ग्लोबल


अब जित होइन, अस्तित्व जोगाउन संघर्षरत छ युक्रेन

अब जित होइन, अस्तित्व जोगाउन संघर्षरत छ युक्रेन

नेपालखबर
कात्तिक १७, २०८१ शनिबार २०:३२,

‘९७० दिनको युद्धपछि पनि पुटिनले एउटै रणनीतिक लक्ष्य प्राप्त गर्न सकेका छैनन्,’ अक्टोबर २१ मा किभ भ्रमणमा पुगेका अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले भने। सार्वजनिक रूपमा अस्टिनले आत्मविश्वास र निश्चयका साथ घोषणा गरे, ‘मस्कोले युक्रेनलाई कहिल्यै जित्ने छैन।’ 

तर, निजी रूपमा पेन्टागनका उनका सहकर्मीहरू, पश्चिमा अधिकारीहरू र थुप्रै युक्रेनी कमान्डरहरू युद्धको दिशालाई लिएर चिन्तित हुँदै गएका छन्। आउँदो ६ महिनामा रुसको अग्रतालाई रोक्ने युक्रेनको क्षमतामा उनीहरू शंका व्यक्त गर्छन्।

पूर्वी दोनबासको पोक्रोव्स्कनेर युक्रेनी सेनाले रुसी फौजलाई रोकिराखेको छ। जुन पुटिनका लागि लज्जाको विषय हो। तर, मोर्चाका अन्य स्थानमा रुस युक्रेनी रक्षा भेद्न सफल भइरहेको छ। उत्तरको कुपियान्स्कमा रुसी सेनाले युक्रेनी फौजलाई दुई हिस्सामा बाँडिदिएको छ। पूर्वको चासिव यारमा ६ महिनाको प्रयासपछि उनीहरू सिवेर्स्की दोनेस्क नहर तरेर अघि बढेका छन्। 

दक्षिणको वुलेदार क्षेत्रमा रुसी सेनाले उचाइमा रहेको भूभाग कब्जा गरेको छ र दुईतिरबाट कुराखोवतिर अघि बढ्दैछ। रुसभित्रकै कुर्स्कमा यही वर्ष युक्रेनले कब्जा गरेको भूमिमध्ये आधाजसो युक्रेनले गुमाइसकेको छ।

समस्या भूमिको नोक्सान होइन। रुसले भयंकर मूल्यमा सीमित जमिन कब्जा गरेको हो। अमेरिकी अनुमानअनुसार युद्ध सुरु भएयता उसका करिब ६ लाख सैनिक मारिएका वा घाइते भएका छन्। र, यही वर्ष मात्रै ५७ हजार सैनिक मारिएको युक्रेनको अड्कल छ। समस्या चाहिँ युक्रेनी सेनाको आकार र गुणस्तरमा लगातार आएको गिरावट हो। 

युक्रेनी टुकडीहरू कमजोर छन्। तिनलाई ठूलो क्षेत्रमा फिजाइँएको छ। भारी क्षतिका कारण सैनिक संख्या कम छ। मे महिनामा लागू गरिएको भर्तीको नयाँ कानुनअनुसार समेत सेनाले केही बिग्रेडमा बाहेक अन्य टुकडीमा आवश्यक सैन्य संख्या परिपूर्ति गर्न सकेको छैन। युवाहरू सकेसम्म लडाइँमा जान चाहँदैनन्। किनकि भाग्य राम्रो हुनेहरूले मोर्चामा अनिश्चितकाल बिताउनुपर्ने हुन्छ भने अभागीहरूको यात्रा त एकतर्फी मात्रै हुने गर्छ।

पश्चिमा साझेदारहरूले गुप्त रूपमा युक्रेनी नेताहरूलाई अनिवार्य भर्तीका लागि उमेरको सीमा २५ बाट तल घटाउन आग्रह गरिरहेका छन्। तर, राजनीतिक संवेदनशीलता अनि जनसांख्यिक संकटको भयले उनीहरूले त्यस्तो निर्णय लिन सकेका छैनन्।

हालैको एक लेखमा बेलायतस्थित रोयल युनाइटेड सर्भिसेज् इन्स्टिच्युटका ज्याक वाट्लिङले युक्रेनको भाग्य बिग्रिँदै जानुका कयौँ कारण उल्लेख गरेका छन्। एउटा कारण हो, हवाइ प्रतिरक्षा प्रणालीको अभाव। जसका कारण युक्रेनी ड्रोनले निरन्तर र व्यापक निगरानी गर्न सकेको उनको भनाइ छ।

यसैका कारण पश्चभागमा युक्रेनी तोपखानामाथि ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनमार्फत आक्रमण र अग्रभागमा ग्लाइड बमद्वारा आक्रमण बढेको छ। यस्तै आक्रमणको आडमा रुसी सैनिकहरू ससाना टुकडीमा, प्रायः मोटरसाइकल (किनकि ट्यांक छिटै देखिन्छ) मा बिस्तारै तर लगातार अघि बढिरहेका छन्। हाल युक्रेनले एउटा गोला बर्साउँदा रुसले दुईवटा गोला बर्साउँछ। युक्रेनका उपरक्षामन्त्री इमान हब्रिल्युकका अनुसार तोपका गोला, ट्यांक र बख्तरबन्द सवारीको अभावले थप समस्या पारेको छ। गोला र बख्तरबन्दा गाडी जति कम भयो, उति पैदल सैनिकमा निर्भरता बढ्छ र मानवीय क्षति पनि त्यति नै बढी हुन्छ।

