ग्लोबल


सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष: मौसम एजेन्सी

सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष: मौसम एजेन्सी

प्रतीकात्मक तस्बिर


नेपालखबर
पुस १८, २०८१ बिहिबार १४:३३, बेइजिङ

जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा बितेको वर्ष २०२४ चीनको सबैभन्दा तातो वर्ष रहेको मौसम एजेन्सीले जनाएको छ। 

चीन हरितगृह ग्यासको प्रमुख उत्सर्जक हो। वैज्ञानिकका अनुसार हरितगृह ग्यासले विश्वव्यापी तापक्रम बढाइरहेको छ। तर बेइजिङले कार्बन डाइअक्साइड उत्सर्जन सन् २०३० सम्ममा चरममा पुग्ने र २०६० सम्ममा शुद्ध शून्यमा ल्याइने प्रतिबद्धता जनाएको छ। 

सन् २०२४ का लागि औसत राष्ट्रिय तापक्रम १०.९२ डिग्री सेल्सियस (५१.६६ फरेनहाइट) औसतभन्दा १.०३ डिग्री बढी थियो। यो सन् १९६१ मा पूर्ण रेकर्ड सुरु भएपछिको सबैभन्दा तातो वर्ष भएको चीन मौसम विज्ञान प्रशासनले बुधबार राति आफ्नो समाचार साइटमा बताएको छ।

‘सबैभन्दा न्यानो वर्ष विगत चार वर्ष नै थिए र सन् १९६१ देखिका सबैभन्दा न्यानो शीर्ष दस वर्ष २१औँ शताब्दीमा परेका छन,’ प्रशासनले भनेको छ। 

चीनले यस वर्ष नै जुलाईमा अवलोकनको इतिहासमै सबैभन्दा तातो महिनाका साथै अगस्ट र शरद ऋतु पनि रेकर्ड तातो भएको दर्ता गरेको छ।

संयुक्त राष्ट्रसङ्घले सोमबार वर्षको अन्त्यमा दिएको सन्देशमा सन् २०२४ लाई विश्वव्यापी रूपमा रेकर्ड गरिएको सबैभन्दा तातो वर्ष हुने बताएको छ। 

विश्वव्यापी तापक्रम मुख्यतया जीवाश्म इन्धनको जलनले हुन्छ र यो केवल तापमान वृद्धिको कुरा मात्र नभई वायुमण्डल र समुद्रमा थप तापको प्रभाव पनि हो। 

तातो हावाले अधिक जलवाष्प समात्न सक्छ र तातो महासागरको अर्थ अधिक वाष्पीकरण हो। यसका कारण अधिक तीव्र वर्षा र आँधीबेहरी हुन्छ। प्रभाव व्यापक, घातक र बढ्दो महँगो, सम्पत्तिलाई क्षति पुर्‍याउने र बाली नष्ट गर्छ।

दर्जनौँको मृत्यु 

चीनमा गत वर्ष बाढीका कारण दर्जनौँको मृत्यु भएको थियो भने हजारौँलाई सुरक्षित स्थानमा सारिएको थियो। मे महिनामा दक्षिणी चीनमा केही दिनको वर्षापछि राजमार्ग भत्किँदा ४८ जनाको मृत्यु भएको थियो। 

दक्षिणी सहर गुआङ्झाउका बासिन्दाले रेकर्ड तोड्ने लामो गर्मीको अनुभव गरे।

राज्य मिडियाका अनुसार त्यहाँ २४० दिनसम्म औसत तापक्रम २२ डिग्री सेल्सियस (७१.६ डिग्री फारेनहाइट) भन्दा माथि थियो। यसले सन् १९९४ मा २३४ दिनको रेकर्ड तोड्यो। 

सिचुआन, चोङकिङ र याङ्जी नदीको मध्यभाग प्रारम्भिक शरद ऋतुमा गर्मी र खडेरीबाट ग्रस्त थिए। 

विश्वव्यापी रूपमा सन् २०२४ मा स्पेन र केन्यामा घातक बाढी, संयुक्त राज्य अमेरिका र फिलिपिन्समा धेरै हिंसात्मक आँधीबेहरी र दक्षिण अमेरिकाभरि गम्भीर खडेरी र डढेलो देखिए। 

प्राकृतिक प्रकोपका कारण सन् २०२४ मा तीन खर्ब १० अर्ब डलरको आर्थिक क्षति भएको जुरिचस्थित इन्स्युरेन्स जायन्ट स्विस रीले जनाएको छ। 

सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्वव्यापी तापक्रमलाई पूर्वऔद्योगिक स्तरभन्दा २ डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १.५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य राखेको थियो।

नोभेम्बरमा विश्व मौसम सङ्गठनले जनवरी-सेप्टेम्बरको औसत सतह हावाको तापमान सन् १८५० र सन् १९०० बीच मापन गरिएको औद्योगिक पूर्व औसतभन्दा १.५४ डिग्री सेल्सियस माथि रहेको जनायो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad