जम्मु-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार २८ जना मारिने गरी भएको आतंकवादी हमलामा ५ आतंककारी संलग्न रहेको खुलासा भएको छ।
तीमध्ये दुई जना स्थानीय व्यक्ति र तीन जना पाकिस्तानी रहेको तथ्य प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको दैनिक भास्करले जनाएको छ। उक्त पत्रिकाका अनुसार प्रहरीले सोधपुछका लागि सयौँ मानिसलाई नियन्त्रणमा लिएको छ।
सुरक्षा र गुप्तचर एजेन्सीहरूले संदिग्ध आतंककारीहरूको स्केच जारी गर्दै उनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा रहेको बताएका छन्।
गुप्तचर स्रोतहरूले आक्रमणको मास्टरमाइन्ड लश्कर-ए-तैयबाका उपप्रमुख सैफुल्लाह खालिद भएको बताएका छन्, जो पाकिस्तानमा छन्।
घटनाको जिम्मेवारी लश्कर-ए-तैयबाअन्तर्गतकै रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले जिम्मेवारी लिइसकेको छ।
यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने यस आक्रमणमा आफ्नो देशको कुनै हात नभएको स्पष्टीकरण दिएका छन्।
मंगलबार आतंकवादी हमलामा मारिएका २८ पर्यटकमा १ जना नेपाली छन्। हमलामा २० जनाभन्दा बढी घाइते भएका छन्।
हमलामा रुपन्देही बुटवल-११ का सुदीप न्यौपाने मारिएका हुन्। आक्रमणमा उनकी आमा रिमकला पाण्डे पनि घाइते भएकी छन्। उनीहरू पहलगाम घुम्न गएका थिए।
उक्त हमला पहलगामको बैसरण उपत्यकामा ठूलो संख्यामा पर्यटक रहेका बेला गरिएको थियो। मारिएका नागरिकमा एक/एक जना नेपाल र यूएईका र बाँकी मानिस भारतकै उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशावासी भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
मंगलबार पहलगाममा भएको हमला सन् २०१९ यताकै सबैभन्दा ठूलो भएको बताइएको छ। यसअघि १४ फेब्रुअरी २०१९ मा पुलवामा आत्मघाती आक्रमण हुँदा ४० सैनिक मारिएका थिए। यसको जिम्मेवारी जैश-ए-मोहम्मदले लिएको थियो।
Shares

प्रतिक्रिया