ग्लोबल


ट्रम्पको सम्भावित व्यापार युद्धका लागि कत्तिको तयार छ चीन?

ट्रम्पको सम्भावित व्यापार युद्धका लागि कत्तिको तयार छ चीन?

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार २१:७,

डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि पुनः व्यापार युद्ध सुरु भए त्यसको जवाफ दिन चीनले व्यापक तयारी गरेको बेइजिङका सल्लाहकार तथा अन्तर्राष्ट्रिय जोखिम विश्लेषकहरूले बताएका छन्।

२०१६ मा ट्रम्पको विजय र तत्कालै उनले लादेको उच्च कर, लगानीमाथिको कडा नियन्त्रण र चिनियाँ कम्पनीहरूमाथिको प्रतिबन्धले चिनियाँ नेता सी चिनफिङको सरकार हैरान भएको थियो। 

यसपटक झनै नाजुक आर्थिक परिदृश्यले चीन अमेरिकी दबाबसामु कमजोर देखिन्छ। तर, गएको आठ वर्षमा उसले व्यापार युद्धका लागि तयारी भने गरेको छ। बेइजिङले विदेशी कम्पनीलाई कालोसूचीमा राख्ने, आफैँले प्रतिबन्ध लगाउने र महत्त्वपूर्ण आपूर्ति शृंखलामा अमेरिकी पहुँच टुटाइदिनेगरी अनेकौँ नयाँ कानुन बनाएको छ।

‘यो दुईतर्फी प्रक्रिया हो। पक्कै पनि चीनले राष्ट्रपति ट्रम्पसँग वार्ताको कोसिस गर्नेछ,’ पेकिङ युनिभर्सिटीस्थित इन्स्टिच्युट फर ग्लोबल कोअपरसेन एन्ड अन्डरस्ट्यान्डिङका कार्यकारी निर्देशक वाङ तोङको भनाइ फाइनान्सियल टाइम्सले उधृत गरेको छ, ‘तर, २०१८ मै जस्तो भयो, वार्ताबाट केही पनि प्राप्त भएन भने हामीले लड्नुपर्ने हुन्छ, हामी दृढताका साथ चीनको अधिकार हितको रक्षा गर्नेछौँ।’

राष्ट्रपति जो बाइडेनले ट्रम्पले चीनविरुद्ध लगाएका अधिकांश प्रतिबन्धहरूलाई कायम गरे। चीनविरुद्ध उग्ररूपमा प्रस्तुत हुनेहरूलाई महत्त्वपूर्ण पदहरूमा नियुक्त गरेर ट्रम्पले यसपटक बेइजिङप्रति झनै कट्टर अडान रहने संकेत गरेका छन्। 

अहिले चीनसँग ‘विदेशी प्रतिबन्धविरोधी कानुन’ छ। जसको भरमा उसले आफ्नो राष्ट्रिय हितलाई कमजोर बनाउने अन्य मुलुक र ‘अविश्वसनीय’ कम्पनीहरूविरुद्ध जवाफी कारबाही गर्न सक्छ। त्यस्तै निर्यात नियन्त्रण कानुन विस्तार गरेको बेइजिङले आधुनिक प्रविधिका लागि नभई नहुने दुर्लभ पदार्थहरूको आपूर्ति रोकिदिन सक्छ।

कन्ट्रोल रिस्क्स नामक परामर्शदाता कम्पनीका एन्ड्रयु गिलहोम चीनले अमेरिकी हितमा पुर्‍याउन सक्ने क्षतिलाई धेरैले कम आँकेको बताउँछन्।

उनले पछिल्ला चेतावनीहरूतर्फ इसारा गरे। अमेरिकाको सबैभन्दा ठूलो ड्रोन निर्माता स्काइडिओलाई महत्त्वपूर्ण सामग्री आपूर्ति गर्न चिनियाँ कम्पनीहरूमाथि बेइजिङले प्रतिबन्ध लगाएको छ। त्यस्तै, काल्भिन क्लिन र टमी हिलफिगरजस्ता ब्रान्डका निर्माता पीभीएचलाई पनि ‘अविश्वसनीय सूची’मा सामेल गर्ने धम्की दिएको छ। त्यसो भएमा यी कम्पनीका कपडाहरू ठूलो चिनियाँ बजारमा जान पाउने छैनन्।

‘यो त सानो झलक मात्र हो,’ गिलहोम भन्छन्, ‘म हाम्रा ग्राहकहरूलाई भनिरहन्छु– तपाईंलाई लाग्दो हो, भूराजनीतिक जोखिम र अमेरिका–चीन व्यापार युद्धको मूल्य चुकाइसक्यौँ, तर तपाईंहरूले त्यो मूल्य चुकाउनुभएको छैन। किनकि चीनले अहिलेसम्म गम्भीरतापूर्वक बदला लिएकै छैन।’

चीनले अमेरिकी प्रतिबन्धले बाधा पार्न नसक्नेगरी आफ्नो प्रविधि र स्रोत आपूर्ति शृंखलालाई मजबुत पार्ने प्रयास गरिरहेको छ। जसका लागि अमेरिकासँग दूरी रहेका मुलुकहरूसँग व्यापार विस्तार गरिरहेको छ।

बेइजिङको नजरबाट हेर्दा बाइडेन प्रशासन पनि ट्रम्पको पहिलो कार्यकालकै निरन्तरतासरह थियो।

‘सबैजना खराब नतिजाको अपेक्षामा थिए। त्यसैले अब कुनै आश्चर्य हुने छैन। सबै तयार छन्,’ चेचियाङ इन्टरनेसनल स्टडिज युनिभर्सिटीका विदेश नीति विज्ञ वाङ चोङ भन्छन्।

तथापि, चीनबाट आयात हुने सामानमा ६० प्रतिशत कर लगाउने ट्रम्पको घोषणालाई उनीहरू बेवास्ता गर्न सक्दैनन्। यो वर्ष ५ प्रतिशत आर्थिक वृद्धि गर्ने चीनको आधिकारिक लक्ष्यमा सन्देह छ।

चीनले लगाउने जवाफी प्रतिबन्धले उसैलाई घाटा हुने कतिपय विश्लेषकको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad