ग्लोबल


सिरियाली सुरक्षा बल-असद समर्थकबीच झडप: २ दिनमै हजारभन्दा बढीको मृत्यु

सिरियाली सुरक्षा बल-असद समर्थकबीच झडप: २ दिनमै हजारभन्दा बढीको मृत्यु

नेपालखबर
फागुन २५, २०८१ आइतबार १४:२९, बेरुत

सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल-असदका समर्थकबीच दुई दिनको झडप र त्यसपछिका प्रतिशोधात्मक हत्याले मृत्यु संख्या हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले बताएको छ।

यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसा मानिएको छ। 

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार ७ सय ४५ सर्वसाधारण मारिएका छन्।

तीमध्ये १ सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र १ सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकु छन्।

लाटाकिया सहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको अब्जर्भेटरीले बताएको छ। 

असदलाई सत्ताबाट हटाएपछि विद्रोहीले सत्ता लिएको तीन महिनापछि बिहीबार भड्किएको हिंसाले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको छ।

सरकारले असदका बलहरूको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको र व्यापक हिंसाका लागि ‘व्यक्तिगत कार्य’लाई दोष दिएको बताएको छ।

सुन्नी र अलावीबीच प्रतिशोधात्मक हत्या

असदको अल्पसंख्यक अलावी सम्प्रदायका सदस्यविरुद्ध सरकारप्रति वफादार सुन्नी मुस्लिम बन्दुकधारीले शुक्रबार सुरु गरेको प्रतिशोधात्मक हत्या पूर्वसरकारको पतनको नेतृत्व गर्ने गुट हयात ताहरिर अल-शामका लागि ठूलो धक्का हो। अलावीहरूले दशकौँसम्म असदको समर्थन आधारको ठूलो हिस्सा बनाएका थिए। 

अलावी गाउँ र सहरका बासिन्दाहरूले एसोसिएटेड प्रेससँग हत्याहरूको बारेमा कुरा गर्दै बन्दुकधारीहरूले अलावीहरूलाई, अधिकांश पुरुषलाई, सडकमा वा उनीहरूको घरको गेटमा गोली हानेको बताए। सिरियाको तटीय क्षेत्रका दुई बासिन्दाले एपीलाई आफ्नो लुक्ने ठाउँबाट विभिन्न क्षेत्रहरूमा अलावीहरूका धेरै घरहरू लुटिएका र त्यसपछि आगो लगाइएको बताए।

उनीहरूले बन्दुकधारीहरूद्वारा मारिने डरले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरे। हजारौँ मानिस सुरक्षाका लागि नजिकैको पहाडतर्फ भागेको उनीहरूले थप जानकारी दिए। 

बासिन्दाहरूको एउटा सहरमा अत्याचारको कुरा 

हिंसाबाट सबैभन्दा बढी प्रभावित बानियास सहरका बासिन्दाहरूले सडकहरूमा शवहरू छरिएका वा घरहरू र भवनहरूको छतमा गाडिन नपाएका अवस्थामा छोडिएको र कसैले पनि उनीहरूलाई सङ्कलन गर्न नसकेको बताए। एक बासिन्दाका अनुसार बन्दुकधारीहरूले बासिन्दाहरूलाई शुक्रबार नजिकबाट मारिएका आफ्ना पाँच छिमेकीको शव हटाउन घन्टौँसम्म रोकेका थिए।

परिवार र छिमेकीहरूसँग शुक्रबार हिंसा फैलिएको केही घण्टापछि भागेका बानियासका ५७ वर्षीय बासिन्दा अली शेहाले अलावीहरू बस्ने बानियासको एक क्षेत्रमा उनका कम्तीमा २० छिमेकी र सहकर्मी मारिएको र तीमध्ये केही आफ्नै पसलमा वा घरमा मारिएको बताए।

शेहाले यी आक्रमणलाई असद सरकारले गरेका अपराधहरूका लागि अलावी अल्पसंख्यकको ‘प्रतिशोधात्मक हत्या’ भने। अन्य बासिन्दाले बन्दुकधारीहरूमा विदेशी लडाकुहरू र छिमेकी गाउँ र सहरका उग्रवादीहरू रहेको बताए।

‘यो निकै नराम्रो थियो। शवहरू सडकमा थिए’, सहरबाट करिब २० किलोमिटर टाढाबाट फोनमा कुरा गर्दै शेहाले भने। उनका अनुसार बन्दुकधारीहरू उनको अपार्टमेन्ट भवनबाट एक सय मिटरभन्दा कममा भेला भएका थिए।

कम्तीमा एक घटनामा उनलाई थाहा भएअनुसार बासिन्दाहरूलाई उनीहरूको धर्म र सम्प्रदाय जाँच गर्न परिचयपत्र माग्दै थिए अनि त्यसपछि उनीहरूलाई मार्दै थिए। उनले बन्दुकधारीहरूले केही घरमा आगो लगाएको र कारहरू चोरेर घरहरू लुटेको बताए। 

मृत्यु सङ्ख्या बढ्दो

अब्जर्भेटरीका प्रमुख रामी अब्दुरहमानले प्रतिशोधात्मक हत्या शनिबार बिहानै रोकिएको बताए। 

‘यो सिरियाली द्वन्द्वको दौरानमा भएको सबैभन्दा ठूलो नरसंहारमध्ये एक थियो’, अब्दुरहमानले अलावी नागरिकको हत्याबारे भने।

समूहले पहिले दिएको आकडाअनुसार ६ सयभन्दा बढीको मृत्यु भएको थियो। कुनै आधिकारिक आँकडा जारी गरिएको छैन।

सिरियाको तटीय क्षेत्रमा भएको झडपमा मारिएका चार सिरियाली सुरक्षा बल सदस्यका लागि शनिबार दिउँसो उत्तरपश्चिमी गाउँ अल-जानौदिया मा अन्त्येष्टि गरियो। धेरै मानिसले अन्त्येष्टिमा भाग लिएका थिए।

सिरियाली सेनाले नियन्त्रण पुनः प्राप्त गरेको आधिकारिक रिपोर्टले जनाएको छ।

सिरियाको सरकारी समाचार एजेन्सीले रक्षा मन्त्रालयका एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै सरकारी सेनाले असदका वफादारहरूबाट धेरै क्षेत्रहरू पुनः नियन्त्रण गरेको बताएको छ। अधिकारीहरूले ‘उल्लङ्घनहरू रोक्न र बिस्तारै स्थिरता पुनःस्थापना गर्न’ तटीय क्षेत्रतर्फ जाने सबै सडकहरू बन्द गरेका छन्।

शनिबार बिहान केन्द्रीय गाउँ तुवायममा अघिल्लो दिन प्रतिशोधात्मक आक्रमणमा मारिएका ३१ जनाको शव एक सामूहिक चिहानमा गाडिएको बासिन्दाहरूले बताएका छन्। मारिएकाहरूमा नौ बालबालिका र चार महिला सम्मिलित थिए।

संसद्‌मा अलावी सम्प्रदायलाई छुट्टयाइएको दुई सिटमध्ये एउटा ओगटेका लेबनानी विधायक हैदर नासेरले मानिसहरू सुरक्षाका लागि सिरियाबाट लेबनानतर्फ भागिरहेको बताए। आफूसँग यथार्थ सङ्ख्या नभएको उनले बताए। 

नासेरका अनुसार धेरै मानिस सिरियाको हमेइमिममा रहेको रूसी वायु अड्डामा आश्रय लिइरहेका छन्। उनले अन्तर्राष्ट्रिय समुदायले आफ्नो देशप्रति वफादार सिरियाली नागरिक अलावीहरूको सुरक्षा गर्नुपर्ने बताए। उनले असदको पतनपछि धेरै अलावीलाई उनीहरूको कामबाट निकालिएको र नयाँ अधिकारीहरूसँग मेलमिलाप गरेका केही पूर्व सैनिकहरू मारिएको बताए।

असदको शासनकालमा अलावीहरूले सेना र सुरक्षा एजेन्सीहरूमा उच्च पद ओगटेका थिए। नयाँ सरकारले पछिल्ला केही हप्तामा देशको नयाँ सुरक्षा बल विरुद्धको आक्रमणका लागि उनका समर्थकहरूलाई दोष दिएको छ।

फ्रान्सले सिरियामा हालै भएको हिंसामाथि ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ। पेरिसको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धर्मका आधारमा नागरिक र कैदीमाथि हुने अत्याचारको कडा शब्दमा निन्दा गर्दछ।’

फ्रान्सले सिरियाली अन्तरिम अधिकारीहरूलाई ‘यी अपराधहरूमा पूर्ण प्रकाश पार्ने’ स्वतन्त्र अनुसन्धान सुनिश्चित गर्न आग्रह गरेको छ।

अब्जर्भेटरीका अनुसार सरकारी सेनाले तटीय सहर जाब्लेह नजिकै एक वाञ्छित व्यक्तिलाई हिरासतमा लिने प्रयास गर्दा र असदका वफादारहरूले आक्रमण गर्दा हालैका झडप सुरु भएका हुन्। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad