समाज


स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता

स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता

नेपालखबर
चैत १९, २०८१ मंगलबार १९:३९, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यका बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाएका छन् । मन्त्रालयअन्तर्गतका विभिन्न महाशाखा तथा केन्द्रहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले समय बाँकी छँदै अधिकतम प्रगति देखिने गरी काम गर्न भनेका हुन्।

मन्त्रालयको कार्य प्रगतिबारे नियमित बैठक राखेर जानकारी लिइरहेका मन्त्री पौडेलले यसपाली आर्थिक वर्षको अन्त्यसम्ममा अधिकतम नतिजा प्राप्त हुने गरी कर्मचारीतन्त्रलाई सक्रिय बनाएका हुन्।

मन्त्री पौडेलले मन्त्रालयअन्र्तगतका महाशाखा तथा केन्द्रहरूको नियमित रुपमा कार्य प्रगतिको रिपोर्टका आधारमा आवश्यक पृष्ठपोषण दिँदै आइरहेका छन्।

यसक्रममा मंगलबार प्रगति कमजोर भएका महाशाखा तथा केन्द्रहरूलाई मन्त्री पौडेलले लक्ष्यअनुसार काम गर्नका लागि सजग गराएका हुन्।  

‘दातृ निकायहरूबाट बजेट कटौतीका समस्या हाम्रा आम समस्या हुन्,’ मन्त्री पौडेलले भने, ‘समस्या जसले पनि देखाउन सक्छ। तर हामीले भएका स्रोतको अधिकतम उपयोग गरेर त्यसको समाधान पनि निकालौँ।’

मन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेट प्रगतिको अधिकतम नतिजा निकाल्नका लागि बचेको समय सक्रिय भएर काम गर्नका लागि विभागीय प्रमुखहरूसँग आग्रह गरे।

‘हामीसँग बजेटमा स्रोत छ तर सोचजस्तो कार्यान्वयन हुन नसकेको विषय समीक्षा गरौँ’, उनले भने, ‘अब ४ महिना बाँकी छ पूर्ण उपयोग र परिणाममुखी नतिजा दिनुहोला।’

मन्त्री पौडेलले परम्परागत शैली बदलेर काममा नयाँपन आवश्यक रहेको भन्दै त्यसका नयाँ सोचका साथ काम गर्नेहरूलाई सदैव साथ रहने बताए। ‘तपाईंहरूको काम प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक छ भने भन्नुहोला,’ मन्त्री पौडेलले भने, ‘हामी त्यसमा हरसम्भव प्रयास गर्नेछौँ।’

स्वास्थ्यमा दाताको बजेट कटौतीले परेका समस्याबारे आफू जानकार रहेको भन्दै मन्त्री पौडेलले अनिवार्य आवश्यक विषयमा सरकारले विकल्प दिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad