भारतस्थित पश्चिम बंगालको दक्षिण २४-परगना जिल्लाको पथर प्रतिमा क्षेत्रमा पटाका कारखानामा राखिएको पटाका भण्डारमा विस्फोट हुँदा एकै परिवारका ८ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार भएको घटनामा घाइते एक जनाको मंगलबार दिउँसो मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको हो। मृतकमा चार बालबालिका पनि छन् र ती सबै एकै परिवारका हुन्।
घटना हुँदा परिवारका एघार सदस्यमध्ये तीन जना घर बाहिर रहेकाले बचेको प्रहरीले जनाएको छ।
यी तीन जनाबाहेक अरू सबैको मृत्यु भइसकेको छ।
पटाका व्यवसायमा संलग्न परिवारका दुई दाजुभाइ चन्द्रकान्त बनिक र तुषार बनिकविरुद्ध प्रहरीले गैरजमानती धाराअन्तर्गत मुद्दा दर्ता गरेको छ।
प्रहरीले दुवै दाजुभाइसँग पटाका व्यवसायको लाइसेन्स रहेको बताएको छ। घरमा ठूलो मात्रामा पटाका भण्डारण गरिएको थियो।
कुनै कारणले यो विस्फोट हुँदा बनिक परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको थियो।
मृतकमा चन्द्रकान्त र तुषारका बुबा अरविन्द बनिक (६५), हजुरआमा प्रभावती बनिक (८०), चन्द्रकान्तकी श्रीमती सन्तवाना बानिक (२८), छोरा अर्णव बनिक (९), छोरी अस्मिता बनिक (८ महिना), तुषारकी छोरी अनुष्का बनिक (६ महिना) र छोरा अंकित बनिक (६ महिना) छन्। तुषारकी श्रीमती रूपाको पछि अस्पतालमा मृत्यु भयो।
त्यतिबेला दाजुभाइ चन्द्रकान्त र तुषार तथा आमा घरबाहिर रहेकाले बाँचे।
Shares

प्रतिक्रिया