इजरायली रक्षामन्त्रीले आफ्नो सेनालाई ‘गाजा छाड्न चाहनेलाई बाहिर जाने व्यवस्थाका लागि’ योजना तयार पार्न निर्देशन दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबासीलाई निकालेर सो स्थान अमेरिकाले कब्जा गर्ने बताएपछि इजरायली मन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
ट्रम्पले बुधबार सो योजना पुनः दोहोर्याएका छन्। उनले मंगलबार इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँगै बसेर गरेको सो प्रस्तावको संसारले नै आलोचना गरेको थियो।
गाजाबासीलाई भूमिविहीन बनाउने उनको प्रस्ताव व्यावहारिक रुपमा जातीय नरसंहार भएको धेरैको तर्क छ।
तर, इजरायली रक्षामन्त्री इजरायल काट्ज भने गाजाका बासिन्दालाई लिने जिम्मेवारी गाजामा इजरायली युद्धको आलोचना गर्ने मुलुकहरूको भएको बताउँछन्।
अर्कोतिर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाबासीको स्थानान्तरण सो स्थानको पुनरर्निर्माणका लागि अघि सारिएको अस्थायी योजना मात्र भएको दाबी गरेका छन्।
युद्धका क्रममा पनि इजरायलमाथि गाजामा युद्धअपराध र नरसंहारको आरोप लागेको थियो।
२०२३ को अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायलमा हमला गरी १२ सय मानिसको हत्या गर्नुका साथै २५१ जनालाई बन्धक बनाएका थिए।
त्यसयता इजरायलले गाजामा ४७ हजार ५५० जनाको ज्यान लिनुका साथै १ लाख ११ हजारभन्दा बढीलाई घाइते बनाएको छ।
जनवरीको तेस्रो सातादेखि उनीहरूबीच युद्धविराम भएर बन्दी छाड्ने क्रम जारी छ।
१५ महिनाको युद्धमा गाजाका ७० प्रतिशत घर ध्वस्त भएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया