युद्धविराम लम्ब्याउन हमास नमानेपछि इजरायलले गाजामा भीषण हमला गरिरहेको छ।
हमासको स्वास्थ्य मन्त्रालयले आक्रमणमा अहिलेसम्म ४०० प्यालेस्टिनी मारिएको बताएको छ।
आईडीएफले हमासका ‘आतंकवादी लुक्ने ठाउँ’लाई लक्ष्य गरी हमला गरिरहेको बताएको छ। यस आक्रमणमा हमासका शीर्ष सुरक्षा अधिकारी महमुद अबु वफाह पनि मारिएको दाबी गरिएको छ।
इजरायलको आक्रमणपछि गाजाको अवस्था हेर्नुहोस् यी तस्बिरमा-





हमास र इजरायलबीच भएको सम्झौताअनुसार गत जनवरी १९ देखि लागू युद्धविरामको पहिलो चरण मार्च ३० रातिबाट सकिएको थियो। त्यसपछि अमेरिकी प्रस्तावमा इजरायल युद्धविराम ६ हप्ता लम्ब्याउन सहमत भए पनि हमासले अस्वीकार गरेको थियो।
युद्धविराम अवधिमा हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ भने बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।
पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव हमासले अस्वीकार गरेपछि इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको थियो।
त्यसयता इजरायलले अहिले गाजामा पुन: आक्रमण थालेको हो।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।
जवाफमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणबाट यसअघिसम्म कम्तीमा ४८ हजार ३६५ जनाको मृत्यु भएको हमासको भनाइ छ।
त्यसमा अब ४०० जना थपिएका छन्।
Shares

प्रतिक्रिया