यो साता बसर अल असदको शासन ढलेपछि सिरियालीहरू खुसी भए। सँगसँगै थुप्रै आफ्ना बेपत्ता प्रियजनको खोजीमा भौँतारिन थाले।
उनीहरूमध्ये धेरैको गन्तव्य थियो, कुख्यात सदनाया जेल। राजधानी दमास्कासको बाहिरी भागमा अवस्थित यो जेल यस्तो यातनागृह हो, जहाँ हजारौँ मानिस मारिएको आशंका छ।
असद मुलुक छाडेर भागेपछि मानिसहरू सो जेलतर्फ लागे। जसका कारण सडकमा लामो जाम लाग्यो। मानिसहरूले कार सडकमै छाडे र हिँडेर जेल पुगे। काँडेतार नाघेर भित्र पसे।
सो जेलभित्र कैदीहरूमाथि गरिएको अत्यचारको निसाना जहीँतहीँ भेटिएको भित्र पुगेकाहरूले बताएका छन्।
१९७० को दशकदेखि नै सिरियामा विपक्षीहरूलाई बेपत्ता बनाउने क्रम सुरु भएको थियो। सदनाया तीमध्ये सबैभन्दा कुख्यात स्थान हो। यसलाई सिरियालीहरूले ‘मानव वधशाला’ नाम दिएका छन्। एमनेस्टी इन्टरनेसनलका अनुसार सो जेलमा मात्र २०११ देखि २०१५ सम्ममा १३ हजार मानिसलाई फासी दिइएको थियो।
सोही कारण विद्रोहीहरूले दमास्कस पुग्नेबित्तिकै यो ठाउँलाई कब्जा गरे।
असद रुसतर्फ भागेलगत्तै सदनायाबाट कैदी छुटेका तस्बिरहरू सार्वजनिक हुन थाले। त्यसैले बेपत्ताका आफन्तहरू सामाजिक सञ्जालमा आफ्नो प्रियजनको खोजीमा जुटे।
सोमबारसम्ममा मानिसहरूको धैर्यको बाँध टुट्यो। उनीहरू जेलमा भेला हुन थाले। यसमा हल्लाले पनि भूमिका खेल्यो।
जेलको तलपट्टि बनाइएका सुरुङमा हजारौँ कैदी बन्द भएको र उनीहरूको उद्धार जरुरी भएको हल्ला फैलियो।
जसका कारण जेलभित्र र बाहिर मानिसको ठूलो भीड जम्मा भएको थियो। खुसीमा अल्लाहु अकबर भनेर चिच्याएको र गोली चलेको आवाज सुनिन्थ्यो।
मेसुन लाबुत नामक महिला दक्षिणी सहर दाराबाट त्यहाँ आइपुगेकी थिइन्। जहाँबाट २०११ मा आन्दोलन सुरु भएको थियो। असदको दमनको मार पनि त्यही सहरले भोगेको थियो।
उनी आफ्ना तीन दाजुभाइ र ज्वाइँको खोजीमा थिइन्।
उनी त्यही हल्ला दोहोर्याउँदै थिइन्, ‘जेलको तल्लो हिस्सामा अक्सिजनको अभाव छ र त्यहाँ थुनिएकाहरू मर्न सक्छन्। हे अल्लाह, उनीहरूलाई बचाऊ!’

तर, जेलमुनि त्यस्तो ठाउँ भेटिएन। जसका कारण बेपत्ताहरू फेरि कहिल्यै नभेटिने त्रास बढेको छ।
ह्वाइट हेलमेट नामक स्वयंसेवी संस्थाले त्यहाँ कैदीको खोजी गर्न विशेष टोली परिचालन गर्यो। सिमेन्टेड भित्ताहरूमा हिर्काएर जाँच्यो।
लडाकुहरूले जम्मा भएको भीडलाई चुप लाग्न आदेश दिए, ताकि कुनै कैदी रहेछन् र तिनले बोलाए भने सुन्न सकियोस्।
गुप्त द्वार खोज्न कुकुरसमेत ल्याइयो। तर, त्यस्तो द्वार फेला परेन।
त्यसपछि ह्वाइट हेलमेटले त्यस्तो कुनै ठाउँ नरहेको जनायो।
आइतबार सो जेलबाट करिब ३ हजार कैदी छुटेको त्यहाँ पूर्वकैदी मुनिर अल फकिरले अनुमान गरे।
तर, त्यसले मानिसहरूलाई सान्त्वना दिन सकेन। एक महिलाले आफ्नो दाजुको १२ वर्षपहिलेको फोटो देखाइन्।
उनी भन्छिन्, ‘जिउँदो भए दाजु ४२ का हुन्थे। उनका दुई छोरी र एउटा छोरा छन्। उनी जिउँदो छन् कि छैनन्, हामी ढुक्क हुन चाहन्छौँ। अल्लाह जाने!’
भर्खर जेलबाट छुटेकाहरूले भने परिवारलाई भेटे। तर, यति लामो कैदपछि उनीहरू ज्यादा खुसी हुन सकिरहेका थिएनन्।
६१ वर्षीय सुहेल हमावीले सिरियाका विभिन्न जेलमा ३० वर्षभन्दा ज्यादा समय गुजारे। अन्ततः सोमबार उनी उत्तरी लेबनानी गाउँ चेक्कामा रहेको आफ्नो घरतर्फ फर्किए।
‘एकदम सुन्दर भावना। साँच्चैको सुन्दर भावना,’ उनले भनेका छन्, ‘मैले थाहा पाएँ, माया अझै रहेछ, परिवार अझै रहेछ।’
तर, आफ्ना गुमेका वर्षहरूलाई लिएर उनी तिक्त सुनिए।
‘मेरा नातिनातिना छन्। तर, मलाई आफ्नो उमेरको ख्याल कहिल्यै आएन,’ उनी भन्छन्, ‘मेरो छोराको छोरीले मलाई ‘हजुरबा’ भनेपछि मात्रै यत्रो समय मैले गुमाएछु भन्ने थाहा भयो।’ सीएनएन
Shares

प्रतिक्रिया