अमेरिकाले युक्रेन युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्ने भएपछि अत्तालिएका युरोपेली मुलुकका नेताहरूबीच सोमबार शिखर बैठक हुने भएको छ। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले युक्रेनका विषयमा छलफल गर्न सो बैठकको आयोजना गर्न लागेका हुन्।
फ्रान्समा बैठक हुन लागेको विदेशमन्त्री ज्यँ नोएल ब्यारोटले पुष्टि गरे। सो बैठकमा फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, इटली, स्पेन र डेनमार्क सहभागी हुने बताइएको छ।
यी मुलुकहरू अमेरिकाले रुससँग सम्झौता गर्दा युरोपको सुरक्षामा समस्या पर्नसक्ने भन्दै चिन्तित छन्। त्यसैले एकताबद्ध रुपमा प्रस्तुत हुन सो बैठक आयोजना गर्न लागिएको बताइएको छ।
डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेन युद्ध अन्त्यका लागि रुससँग वार्ताको तयारी गरेको छ। चाँडै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने बताइएको छ।
तर, वार्तामा युरोपलाई निम्त्याइएको छैन। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले समेत आफूलाई ननिम्त्याइएको बताएका छन्। अमेरिकाले साथ छाड्ने संकेत दिएपछि उनी युरोपेली मुलुकहरूलाई फकाउन लागिपरेका छन्।
अमेरिकाले भने युक्रेनको सुरक्षा चाँजोको व्यवस्था युरोपले गर्नुपर्ने बताएको छ। अमेरिकाले आफ्नो मुख्य ध्यान चीनप्रति रहेको भन्दै अब युरोपलाई प्राथमिकता दिन अस्वीकार गरेको छ। युरोपेलीहरू यसबाट त्रसित् बनेका छन्।
कतिपयले यो युरोप र अमेरिकाबीचका साझेदारी अन्त्यको विन्दु भएको बताएका छन्। यससँगै अब युरोप र अमेरिकाको सम्बन्ध पुनर्परिभाषित हुने अपेक्षा गरिएको छ। एजेन्सी
Shares

प्रतिक्रिया