ग्लोबल


भानुआटुको राजधानीमा शक्तिशाली भूकम्प, लगत्तै ५.५ म्याग्निच्युडको परकम्प

भानुआटुको राजधानीमा शक्तिशाली भूकम्प, लगत्तै ५.५ म्याग्निच्युडको परकम्प

भूकम्पपछिको दृश्य


नेपालखबर
पुस २, २०८१ मंगलबार १८:५४, पोर्ट भिला (भानुआटु)

प्रशान्त राष्ट्र भानुआटुमा मङ्गलबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पले राजधानी पोर्ट भिलामा भवनहरू ध्वस्त भएका छन् र यसमा विदेशी दूतावासहरूले प्रयोग गरेको भवन पनि छन्। एक प्रत्यक्षदर्शीले एएफपीलाई सहरमा शवहरू देखिएको बताए।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार ७.३ म्याग्निच्युडको भूकम्प ५७ किलोमिटरको गहिराइमा भानुआटुको मुख्य टापु एफेटको तटबाट करिब ३० किलोमिटर टाढा स्थानीय समयानुसार दिउँसो १२ः४७ बजे गएको हो। 

केही मिनेटपछि ५.५ म्याग्निच्युडको परकम्प आएको थियो। त्यसपछि ससाना कम्पनहरू आए। भूकम्पले तीन लाख २० हजार जनसङ्ख्या भएको कम उचाइको यो द्वीप समूहलाई भूकम्प संवेदनशील प्रशान्त रिम अफ फायरमा हल्लायो।

पोर्ट भिलामा अमेरिका, फ्रान्स, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्डको कूटनीतिक मि;नद्वारा प्रयोग गरिने चार तले कङ्क्रिट भवनको भुइँतला पूरै भत्किएको एएफपीका फोटोहरूले देखाएका छन्। 

अमेरिकी र फ्रान्सेली दूतावासका कर्मचारीहरू सुरक्षित रहेका दुवै मुलुकले बताएका छन्। अमेरिकाले अर्को सूचना नआउन्जेलसम्म आफ्नो दूतावास बन्द गरेको छ। फ्रान्सले आफ्नो मिसन ‘नष्ट’ भएको बतायो। 

‘सहरका भवनहरूमा मानिसहरू छन्। हामी त्यहाँबाट हिँड्दा त्यहाँ शवहरू थिए’, सामाजिक सञ्जालमा विनाशका तस्बिर पोस्ट गरेपछि स्थानीय बासिन्दा माइकल थम्पसनले स्याटेलाइट फोनबाट भने, ‘एउटा सडकमा भएको भूस्खलनले एउटा बसलाई ढाकेको थियो, त्यसैले त्यहाँ स्पष्ट रूपमा केही मृत्यु छन्।’

थम्पसनले कूटनीतिक भवनको भुइँतला ध्वस्त हुनाका साथै भूकम्पले कम्तीमा दुईवटा पुल पनि खसाएको र अन्य भवन पनि भत्किएको बताए। 

पूर्ण रूपमा समतल 

‘दूतावास भवनको तल्लो तल्ला अब अस्तित्वमा छैन’, भानुआटुमा जिपलाइन साहसिक व्यवसाय चलाउने थम्पसनले भने, ‘यो पूर्ण रूपमा समतल छ। माथिका तीन तला अझै पनि छन् तर तिनीहरू खसेका छन्। यदि त्यस समयमा त्यहाँ कोही थिए भने तिनीहरू गइसकेका छन्।’

सार्वजनिक टेलिभिजन भिबिटिसी तस्बिरहरूले देखाएअनुसार भूकम्पमा घाइते भएका केही व्यक्तिलाई फ्ल्याट-बेड ट्रकमा पोर्ट भिला अस्पतालमा लगिएको थियो। अस्पतालमा अरूलाई बाहिर स्ट्रेचरमा राखिएको थियो वा प्लास्टिकको कुर्सीमा बसेका थिए, उनीहरूको हात र टाउको पट्टीले बाँधिएको थियो। 

एएफपीद्वारा प्रमाणित तस्बिरहरूले अन्तर्राष्ट्रिय ढुवानी टर्मिनलमाथि ठाडो पहाडबाट हजारौँ टन माटो र ठूला चट्टानहरू खसेको देखाएका छन्। बन्दरगाह भवनहरूमा क्षति देखिएको थिएन। 

क्वान्टास, जेटस्टार, भर्जिन अस्ट्रेलिया र फिजी एयरवेज जस्ता अस्ट्रेलिया र अन्य क्षेत्रीय एयरलाइन्सले सम्भावित सुविधा र धावनमार्गमा क्षतिको रिपोर्टका कारण उडानहरू परिवर्तन वा स्थगित गरेका छन्। 

भूकम्पले प्रशान्त टापुका अधिकांश मोबाइल नेटवर्कहरू बन्द गरेको थम्पसनले बताए। 

भूकम्पपछि सुनामी चेतावनी जारी गरिएको थियो र भानुआटुका केही क्षेत्रका लागि एक मिटरसम्मको छालहरूको पूर्वानुमान गरिएको थियो तर यसलाई प्रशान्त सुनामी चेतावनी केन्द्रले चाँडै हटाएको थियो।

वार्षिक विश्व जोखिम प्रतिवेदनअनुसार भानुआटु भूकम्प, आँधीबेहरीको क्षति, बाढी र सुनामीजस्ता प्राकृतिक प्रकोपका लागि सबैभन्दा बढी संवेदनशील देशमध्ये एक हो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad