ग्लोबल


टीभी होस्टलाई रक्षामन्त्री र पूर्वकर्णेललाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने ट्रम्पको घोषणा

टीभी होस्टलाई रक्षामन्त्री र पूर्वकर्णेललाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने ट्रम्पको घोषणा

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १५:६,

डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका महत्त्वपूर्ण पदहरूमा वफादारहरूलाई नियुक्तिको घोषणा गरेका छन्। खासगरी राष्ट्रिय सुरक्षासँग सम्बन्धित पदहरूमा उनले गर्ने नियुक्तिलाई ध्यानपूर्वक हेरिएको छ।

ट्रम्पले फक्स न्युजका प्रस्तोता पिट हेगसेथलाई रक्षामन्त्री बनाउने घोषणा गरेका छन्।

अमेरिकाको रक्षा मन्त्रालय मुलुककै सबैभन्दा ठूलो रोजगारदाता हो। यसअन्तर्गत करिब ३० लाख सैनिक तथा गैरसैनिक कर्मचारी काम गर्छन्। यस्तो मन्त्रालय चलाउन नियुक्तिको घोषणा गरिएका ४४ वर्षीय हेगसेथसँग सरकारमा बसेको अनुभव छैन।  

यद्यपि, उनीसँग सैन्य अनुभव भने छ। उनी नेसनल गार्डका पूर्वअधिकृत हुन्। 

पहिलो कार्यकालमा रक्षामन्त्रीहरूसँग ट्रम्पको सम्बन्ध राम्रो हुन सकेन। चार वर्षमा उनले पाँच रक्षामन्त्री फेरेका थिए। 

‘पिट कडा, चलाख र अमेरिका फस्टमा विश्वास राख्ने व्यक्ति हुन्। उनको नेतृत्वमा हाम्रो सेना फेरि महान् हुनेछ, अमेरिका कहिल्यै पछि हट्ने छैन, अमेरिकाका शत्रुले पनि चेत्ने छन्,’ ट्रम्पले विज्ञप्ति जारी गर्दै भनेका छन्।

त्यस्तै, ट्रम्पले फ्लोरिडाका सांसद तथा अवकाशप्राप्त कर्णेल माइक वाल्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने भएका छन्। यो पदका लागि भने सिनेटको अनुमोदन आवश्यक पर्दैन। 

 माइक वाल्ज

विश्लेषकहरूका अनुसार ट्रम्पको टोलीमा चीनप्रति आक्रामक अभिव्यक्ति दिनेहरूको बाहुल्य रहने देखिन्छ। वाल्जले २०२२ मा अमेरिका चीनसँग ‘शीतयुद्ध’मा रहेको भन्दै बेइजिङमा आयोजित हिउँदे ओलम्पिक बहिष्कार गर्नुपर्ने आवाज उठाएका थिए।

ट्रम्पले विदेशमन्त्री नियुक्त गर्ने चर्चा रहेका फ्लोरिडाका सिनेटर मार्को रुबियो पनि चीनप्रति आक्रामक देखिन्छन्। उनलाई २०२० मा चीन सरकारले प्रतिबन्ध लगाएको थियो। यद्यपि, उनको नियुक्ति घोषणा भइसकेको छैन।

मंगलबार नै ट्रम्पले टेक्ससका सांसद जोन र्‍याटक्लिफलाई सीआईएको निर्देशक नियुक्त गर्ने घोषणा गरेका छन्।

ट्रम्पको पहिलो कार्यकालको अन्तिम वर्षमा उनी नेसनल इन्टिेलिजेन्सको निर्देशक थिए। त्यो पदलाई उनले ट्रम्पको राजनीतिक एजेन्डा बोक्न प्रयोग गरेको भन्दै आलोचना भएको थियो। 

यदि उनी अनुमोदन भए नेसनल इन्टेलिजेन्सक र सीआईए दुवैको निर्देशक बन्ने पहिलो व्यक्ति हुनेछन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad