हप्तौँको हिंसापछि शेख हसिनाको शासन ढलेको रात बंगलादेशको राजधानी ढाकास्थित मोहम्मदपुरका बासिन्दा सइद बिप्रो र उनका छिमेकीहरूले कानुन आफ्नो हातमा लिने निर्णय गरे।
प्रहरीहरू लुकिसकेका थिए। जताततै लुटपाट थियो, तोडफोड चलिरहेको थियो, आगजनी चलिरहेको छ। त्यसैले मोहम्मदपुरका बासिन्दाले सो बस्तीमा छिर्ने बाटोमा काठको बार लगाए। क्रिकेट ब्याट र अरु किसिमका घरेलु हतियार बोके अनि गस्तीमा निस्किए।
‘ढाका कानुन व्यवस्थाविहीन सहर बन्न पुग्यो,’ ३३ वर्षीय बिप्रो भन्छन्।
उनी र सो क्षेत्रका अरु दर्जनौँ व्यक्ति अघिल्लो साताको सोमबार सरकार ढलेदेखि नै हरेक रात जागा बसेर गस्ती गरिरहेका छन्। उनीहरू सवारी साधन तलासी लिन्छन्, अपरिचितसँग सोधपुछ गर्छन् र शंकास्पद अपराधीहरूलाई समात्छन्।
‘कानुन व्यवस्था भन्ने त छँदैछैन। आफ्नो हेरचाह गर्ने जिम्मा आफ्नै हो,’ उनले सुनाए।
हसिना भागेपछि १७ करोड जनसंख्या भएको बंगलादेशकाभरिका मानिसले यसैगरी आआफ्नो टोलको सुरक्षा गर्न थालेका छन्।
आन्दोलन र हिंसाका क्रममा करिब ५ सय मानिस मारिएका छन्। गत महिना शेख हसिनाको सरकारले प्रदर्शनकारी विद्यार्थीहरूमाथि आक्रमण गर्न प्रहरी र अवामी लिगका कार्यकर्तालाई खटाएको थियो। जसले जनविद्रोहको स्थिति सिर्जना गर्यो र उनको शासन पतन भयो।
बदलाका लागि आक्रमण हुन थालेपछि प्रहरीहरूले काम गर्न अस्वीकार गरे। जसका कारण जेल तोडेर कैदी फरार हुनेजस्ता घटना भए भने मानिसहरूको घरमा आक्रमणको भय बढ्यो।
मोहम्मद युनुसको अन्तरिम सरकारका लागि कानुन व्यवस्था कायम राख्नु सबैभन्दा ठूलो चुनौती बनेको छ।
सेनाले नभ्याउने भएपछि सरकार ट्राफिक व्यवस्थापनदेखि भवन सुरक्षाको कामका लागि विद्यार्थी, स्थानीय बासिन्दालगायत स्वयंसेवकमा निर्भर छ।
शेख हसिना भागेपछि मोहम्मदपुर र अन्य स्थानको माहौल उत्साहजनक छ। आआफ्नो स्थानमा राति गस्ती गर्नुलाई उनीहरू नागरिकको कर्तव्य ठान्छन्।
तर, कानुन आफ्नो हातमा लिने भिजिलान्ते प्रवृत्ति बढ्दै जाँदा स्थिति नियन्त्रणबाहिर जानसक्ने र हिंसाको नयाँ शृंखला सुरु भए त्यसले युनसुको नाजुक सरकारलाई अस्थिर तुल्याई मुलुकलाई थप राजनीतिक, आर्थिक र सुरक्षा संकटमा धकेल्न सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।
शेख हसिनाको पतन बंगलादेशीहरूको महान विजय भएको बताउँछन् ढाकास्थित थिंक ट्यांक सेन्टर फर गभर्नेन्स स्टडिजका कार्यकारी निर्देशक जिल्लुर रहमान।
‘तर, क्रान्तिका नाममा हामी जे गरिरहेका छौँ, मुलुक चलाउन, सरकारी संयन्त्र र सरकार चलाउन स्वयंसेवक खटाइरहेका छौँ, त्यो खतरनाक छ। यो जिम्मेवारी मेरो, विद्यार्थी वा जनताको हुनु हुँदैन,’ उनले भने।
हालैको एक दिन बिप्रो र अन्य मानिसहरू आधाराततिर घरबाट बाहिर निस्किए। केही समयअघिसम्म गुलजार हुने मोहम्मदपुरको सडक सुनसान थियो, खुलेका केही पसल पनि बन्द हुँदै थिए।
उनीहरू सडकको कुनामा उभिए र हात देखाएर कार तथा रिक्सा रोकेर तलासी र सोधपुछ गर्न थाले।
सबै खुसियाली मनाइरहेका थिए। महिलाहरू उनीहरूसँग गफ गरिरहेका थिए भने सुनसान सडकमा बच्चाहरू क्रिकेट खेलिरहेका थिए।
‘यो घटनाले हाम्रो आपसी सम्बन्ध मजबुत बनाएको छ,’ ३८ वर्षीय सइद सियाम भन्छन्, ‘हामी सबै जनताको सेवाका लागि यहाँ आएका हौँ। हामी बंगलादेशको सेवा गर्न चाहन्छौँ र नयाँ बंगलादेश निर्माण गर्न चाहन्छौँ।’
तर, हालैको द्वन्द्वको घाउ आलै छ, आक्रोश मत्थर हुन पाएको छैन।
स्थानीयका अनुसार प्रर्दशनमा प्रहरीले सँगैको गल्लीका एक १८ वर्षीय किशोरलाई गोली हानेर ज्यान लिएको थियो। प्रहरीको बर्बरताको निसानी भनेर उनीहरूले गोलीले छेडेको सडकबत्ती देखाए।
सरकार ढलेपछि अवामी लिगका एक नेताको नजिकै रहेको घर आगो लगाएर खरानी पारियो। र, सो पार्टीका सदस्य भनेर चिनिएका कोही पनि मोहम्मदपुरमा नदेखिएको स्थानीय बताउँछन्।
‘तिमीहरूले १५ वर्षसम्म मानिसहरूलाई यातना दियौ,’ गस्तीमा हिँडेका ४२ वर्षीय साहिदुल इस्लाम अवामी लिगबारे भन्छन्, ‘तिमीहरूले दुःख पाउनैपर्छ। बदला लिइनेछ। तर, हामी त्यसलाई कम गर्ने कोसिस गर्दैछौँ।’
प्रहरी नभएपछि कानुन आफ्नो हातमा लिनुको विकल्पै नभएको मोहम्मदपुरका बासिन्दा बताउँछन्।
हालैको एक रात स्थानीयले तीनजना मानिसको समूहलाई रोक्यो। तीमध्ये एकजनासँग छुरी थियो। स्थानीयले तिनलाई पिटे र खम्बामा बाँधे। उज्यालो भएपछि उनीहरूलाई सेनाको जिम्मा लगाइयो।
बिप्रो आफू सो घटनामा संलग्न नभए पनि स्थानीयले आत्मरक्षाका लागि मात्र बलप्रयोग गरेको दाबी गर्छन्।
‘प्रहरीचाहिँ कहाँ गतिलो थियो र,’ उनी भन्छन्, ‘प्रहरीले भन्दा हामीले इमानदार भएर काम गरिरहेका छौँ।’
सँगै गस्ती गरिरहेका ५२ वर्षीय खालिद उस्मानी बंगलादेशमा यत्तिको अव्यवस्था आफूले कहिल्यै नदेखेको बताउँछन्। तर, स्थानीयका कारण आफूहरूलाई कसैले छुन नसकेको उनले सुनाए।
तर, अवकाशप्राप्त मेजर जनरल तथा बंगलादेश इन्स्टिच्युट अफ पिस एन्ड सेक्युरिटी स्टडिज नामक थिंक ट्यांकका संस्थापक एएनएम मुनिरउजमान यस्तो स्थिति लामो समय रहन नसक्ने चेतावनी दिन्छन्।
‘मुलुकमा सुरक्षा रिक्तता छ,’ उनले भने, ‘अझै विद्यार्थीले ट्राफिक नियन्त्रण गरिरहेका छन्। यसलाई चाँडोभन्दा चाँडो सामान्य अवस्थामा फर्काउनुपर्छ। प्रहरीले छिटो ड्युटी सम्हाल्नुपर्छ।’
अन्तरिम नेताका रूपमा युनुसका चुनौती कम छैनन्। उनले बंगलादेशको अर्थतन्त्रलाई लयमा ल्याउनेदेखि राजनीतिकरण भएका न्यायपालिकाजस्ता संस्थाहरूलाई सुधार गर्नु छ।
आफ्नो पहिलो काम कानुन व्यवस्था कायम गर्नु भएको उनले बताएका छन्, ताकि मानिसहरू ढुक्क भएर बस्न वा काममा जान सकून्।
यसमा उनी केही हदसम्म सफल भएको उनको कार्यालयले जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार अधिकांश प्रहरी चौकी खुलेका छन्। र, ढाकाको केही चोकमा विद्यार्थीको ठाउँ ट्राफिक प्रहरीले लिन थालेका छन्।
तर, मोहम्मदपुरका बासिन्दा भने हसिनाको पक्ष लिएर आफूहरूमाथि हिंसा गर्ने प्रहरीलाई स्वीकार्न नसकिने बताउँछन्।
‘प्रहरीबिना ढाका मात्र होइन, कुनै पनि सहर सुरक्षित हुन सक्दैन,’ ३४ वर्षीय फैजल जावेद भन्छन्, ‘हामीलाई प्रहरी चाहिन्छ। तर, नयाँ सोच भएको प्रहरी चाहियो। त्यसैका लागि त मान्छेले आफ्नो ज्यान बलिदान गरेका हुन्।’
(फाइनान्सियल टाइम्सबाट)
Shares
प्रतिक्रिया