ग्लोबल


हमाससँग अमेरिकाले गर्‍यो गोप्य बैठक

हमाससँग अमेरिकाले गर्‍यो गोप्य बैठक

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
फागुन २२, २०८१ बिहिबार ११:३४, काठमाडौँ

हमासका एक वरिष्ठ अधिकारीले अमेरिकी अधिकारीहरूसँग दुईवटा प्रत्यक्ष बैठक भइसकेको बताएका छन्। यो खबर बीबीसीले लेखेको हो। 

सम्पर्कबारे सोध्दा ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले बन्धकहरूका लागि राष्ट्रपति ट्रम्पका विशेष दूत एडम बोहेलरसँग वार्ता गर्ने अधिकार रहेको बताइन्।

इजरायलबाट अहिलेसम्म एक मात्र आधिकारिक प्रतिक्रिया प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयबाट आएको छ।

इजरायलले हमाससँग प्रत्यक्ष वार्ता गर्ने सम्बन्धमा अमेरिकालाई आफ्नो अडान अवगत गराएको जनाएको छ।

यद्यपि वार्ताबारे इजरायली अधिकारीहरूलाई कति जानकारी दिइएको थियो भन्ने कुरा स्पष्ट छैन।

हमाससँगको सम्पर्कमा अमेरिकाको तीस वर्षदेखिको प्रतिबन्धलाई ध्यानमा राख्दै जारी वार्ता अत्यन्तै असामान्य छन्, तर पूर्ण रूपमा अभूतपूर्व छैनन्।

बीबीसीले गत वर्ष अप्रिलमा बाइडेन प्रशासनका एक सदस्यसँग अमेरिकी बन्धकबारे छलफल गर्न बैठक भएको थाहा पाएको छ।

इजरायली बन्धक रिहाइका विषयमा ट्रम्पले हमासलाई 'अन्तिम चेतावनी' दिएका छन्। तत्काल सबै बन्धक नछाडे हमासका एक जना पनि सुरक्षित नरहने चेतावनी ट्रम्पले दिएका हुन्। 

हमास र इजरायलबीच गत जनवरी १९ देखि लागू युद्धविरामको पहिलो चरण फागुन १७ (मार्च १) मै सकिएको छ। अमेरिकी प्रस्तावमा इजरायलले युद्धविरामको अवधि ६ हप्ता थप गरे पनि हमासले अस्वीकार गरेको छ। 

यसपछि इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको छ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो। 

जवाफमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणबाट अहिलेसम्म कम्तीमा ४८ हजार ३६५ जनाको मृत्यु भएको हमासको भनाइ छ। 

युद्धविरामको पहिलो चरणअन्तर्गत जनवरी १९ देखि मार्च १ सम्म हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ।बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ। 

हमासले बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ भने अझै अन्योलमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad