्धले पहिचान, एकता र राजनीतिक स्वतन्त्रताको भावना भने स्पष्ट पारेको छ।

‘यो युद्धले हामीलाई देखाएको छ, सार्वभौम मुलुक यसै अस्तित्वमा रहन सक्दैन। सार्वभौमिकताले निरन्तर आत्मनिर्णय, आत्मसम्मान र स्वसमझदारीको माग गर्छ,’ किभस्थित एसोसियसन अफ पोलिटिकल साइकोलोजिस्टकी उपाध्यक्ष स्वेतलाना चुनिखिना बताउँछन्।

र, युक्रेनीहरूले हाफ्नो हास्यरस भने गुमाएका छैनन्। 

पोल्यान्डले युक्रेनी अन्न आयातमा रोकेपछि युक्रेनीहरूको भनाइ थियो, ‘रुसको ट्यांकलाई त पोल्यान्डका किसानले पो रोक्न सक्छन् क्यारे!’ अल जजिराबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .