सैन्य सहयोगबारे छलफल गर्न फिनल्यान्ड पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र फिनल्यान्ड दुवैले रुसको छिमेकी हुन कस्तो हुन्छ भन्ने कुरा बुझेको बताएका छन्।
जेलेन्स्कीले शान्तिका लागि रुसलाई सामूहिक दबाब दिन आवश्यक रहेको र सिंगो युरोपले एकजुट भएर आफ्नो सुरक्षा गर्नुपर्ने बताए।
‘वास्तविकता पुटिनले भनेको भन्दा धेरै फरक छ’, उनले भने, ‘हामी हाम्रो सार्वभौमिकता र हाम्रो स्वतन्त्रताका लागि लडिरहेका छौँ, हामी यो युद्ध जित्नेछौँ।’
जेलेन्स्कीले थपे, ‘रुस चाहन्छ- हाम्रा सहयोगीहरूले हामीलाई सहयोग गर्न बन्द गरून्, ताकि युक्रेन कमजोर होस्। यदि पुटिन साँच्चै शान्ति चाहन्छन् भने उनी हाम्रो सेनालाई किन कमजोर बनाउन चाहन्छन्?’
यसैबीच फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टबले युक्रेनलाई आफ्नो रक्षा गर्ने पूर्ण अधिकार रहेको र यसमा कुनै पनि प्रतिबन्ध लगाउन नसकिने बताए।
‘युक्रेन, युरोप र अमेरिका शान्ति चाहन्छन्, तर रुस पनि त्यो चाहन्छ कि चाहँदैन भनेर हेर्न बाँकी छ। यदि रुस तयार भएन भने वार्ता गर्न बाध्य पार्न थप दबाब दिनुपर्नेछ’, स्टबले भने।
स्टबले पुटिन र ट्रम्पबीचको कुराकानीलाई ‘सही दिशामा एक कदम’ भनेर व्याख्या गरे।
स्टबले थप भने, ‘ट्रम्प रक्तपात रोक्न चाहन्छन् र उनी सही छन्।’
‘युक्रेनले बिनासर्त युद्धविराम स्वीकार गर्यो, तर पुटिनले अस्वीकार गरे।’
Shares

प्रतिक्रिया