क्यानडामा एक दशकअघि जस्टिन ट्रुडो सत्तामा आउँदा उनलाई प्रगतिशील राजनीतिमा आशाको नयाँ किरण मानिएको थियो।
युवा आकर्षण र आशावादी सन्देश लिएर उनी २०१५ को चुनावमा होमिएका थिए। जसका कारण तेस्रो स्थानमा रहेको लिबरल पार्टीलाई मतदाताले अभूतपूर्व रूपमा संसदको बहुमत दिए।
नौ वर्ष पुग्दा जी७ का त्यसबेलाका नेतामध्ये ट्रुडो मात्रै सत्तामा छन्। बाराक ओबामा, एन्जेला मर्केल, सिन्जो आबेदेखि डेविड क्यामरुनसम्म सबै राजनीतिको रंगमञ्चबाट हराइसकेका छन्।
अन्ततः ट्रुडोले पनि सोमबार राजीनामा घोषणा गरेका छन्।
कार्यकाल नसकिँदै उनले राजीनामा दिने घोषणा किन गरे त?
किनकि नौ वर्षभन्दा लामो समय सत्तामा रहेका ट्रुडोबाट मतदाता अघाइसकेका छन्।
ट्रुडो यतिबेला आफ्नै पार्टीका लागि बोझ बनिसकेका छन्। खासगरी उनको लोकप्रियता निकै खस्किँदो छ। गत महिनाको एक सर्वेक्षणमा उनलाई मात्र ३३ प्रतिशत मतदाताको मात्र समर्थन छ। सोही सर्वेक्षणमा आर्थिक कठिनाइप्रति मानिसहरूले निराशा व्यक्त गरेका छन्।
मुद्रास्फिति र खाद्यान्नको मूल्यवृद्धिका साथै घरको मूल्यमा ३०–४० प्रतिशतको वृद्धिले पछिल्ला वर्षहरूमा मतदाता सरकारसँग क्रुद्ध छन्।
आफ्नो लामो कार्यकालमा ट्रुडोका एकपछि अर्को राजनीतिक विवादले पनि उनलाई घाटा लगायो। २०१७ मा हेलिकोप्टर सवारी र छुट्टीको यात्राजस्ता उपहार स्वीकार गरेको भन्दै उनको चर्को आलोचना भयो।
२०१९ मा उनको पार्टीले बहुमत गुमायो र सत्तामा रहनका लागि अन्य पार्टीको सहयोग चाहिने भयो।
आम मतदाताको पहुँचबाट टाढा रहेका सम्भ्रान्त नेताका रूपमा उनको पहिचान स्थापित भयो। उनको परिवारका सदस्यलाई लाखौँ डलर दिएको च्यारिटीलाई उनको सरकारले ठूलै ठेक्का दिएको खुलासा भएपछि उनको प्रतिष्ठामा थप आँच आयो।
२०२१ को अग्रिम चुनावले पनि उनलाई राहत दिएन।
क्यानडामा आउँदो अक्टोबरसम्ममा चुनाव हुनैपर्छ। तर, उनको नेतृत्वमा चुनाव जित्नेमा पार्टीका नेताहरूले सन्देह व्यक्त गर्दै आएका छन्।
गतवर्षको अन्त्यमा सो पार्टीका दुई दर्जन सांसदले उनलाई प्रधानमन्त्री पद छाड्न, अन्यथा हारका लागि तयार रहन पत्र लेखेका थिए।
डिसेम्बरको मध्यतिर उनकी उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डले उनको आलोचना गर्दै राजीनामा दिएपछि भने उनको सत्ता धराशायी भयो। केही दिनमै पार्टीका अरु हस्तीले पनि उनको साथ छाडे।
यस मामिलामा डोनाल्ड ट्रम्प पनि जोडिन आइपुग्छन्। ट्रम्पले ट्रुडोलाई गभर्नर भन्दै क्यानडा देश नभई अमेरिकी राज्य भएको इसारा समेत गरेका छन्। उनले क्यानडाको सामानमा २५ प्रतिशत कर लगाउने धम्की पनि दिएका छन्।
उसो त कार्यकालभरि ट्रुडोको विदेशनीति समस्याग्रस्त रह्यो। अमेरिकाको आग्रहमा ह्वावेका संस्थापककी छोरी मेङ वान्चाउलाई गिरफ्तार गरेपछि चीनसँग क्यानडाको सम्बन्ध मात्र तिक्त भएन चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको व्यक्तिगत सम्बन्ध पनि निकै तल पुग्यो।
उता क्यानडेली भूमिमा पृथकतावादी नेताको हत्यापछि भारतसँग पनि उनको सम्बन्ध जटिल बन्यो।
यस्तोमा प्रमुख व्यापारिक साझेदार अमेरिकासँग पनि खराब सम्बन्ध क्यानडालाई महँगो पर्न सक्थ्यो।
ट्रुडोको ट्रम्पलाई सम्हाल्ने क्षमतामा पनि फ्रिल्यान्डले प्रश्न उठाएकी छन्। उनी लिबरल पार्टीको नेताको प्रमुख दाबेदार पनि हुन्।
सर्वेक्षणहरूले यतिबेला चुनाव भए कन्जरभेटिव पार्टीका ४५ वर्षे नेता पियर पोलियभरले जित्ने देखाएका छन्।
२४ मार्चसम्मका लागि उनले संसद् निलम्बन गरेका छन्। त्यसबेलासम्म सम्भवतः उनको पार्टीले नयाँ नेता चुनिसक्ने छ। एजेन्सी
Shares

प्रतिक्रिया