फिल्टर जल्न नथालुञ्जेल दिमा कहिल्यै चुरोट निभाउँदैनन्। थप एक सर्को धुवाँ तान्ने लोभमा उनी आफ्नो औँला जलाउने जोखिम लिन्छन्। युक्रेनको युद्धमोर्चामा वर्षौं बिताइसकेका उनलाई एउटा गतिलो धुम्रपानको मूल्य राम्ररी थाहा छ।
उनी बटालियन कमान्डर थिए। उनको कमान्डमा करिब ८ सय सैनिक थिए, जसले युक्रेन युद्धकै सबैभन्दा भयानक, सबैभन्दा रक्तपातपूर्ण लडाइँ लडेका थिए। पछिल्लो समय पोक्रोव्स्क सहरनजिकै। जुन अहिले रुसको कब्जामा पर्ने सँघारमा छ।
तर, उनका अधिकांश सैनिक मारिए अथवा नराम्ररी घाइते भइसके। त्यसपछि दिमाले निर्णय गरे– अब अति भयो। उनले बटालियन कमान्डरको जिम्मेवारी छाडे। अहिले सेनाको लागि किभको एउटा अफिसमा उनी काम गर्छन्।
आफ्नो त्यही अफिसबाहिर उभिएर लगातार चुरोट तान्दै र गुलियो कफी घुट्क्याउँदै उनले भने–आफ्ना मान्छे मारिएको दृश्य हेर्ने शक्ति अब ममा छैन।
अढाई वर्षदेखिको रुसको कठोर आक्रमणले थुप्रै युक्रेनी सैन्य टुकडी नष्ट गरिदिएको छ। पालो दिने जगेडा सैनिक निकै कम छन्। जसका कारण कयौँ सैनिकहरू अति थकित र हतोत्साहित भएका छन्। खासगरी पोक्रोव्स्क र पूर्वी मोर्चानजिकका क्षेत्रहरूमा अवस्था सबैभन्दा खराब छ। जहाँ रुस अघि बढिरहेको छ र युक्रेनले रोक्न सकिरहेको छैन।
यो क्षेत्रमा लडिरहेका ६ जना कमान्डरहरूसँग कुरा गर्दा उनीहरू सबैले सेना छाडेर भाग्ने र कमान्डरको अवज्ञा गर्ने समस्या जताततै रहेको बताए। खासगरी यस्तो समस्या भर्खर भर्ती भएका सैनिकमा देखिन्छ।
६ मध्ये दिमासहित ४ जनाले नाम उल्लेख गर्न चाहेनन्।
‘सबै सैनिकले ठाउँ छाडे भनेको होइन। तर, अधिकांशले यस्तो गरिरहेका छन्। जब नयाँ सैनिक आउँछन्, यहाँको कठिनाइ उनीहरूलाई थाहा हुन्छ। उनीहरूले दुस्मनका धेरै ड्रोन, तोप, मोर्टार देख्छन्,’ पोक्रोव्स्कमा लडिरहेका एक कमान्डरले भने, ‘एकपटकलाई उनीहरू खटाइएको स्थानमा जान्छन्। त्यहाँबाट बाँचेर निस्किए भने उनीहरू कहिल्यै फर्केर जाँदैनन्। उनीहरू कि त खटाइएको ठाउँमै जाँदैनन्, कि लडाइँमा जान मान्दैनन् नत्र सेना नै छाड्ने कोसिस गर्छन्।’
युद्धको सुरुमा थुप्रै स्वेच्छाले सेनामा सामेल भएका थिए। तर, नयाँहरूसँग विकल्प छैन। गत वसन्तमा लामबन्दीको नयाँ कानुन लागू भएपछि उनीहरू अनिवार्य भर्ती भएका हुन्। विशेष अनुमति पाएकाबाहेकले त्यसलाई अस्वीकार गर्न सक्दैन।
तर, अनुशासनको समस्या त्यसभन्दा पहिलेदेखि नै थियो। गत हिउँद र वसन्तमा युक्रेन निकै कठिन समयबाट गुज्रियो। अमेरिकी सैन्य सहायता रोकिएका कारण गोलाको कमी थियो। जसले उनीहरूको मनोबल गिरायो।
एउटा इन्फेन्ट्री ब्रिगेडका अफिसर सेर्गेइ सेहोत्स्की अग्रिम मोर्चाबाट सैनिकहरूलाई तीनदेखि चार दिनमा पालो दिने कोसिस भइरहेको बताउँछन्। तर, बढ्दो संख्यामा रहेका ड्रोनका कारण त्यो निकै खतरनाक भएको उनको भनाइ छ।
‘सैनिकहरूले सबैभन्दा बढी भनेको २० दिनसम्म अग्रमोर्चामा बस्नुपरेको छ,’ उनी भन्छन्।
जसै युद्धको अवस्था बिग्रिँदै गयो, हार मान्ने सैनिकहरूको संख्या पनि बढ्दै गयो। युक्रेनी संसदका अनुसार २०२४ को सुरुवाती चार महिनामा मात्र १९ हजार सैनिकविरुद्ध आफ्नो ठाउँ छाडेको र भागेको आरोपमा आपराधिक अभियोग चलाइएको छ। अहिले युक्रेनी सुरक्षा फौजमा १० लाखभन्दा बढी छन्।
तर, यो संख्या अपूरो रहेको बताइन्छ। कतिपय अधिकारीहरूले आफ्नो ठाउँ छाडेर भाग्ने सैनिकबारे माथिल्लो तहमा रिपोर्ट नै गर्दैनन्। ताकि सजाय नदिइकन उनीहरूलाई सम्झाएर लडाइँमा फर्काउन सकियोस्।
यो चलन यति व्यापक भयो कि युक्रेनले कानुन नै बदल्नुपर्यो। अहिले पहिलोपटक सेना छाडेर भाग्नु र छुट्टी नलिई अनुपस्थित हुनुलाई अपराध मानिँदैन।
पूर्वी क्षेत्रको चासिव यारमा लडिरहेका अफिसर आन्द्रेइ होरेत्स्की यो उपयुक्त कदम भएको बताउँछन्।
‘धम्कीले वातावरण अझ बिगार्छ। चतुर कमान्डरले सकेसम्म धम्की दिइहाल्दैन,’ उनी भन्छन्।
पोक्रोव्स्क युद्धको केन्द्र बनेको छ। महिनौँदेखि रुसीहरू यो सहरतिर बढिरहेका छन्। तर, केही सातादेखि उनीहरूको गति तीव्र भएको छ। युक्रेनको प्रतिरक्षा धराशयी हुँदैछ।
‘सबैथोक उस्तै लाग्छ’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो लक्ष्य समग्र दोनेस्क र लुहान्स्क कब्जा गर्ने भएको स्पष्ट पारिसकेका छन्। त्यसका लागि आपूर्ति केन्द्रका रूपमा रहेको पोक्रोव्स्क कब्जा गर्नु महत्त्वपूर्ण कदम हुनेछ।
यो सहर त्यो सडकमा पर्छ, जसले सो क्षेत्रका अन्य हिस्सालाई आपसमा जोड्छ। द्निप्रसँग जोड्ने रेलमार्ग पनि यससँग जोडिन्छ। यसनजिकै एउटा इन्धन खानी छ। युक्रेनलाई स्टिल बनाउन त्यो खानी महत्त्वपूर्ण छ।
तर, सो क्षेत्रका सैनिकहरू निकै गम्भीर अवस्था रहेको बताउँछन्। युक्रेनी सेना संख्या र हतियार दुवैमा कम छ। कतिपय स्थानमा त १० रुसी सैनिक बराबर १ युक्रेनी सैनिक रहेको बताइन्छ।
त्यसबाहेक आफैँद्वारा सिर्जित समस्यासँग पनि उनीहरू जुधिरहेका छन्। पोक्रोव्स्कमा लडिरहेको ब्रिगेडका एक अफिसर विभिन्न टुकडीबीच सञ्चारसम्पर्क राम्रो नरहेको बताए।
आफूलाई दोष दिइने डरले कयौँ टुकडीले लडाइँको वास्तविक स्थिति नबताउने उनको भनाइ छ।
उत्तरी दोनेस्कमा लडिरहेका एक बटालियन कमान्डरले बताएअनुसार उनको क्षेत्रमा एउटा टुकडीले नबताई ठाउँ छोड्दा रुसी आक्रमणका लागि सो ठाउँ खुला भएको थियो।
युक्रेनले गत महिना कुर्स्क क्षेत्रमा अचानक आक्रमण गरेको थियो। जसका कारण रुसको भूमिमा ३० किमि भित्रसम्म युक्रेनी सेना पुग्न सफल भएको थियो।
अन्यत्र रुसको आक्रमण रोक्ने र उचित हतियार पाए रुसलाई हराउन आफू सक्षम छौँ भन्ने देखाउन यो आक्रमण गरिएको युक्रेनी नेताहरूले बताएका छन्।
यसले थकित युक्रेनी सेनाको मनोबल बढाउने काम पनि गर्यो। तर, रुसी भूमिमा कारबाही गरेर फर्केको सैन्य इन्जिनियरहरूको टोली यो रणनीतिप्रति त्यति धेरै आश्वस्त छैन।
एउटा बन्द रेस्टुरेन्टबाहिर टेबलवरिपरि बसेर उनीहरू आफ्नो गाडी पर्खिरहेका थिए। चुरोट तान्दै जागा रहने कोसिस गरिरहेका उनीहरूको प्रश्न थियो– पूर्वी मोर्चा लठिभद्र हुँदाहुँदै हामीलाई किन कुर्स्क पठाइयो?
‘रुसमा पस्दा अजीव लाग्यो। किनकि यो युद्धमा हामीले आफ्नो भूमि, आफ्नो देशको रक्षा गर्नुपर्ने थियो। र, अहिले हामी अर्काको देशभित्र लडिरहेका छौँ,’ तीमध्ये एकले भने।
यी चारैजना अढाई वर्षदेखि लडिरहेका छन्। उनीहरूको काम कठिन छ। दिनभर अग्रमोर्चामै बसेर उनीहरूले जमिनमा बिछ्याइएका बम हटाउनुपर्छ, रक्षाको योजना बनाउनुपर्छ र नियन्त्रित विस्फोट गराउनुपर्छ। पैदल सैनिकभन्दा अगाडि उनीहरूमाथि आक्रमण हुन्छ। करिब ४० किलोको भारी र चारवटा ट्यांकप्रतिरोधी माइन (प्रतिगोटा १० किलो) घिसारेर हिँड्नुपर्छ।
पोक्रोव्स्कमा लडिरहेका उनीहरू आराम नगरी कुर्स्क पुगेका थिए।
‘आरामको कुरा कमान्डरपिच्छे फरक पर्छ। कुनैकुनै टुकडीमा आलोपालो हुन्छ। कुनैमा लगातार लडाइँ। यो समग्र व्यवस्था निष्पक्ष हुँदैन,’ उनी भन्छन्, ‘तीन वर्षको लडाइँपछि सबथोक उस्तै लाग्छ।’
‘सडेको तरिका’
बिहीबार युक्रेनका सेनाप्रमुख अलेक्सान्द्र सिर्स्कीले मनोबलको कमी प्रमुख विषय भएको बताए। त्यसलाई उकास्नु आफ्नो महत्त्वपूर्ण जिम्मेवारी भएको उनको भनाइ छ।
‘कुर्स्क कारबाहीले सेनाको मात्रै होइन, समग्र युक्रेनी जनसंख्याको मनोबलमा निकै सुधार ल्याएको छ,’ उनले भने।
र, अफिसर होरेत्स्कीले सेनालाई मनोबल र मनोवैज्ञानिक सहयोग दिने तालिम लिएका छन्। आफूले लामो समय सैनिकहरूको स्थिति के छ भनेर बुझ्ने उनी बताउँछन्।
‘युद्धको निरसताको माझमा छोटो छुट्टीले पनि ठूलो सहयोग गर्छ। बाथरुममा नुहाउनु, कपाल काट्नु वा तलाउमा पौडिन पाउँदा पनि सैनिकहरू खुसी हुन्छन्,’ उनी भन्छन्।
कयौँ वर्षको अनुभव सँगालिसकेकालाई पनि युद्ध कठिन हुने गर्छ। उदाहरणका लागि दिमालाई लिन सकिन्छ। उनले आफूले युद्धभूमि छाड्नुको प्रमुख कारण नयाँ कमान्डरसँग कुरा नमिल्नु भएको बताए।
दिमाको बटालियनका सैनिकहरूको संख्या घट्दै गयो। र, समाप्त नै भयो। तैपनि आफूहरूले कहिल्यै थप जवान नपाएको उनी बताउँछन्।
अनेक ठाउँमा लडेर क्षतिग्रस्त बनेको बटालियनलाई बिनाआराम पोक्रोव्स्क पठाइएको थियो। आफ्ना मान्छे धमाधम मारिएको देखेपछि उनी स्तब्ध भए।
तैपनि उनी लडाइँमा जान प्रतिबद्ध छन्। तर, आफूले एउटा परिवर्तन गर्ने उनको भनाइ छ।
‘अब म पहिलेजसरी मानिसहरूसँग भावनात्मक रूपले जोडिन चाहन्नँ। यसो गर्नु सडेको तरिका हो। तर, बुद्धिमानी यसैमा छ,’ उनी भन्छन्। सीएनएनबाट
Shares
प्रतिक्रिया