अमेरिकाको लुइसियाना राज्यको न्यु अर्लिन्समा नयाँ वर्ष मनाउन भेला भएको ठूलो भीडमा एक व्यक्तिले जानाजानी ट्रक कुदाए।
जसमा परी १५ जनाको मृत्यु भएको छ भने कम्तीमा ३५ जना घाइते भए। उक्त व्यक्ति इस्लामिक स्टेट समूह (आईएस) बाट प्रभावित भएको बताइएको छ।
जनवरी १ स्थानीय समयअनुसार बिहान ३ः१५ मा एउटा पिकअप ट्रक मानिसहरूलाई ठक्कर दिँदै भीडमा दौड्यो। चालकले ट्रकभित्रबाट गोली पनि चलाएको र प्रहरीको जवाफी फायरिङमा उनको मृत्यु भएको बताइएको छ।
अमेरिका राष्ट्रपति जो बाइडेनले पत्रकार सम्मेलनमा आक्रमणकारी इस्लामिक स्टेटबाट प्रभावित भएको बताए।
बाइडेनका अनुसार अमेरिकी अनुसन्धान एजेन्सी (एफबीआई) ले आक्रमणकारीले आक्रमणको केही घण्टाअघि सोसल मिडियामा केही भिडिओ अपलोड गरेको बताएको छ। जसले उनी आईएसबाट प्रभावित व्यक्ति रहेको र उनको मनसाय मानिसहरू मार्ने रहेको देखाउँछन्।
अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका अनुसार आक्रमणकारी ४२ वर्षीय शमसुद्दिन जब्बार नामका व्यक्ति हुन्। उनी अमेरिकी सेनामा कार्यरत व्यक्ति तथा टेक्सासका बासिन्दा थिए।
शमसुद्दिन जब्बारले चलाएको ट्रकमा इस्लामिक स्टेट (आईएस) सँग सम्बन्धित झण्डा भेटिएको प्रहरीले जनाएको छ। एफबीआईले जब्बारको चरमपन्थी संगठनसँगको सम्बन्धबारे अनुसन्धान भइरहेको जनाएको छ।
आक्रमण भएको ठाउँबाट शंकास्पद विस्फोटक पदार्थ पनि बरामद गरिएको छ। साथै घटनास्थलबाट साइलेन्सर जडान गरिएको बन्दुकसमेत फेला परेको छ।
कस्ता व्यक्ति थिए जब्बार?
जब्बारले सन् २०१५ देखि २०१७ सम्म जर्जिया स्टेट युनिभर्सिटीमा अध्ययन गरे र त्यहाँबाट कम्प्युटर सूचना प्रविधिमा डिग्री हासिल गरे।
जर्जिया स्टेट युनिभर्सिटीले अमेरिकी समाचार सञ्जाल सीएनएनलाई पुष्टि गरेको छ कि जब्बारले २०१५ र २०१७ को बीचमा कम्प्युटर इन्फर्मेशन सिस्टममा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन डिग्री हासिल गरेका थिए।
टेक्सास रियल स्टेट कमिसनका अनुसार जब्बारले सन् २०१९ मा रियल स्टेट लाइसेन्स पनि लिएका थिए, जसको म्याद सन् २०२३ मा सकिएको थियो।
जब्बारले रियल स्टेटमा पनि काम गर्थे र यससँग सम्बन्धित लाइसेन्स पनि थियो, जसको म्याद २०२१ मा सकिएको थियो। उनको नाममा ट्राफिक नियम उल्लंघन र चोरी सम्बन्धी आपराधिक रेकर्ड पनि थियो।
जब्बारको लिंक्डइन प्रोफाइल (जुन अहिले हटाइएको छ) का अनुसार अमेरिकी सेनामा रहँदा उनले विभिन्न भूमिकामा काम गरेका थिए, जसमा एचआर र आईटी पनि थिए।
उनी सन् २००८ को फेब्रुअरीदेखि जनवरी २०१० सम्म अफगानिस्तानमा खटिएका थिए।
२०२० मा युट्युबमा पोस्ट गरिएको भिडिओमा जब्बारले सेनामा बिताएको समयले उनलाई राम्रो सेवाको अर्थ, जिम्मेवार हुन र चिजहरूलाई गम्भीरतापूर्वक लिन सिकाएको थियो। जब्बारले दुई विवाह गरेका थिए। पहिलो विवाह २०१२ मा टुंगिएको थियो भने दोस्रो विवाह २०१७ देखि २०२२ सम्म टिक्यो।
सीएनएन न्युजको रिपोर्टअनुसार जब्बारले आफ्नो सम्बन्धविच्छेदबारे उल्लेख गर्दै कसरी हत्या गर्ने भनेर आफ्नो परिवारलाई उत्सवको बहानामा एक ठाउँमा भेला गराउने योजना बनाएको भिडिओमा बताएका थिए।
उक्त भिडिओबारे जानकारी पाएका दुई अधिकारीले यो जानकारी दिएका हुन्।
आईएससँगको सम्बन्ध
सीएनएनका अनुसार जब्बारले उक्त भिडिओमा आफूले योजना परिवर्तन गरेर आईएसआईएसमा सामेल भएको बताएका थिए।
सीएनएनका अनुसार जब्बारको यो भिडिओबारे अनुसन्धान भइनसकेको भए पनि जब्बार राति गाडी चलाउँदै गर्दा यो भिडिओ रेकर्ड गरिएको देखिन्छ। तर, यसको सही समय अझै स्पष्ट भइसकेको छैन।
हाल जब्बारले बनाएको भिडिओबारे अमेरिकाका कानुन र प्रवर्तन अधिकारीले अनुसन्धान गरिरहेका छन्। उनी कसरी सेनाबाट बाहिरिए र घातक हमलाको संदिग्ध बने भन्नेबारे विस्तृत जानकारी संकलन गर्ने प्रयास भइरहेको छ।
सेनाका प्रवक्ताले बुधबार सीएनएनलाई जब्बारले १० वर्षभन्दा बढी समय सेनामा सेवा गरेको बताएका छन्। उनी सन् २००७ मार्चदेखि २०१५ जनवरीसम्म सेनाको सेवामा निकै सक्रिय थिए।
जब्बारलाई सन् २००९ को फेब्रुअरीदेखि जनवरी २०१० सम्म अफगानिस्तानमा पनि तैनाथ गरिएको थियो।
उनले जनवरी २०१५ मा सक्रिय सेना सेवा छाडे तर जुलाई २०२० सम्म रिजर्भ आर्मीमा थिए। सेना पूरै छाड्दा उनी स्टाफ सार्जेन्टको पदमा थिए।
आक्रमणमा अन्य व्यक्ति पनि संलग्न थिए?
जब्बारले इलेक्ट्रिक ट्रक चलाइरहेका थिए र उनले यो ट्रक टेक्सासबाट ‘टुरो’ नामक एपमार्फत भाडामा लिएको बताइएको छ।
एफबीआईको अनुमानअनुसार शमसुद्दिन जब्बारले आक्रमण गर्न अन्य व्यक्तिको पनि सहयोग लिएका थिए।
सीबीएस रिपोर्टअनुसार एजेन्सीहरूले जब्बारका सहयोगीहरूबारे अहिलेसम्म कुनै प्रमाण सार्वजनिक गरेका छैनन्।
एफबीआईका असिस्टेन्स स्पेसल एजेन्टले बुधबार पत्रकारहरूलाई भनेका छन्, ‘जब्बार एक्लैले यो घटना गरेको हो भन्नेमा हामी विश्वास गर्दैनौँ। हामी सबै प्रमाण गम्भीरताका साथ अनुसन्धान गरिरहेका छौँ। यसमा उनका नजिकका व्यक्ति पनि समावेश छन्।’
सीसीटीभी फुटेजमा सेतो रंगको ट्रक देखिन्छ। भिडिओ फुटेजमा ट्रक पैदल यात्रुलाई ठक्कर दिनुअघि प्रहरीको गाडीलाई झुक्याउँदै फुटपाथमा गुडिरहेको देखिन्छ।
प्रहरीका अनुसार आक्रमणकारी शमसुद्दिन जब्बार सकेसम्म धेरै मानिस मार्ने र क्षति पुर्याउने नियतले आएका थिए।
न्यु अर्लिन्सका प्रहरी प्रमुख एनी किर्कप्याट्रिकले भने, ‘उक्त मानिस सकेसम्म धेरै जनालाई किच्ने प्रयास गरिरहेको थियो।’
जब्बारसँग पनि हतियार थियो र उनले गोली प्रहार गर्दा दुईजना अधिकारी घाइते भएका छन्। त्यसपछि प्रहरीले जवाफी कारबाही गर्दा उनको मृत्यु भएको थियो।
Shares

प्रतिक्रिया