२४ नोभेम्बर २०१५ मा सिरियाको सीमा क्षेत्रमा टर्कीले रुसको एउटा लडाकु विमान खसाइदियो।
रुसी विमानले आफ्नो हवाइ क्षेत्र उल्लंघन गरेको टर्कीको भनाइ थियो। जवाफमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए– टर्कीले पिठ्युँमा छुरा रोप्यो।
उनले टर्कीलाई गम्भीर परिणामको चेतावनी पनि दिएका थिए।
लामो समयसम्म टर्कीले यस विषयमा माफी पनि मागेको थिएन। लगातार चेतावनी दिँदा पनि रुसी विमानले हवाइ क्षेत्र उल्लंघन गरिरहेपछि त्यसलाई खसाइएको उसको भनाइ थियो।
विमान सिरियाको सीमाभित्रै रहेको रुसको दाबी थियो। टर्कीले सुनियोजित रूपमा उक्साउन खोजेको उसको भनाइ थियो। जनवरी २०१६ मा रुसले यो घटनामा टर्कीले माफी मागेको जानकारी दियो।
त्यो घटना त्यही युद्धमा भएको थियो, जसको अन्त्य गतसाता सिरियामा बसर अल असदको शासनको अवसानसँगै भयो।
सिरियामा रुस र टर्की आमनेसामने थिए। टर्कीले सिरियाका विद्रोही समूहहरूलाई सघाइरहेको थियो भने रुसले असदलाई। अन्ततः यो टक्करमा टर्कीको जित भएको छ र असद भागेर रुस जानुपरेको छ।
करिब एक महिनाअघि मात्र एर्दोगान रुस गएका थिए। ब्रिक्स सम्मेलनमा उनले पुटिनसँग भेट गरेका थिए। त्यतिखेर पुटिनलाई सायदै थाहा थियो, उनै एर्दोगानको हातबाट सिरियामा नमिठो थप्पड खानुपर्ने छ। एकपटक फेरि पुटिनको उही भनाइ स्मरण गरिँदैछ– टर्कीले रुसको पिठ्युँमा छुरा रोप्यो।
पुटिनले माफी देलान्?
सामाजिक सञ्जालमा पुटिनको २०१८ को एउटा अन्तर्वार्ताको क्लिप भाइरल भइरहेको छ।
रुसी भाषाको सो अन्तर्वार्तामा पुटिनलाई सोधिन्छ– के तपाईं माफी दिनुहुन्छ।
जवाफमा पुटिन भन्छन्– दिन्छु। तर, सबैकुरा माफीको दायरामा अट्दैन।
फेरि पुटिनलाई प्रश्न गरिन्छ– तपाईंले माफी दिन नसक्ने कुरा के हो?
पुटिन भन्छन्– विश्वासघात।
रुसी विश्लेषकहरूको ठहर छ– एर्दोगानले पुटिनसँग विश्वासघात गरे।
रुसी राजनीतिशास्त्री एवं लेखक अलेक्सान्द्र दुगिनले सिरियामा असदको शासन ढलेपछि लेखेका छन्, ‘टर्कीलाई क्षति हुने कुनै पनि काम रुसले गर्ने छैन। तर, यस्तो खालको विश्वासघात पछि संकटको समयमा टर्कीले रुसको सहयोगको आशा गर्न सक्दैन। समयसमय कठिनाइ आइरहन्छन्। टर्की र रुसबीच कयौँ स्तरमा सम्बन्ध छन्। टर्कीको कारबाही स्पष्ट रूपमा इजरायलको पक्षमा छ। यो निकै दुःखद कुरा हो।’
‘पश्चिमा मुलुकहरूले रुस कमजोर भएको बताइरहेका छन्। तर, त्यो साँचो होइन। मेरो विचारमा पश्चिमको आकलन गलत छ। टर्कीको दुस्मन इस्लामिक कट्टरता हो। अरब मुलुक टर्कीको नेतृत्वसँग कहिल्यै सहमत हुन सक्दैनन्,’ दुगिनले लेखेका छन्, ‘सिरियामा पश्चिमको समर्थन लिएर कुर्दहरूले सत्ता कब्जा गर्ने कोसिस गर्नेछन्। सिरियामा रुस नहुँदा एर्दोगानले एक प्रमुख सहयोगी र मित्र गुमाएको छ। हामी अहिलेसम्म एर्दोगानको समर्थन गर्थ्यौँ। २०१५ मा हामीले टर्कीसँग टक्कर बढ्न दिएनौँ। एर्दोगानविरुद्धको कू रोक्न पनि हामीले सहयोग गरेका थियौँ। तर, सिरियामा जे भयो, त्यो हाम्रो लागि दुःखद छ। मलाई लाग्छ, एर्दोगानले रणनीतिक गल्ती गरे।’
तर, भारतीय अखबार द हिन्दुका अन्तर्राष्ट्रिय सम्पादक स्टेनली जोनीलाई लाग्छ, एर्दोगानलाई बुझ्न पुटिनले चाहिँ गल्ती गरे।
उनले लेखेका छन्, ‘जब पुटिनले सिरियामा टर्कीको सहयोगमा गृहयुद्ध रोक्ने पहल गरे, तब उनले एर्दोगान नेटोको सहयोगी हुन् भन्ने बिर्सिए। पुटिनलाई लाग्यो, युक्रेनमा टर्कीलाई नियन्त्रण गर्न सफल भयौँ। किनकि टर्की रुसविरुद्ध पश्चिमा प्रतिबन्धहरूमा सामेल भएन। तर, एर्दोगान मौकाको खोजीमा थिए। अन्ततः उनले सिरियामा पुटिनलाई पछारे।’

गतसाता सिरियामा असदको हार नजिकिँदै गर्दा रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोव दोहा फोरममा सहभागी हुन कतार गएका थिए। दोहा फोरममा अल जजिराले लाभ्रोवसँग सोध्यो– असदको हार रुसका लागि कति ठूलो झट्का हो?
लाभ्रोवको जवाफ थियो– ‘रुसले सिरियालाई मात्र सहयोग गरेको होइन। बरु, इराक, लिबिया र लेबनानमा पनि हामीले सघाएका छौँ। संसारमा दुई खालको लडाइँ चलिरहेको छ। एक हिस्सा आफ्नो दबदबा कायम गर्न लडिरहेको छ भने अर्को हिस्सा आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको लडाइँ लडिरहेको छ। सिरियामा हाम्रो हार भयो भनेर भन्न तपाईंलाई मन लाग्छ भने भन्नुहोस्।’
उनीसँग सोधियो, सिरियामा जे भइरहेको छ, त्यसमा टर्कीको भूमिका के छ?
जवाफमा लाभ्रोवले भने, ‘तपाईंलाई थाहा छ, सिरियामा टर्की निकै प्रभावशाली छ। टर्कीको सीमा सिरियासँग जोडिएको छ र सुरक्षालाई लिएर उसको आफ्नै चिन्ता छ।’
सिरियामा मात्र होइन, लिबिया र काराबाखमा पनि रुस टर्कीको हातबाट हारेको छ।
टर्कीको विदेशनीतिलाई लिएर मुलुकभित्रै सवाल पनि उठिरहेका छन्। टर्कीका पूर्वप्रधानमन्त्री अहमत दावुतोग्लुले भनेका छन्, ‘राष्ट्रपति एर्दोगानले छिमेकीहरूसँग कुनै समस्या नरहने नीति छाडिदिए। उनले सबै छिमेकीसँग समस्यै समस्या हुने नीति अपनाएका छन्।’
एर्दोगानको ‘सन्तुलनकारी’ खेल
वासिङ्टन इन्स्टिच्युटमा टर्किस रिसर्च प्रोग्रामका निर्देशक सोनेर कगाप्तयले एर्दोगानमाथि ‘अ सुल्तान इन अटोमन’ नामक पुस्तक लेखेका छन्।
जसमा उनले लेखेका छन्, ‘एर्दोगानले सत्तामा रहँदा आशावादी भएर आफूलाई बलियो बनाए। इराक, सिरिया र लिबियामा प्रभावकारी सैन्य अभियान चलाए र टर्कीको राजनीतिक शक्ति देखाए। जहाँ टर्की कूटनीतिक शक्ति बन्न सकेन, त्यहाँ उसको सैन्य शक्तिले क्षतिपूर्ति गर्यो।’
भनिन्छ, जब पश्चिमसँग रिस उठ्छ, तब एर्दोगान रुसतर्फ फर्किन्छन्। २०२१ को सेप्टेम्बरमा एर्दोगान न्युयोर्कमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्न गएका थिए। उनी राष्ट्रपति बाइडेनसँग भेट्न चाहन्थे। तर, भेट्न पाएनन्। यसबाट उनी रिसाए र पुटिनलाई भेट्न गएका थिए।
अमेरिकाका पूर्व सैन्य अधिकारी रिच अट्जेनले भनेका छन्, ‘टर्कीसँग चौतर्फी सन्तुलनकारी संयन्त्र छ। एर्दोगान युरोपदेखि पश्चिमसम्म सन्तुलन चाहन्छन्। इस्लामिक विश्वदेखि लिएर दक्षिणसम्म र पूर्वमा युरेसियाका अलावा उत्तरमा रुससम्म सम्बन्ध राख्न चाहन्छन्। जब कुनै दिशामा खतरा महसुस हुन्छ, उनी अर्कोतिर फर्किन्छन्।’
तर, कतिपयको भनाइमा टर्की रुस र अमेरिकाको खेलमा कयौँपटक फस्ने गर्छ। यस्तो खेल उसले लामो समयदेखि खेलिरहेको छ। कयौँपटक उसले रुससँग सम्झौता गर्नुपरेको छ।
२०१६ मा रुसमा सैन्य कूको प्रयास हुँदा यसमा अमेरिकामा बसिरहेका रहेका फतुल्लाह गुलेन जिम्मेवार भएको उनको विश्वास थियो।

पुटिनले उठाएको मौकाको फाइदा
टर्कीले लामो समयदेखि गुलेनलाई सुपुर्दगी गर्न अमेरिकासँग अनुरोध गर्दै आएको थियो। तर, अमेरिकाले मानेको थिएन। जसका कारण अमेरिकाप्रति एर्दोगानको शंका बढ्यो।
यो सन्देहलाई रुसले मौका मान्यो र त्यसको पर्याप्त फाइदा उठायो।
कगाप्ताय लेख्छन्, ‘पुटिनलाई राम्ररी थाहा थियो, गुलेन अमेरिकामा बस्छन्। कूको कोसिसका पछाडि अमेरिकाको हात छ भनेर पत्याउन थुप्रै व्यक्ति तयार थिए। सो प्रयासमा २५० भन्दा धेरैको ज्यान गयो। जसमा एर्दोगानका निकटस्थहरू पनि थिए। त्यतिबेला एर्दोगानसँग सम्पर्क गर्ने पहिलो नेता पुटिन थिए। पुटिनले विचलित एर्दोगानलाई आफ्नो गृहनगर सेन्ट पिटर्सबर्ग बोलाए।’
‘एर्दोगानलाई तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको फोन आएन। चार दिनपछि फोन आउँदा पनि फोन गर्ने मान्छे विदेशमन्त्री जोन केरी थिए। त्यसको तीन हप्तापछि एर्दोगान सेन्ट पिटर्सबर्ग गए र पुटिनसँग भेट गरे,’ उनले पुस्तकमा लेखेका छन्।
सोही भेटमा पुटिनले एर्दोगानलाई एस–४०० क्षेप्यास्त्र प्रतिरोधी प्रणाली किन्न सहमत गराए। २०१७ मा त्यसको आधिकारिक घोषणा भयो। रुसको यो हतियार किन्ने निर्णयको प्रतिक्रियामा अमेरिकाले टर्कीलाई एफ–३५ लडाकु विमान दिन अस्वीकार गरेको थियो।
बाध्यतामा पुटिनसँग मित्रता?
कगाप्तयले लेखेका छन्, ‘पुटिनसँगको मित्रताबाट पछि हट्न सहज थिएन। दुवै देशको सम्बन्धमा शक्ति असन्तुलन स्पष्ट देखिन्थ्यो। यदि टर्कीले एस–४०० किन्न नमाने पुटिनले व्यापार र पर्यटन रोकिदिन्थे। जुन टर्कीको अर्थव्यवस्थाका लागि अत्यावश्यक छ। त्यसमाथि पुटिनले एर्दोगानको बलियो नेताको छवि पनि बिगारिदिन सक्थे। जुन छविका कारण उनले टर्कीभित्र खुब फाइदा लिएका छन्।’
तर, कयौँ विश्लेषकहरू भने राजनीतिक र अन्तर्राष्ट्रिय कठिनाइबाट कसरी निस्किने, एर्दोगानलाई राम्ररी थाहा भएको तर्क गर्छन्। पछिल्ला दुई दशकमा उनले अनेकपटक संकटको सामना गरे। तर, हरेकपटक उनी सबैभन्दा बलियो भएर निस्किएका छन्।
भूराजनीतिक संकट होस् कि २०१६ को कूको प्रयास वा टर्कीको आन्दोलन। एर्दोगानले सबैलाई उचित तरिकाले व्यवस्थापन गरे।
२००३ भन्दा पहिले टर्कीमा सेनाको दबदबा हुन्थ्यो। अतातुर्क सेनाबाटै आएका थिए। अर्थतन्त्रमा पनि सेनाकै प्रभाव ज्यादा थियो। सत्तापलटक भइरहन्थ्यो। एर्दोगानले यी सबैलाई समाप्त पारे।
एर्दोगान आएपछि टर्कीमा निजी व्यवसायीहरू उदाएका छन्। सरकारमा सेनाको दखल समाप्त भएको छ। यस हिसाबले हेर्ने हो भने उनले टर्कीको राजनीतिक प्रणालीलाई पूरै बदलिदिएका छन्। बीबीसी हिन्दीबाट
Shares

प्रतिक्रिया