रुसका पनि आफ्नै गम्भीर समस्या छन्। आउँदो वर्ष उसले जम्मा बजेटको एक तिहाइ रक्षामा खर्च गर्नेछ। जसका कारण गैरसैनिक अर्थव्यवस्था सुक्नेछ। मुद्रास्फितिको दर आधिकारिक रूपमा ८ प्रतिशत भनिएको छ, तर त्यो दोब्बर हुनुपर्छ। २०२५ मा गएर पहिलोपटक सर्वसाधारण रुसी परिवारले आर्थिक पीडा महसुस गर्ने एक युरोपेली गुप्तचर अधिकारी बताउँछन्। सैनिकका आमा र परिवारका सदस्यहरूमा अहिले नै युद्धको थकान देखा परिसकेको छ।

युद्धको मैदानमा पनि रुस काँचो रणनीतिमा निर्भर छ। जसका कारण हताहती उच्च छ। हजारौँ उत्तर कोरियाली सैनिक उधारो माग्ने निर्णयले देखाउँछ– रुसलाई पनि सेना अभाव छ। रुसको जनरल स्टाफ र रक्षा मन्त्रालयले थप सैनिक भर्तीका लागि सरकारलाई दबाब दिइरहेको छ। 

‘रुससँग अहिले पर्याप्त सैनिक छैनन्,’ नेटोका एक वरिष्ठ अधिकारी भन्छन्, ‘मोर्चामा ठूलो सफलता हासिल गरे पनि उनीहरूले त्यसको फाइदा उठाउन सक्ने स्थिति छैन।’

रुसको अर्थव्यवस्थामा संकटको नतिजा तत्काल होइन, दीर्घकालमा देखिने छ। रुसको रक्षा उद्योग आंशिक रूपले सोभियत युगको हतियार भण्डारमा निर्भर छ। बख्तरबन्द सवारीजस्ता केही महत्त्वपूर्ण क्षेत्रमा सो भण्डार रित्तिँदै छ। तथापि, रुसले पश्चिमाहरूको उत्पादन क्षमतालाई पछि पारिरहेको छ।  

युरोपेली संघको दाबी अनुसार युरोपले प्रतिवर्ष १० लाख तोपका गोला बनाउँछ। रुसले त्यसको तीन गुणा ज्यादा बनाइरहेको छ। त्यसमाथि उत्तर कोरिया र इरानबाट आपूर्ति पनि गरिरहेको छ।

‘हामी पर्याप्त उत्पादन गर्न सक्छौँ कि सक्दैनौँ, मलाई थाहा छैन,’ युक्रेनमा अमेरिकी सहायता आपूर्तिका सम्बन्धमा जानकार एक व्यक्तिले भने, ‘अन्यत्र जोखिम नमोली युक्रेनलाई थप दिन हामीसँग छैन।’

जनशक्तिको मामिलामा पनि रुस बराबरीको हैसियतमा छ। नेटो अधिकारीका अनुसार रुसले प्रतिमहिना ३० हजार सैनिक भर्ती गरिरहेको छ। त्यो संख्या आन्तरिक लक्ष्यपूर्तिका लागि पर्याप्त छैन। तर, पछिल्ला महिनाहरूमा भएको भारी क्षतिपूर्ति गर्न पर्याप्त छ। 

रुस सधैँ लडाइँ लडिरहन सक्दैन। तर, अमेरिकी, युरोपेली र युक्रेनी अधिकारहिरुको चिन्ता के छ भने अहिलेकै स्थिति कायम रहे रुसभन्दा पहिले युक्रेन टुट्ने घडी आइपुग्ने छ। 

‘आउँदो वर्षसम्ममा दोनबासमा आफ्नो लक्ष्य पूरा गर्न सकिन्छ भन्ने ठानेर मस्कोले दाउ लगाइरहेको देखिन्छ र युक्रेनी सैनिकमाथि हताहती र हतियारको क्षति उच्च दरमा गरिरहेको छ, जसका कारण यसपछि रुसको आक्रमणलाई रोक्न युक्रेन सक्षम रहने छैन,’ वाट्लिङ लेख्छन्। त्यसपछि हुने कुनै पनि वार्तामा रुसको हात माथि हुने उनको चेतावनी छ।

अमेरिकाको भाषामा आएको परिवर्तनले पनि उदास मनोदशा स्पष्ट पार्छ। रक्षामन्त्री अस्टिनजस्ता वरिष्ठ अधिकारीहरू अझै आश्वस्त आवाजमा युक्रेनले जित्ने बताउँछन्। तर, यथार्थमा पेन्टागनमा सैन्य योजना बनाउन सामेल अधिकारीहरू २०२३ को सुरुमा देखिएको महत्त्वाकांक्षा गुमिसकेको बताउँछन्। त्यतिखेर राम्रो हतियारको बलमा रुसले जितेको भूमि फिर्ता गरेर मस्कोलाई वार्तामा बस्न बाध्य बनाउन सकिन्छ भन्ने थियो। तर, अहिले पराजय टार्ने उपायमा ध्यान केन्द्रित छ।

‘यो विन्दुमा हामी झनझन् युक्रेनले कसरी आफ्नो अस्तित्व जोगाउन सक्छ भन्नेबारे सोचिरहेका छौँ,’ योजनामा सामेल एक व्यक्ति भन्छन्। 

अरुको भनाइ त अझ ठाडो छ। 

अमेरिकी विदेश मन्त्रालयका युरोप मामिलासम्बन्धी शीर्ष अधिकारी जिम ओब्रेनले अक्टोबर १९ का दिन लाट्भियाको रिगामा आयोजित एक सम्मेलनमा भने, ‘आउँदो केही महिना हाम्रो लागि युक्रेन अझै केही वर्ष युद्ध मैदानमा टिकिराख्न सक्छ भनेर पुष्टि गर्ने अवसर हो।’

(दि इकोनोमिस्टबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad