व्यापार युद्धका कारण यसै नाजुक विन्दुमा पुगेको अमेरिका–चीन सम्बन्धमा डोनाल्ड ट्रम्पको प्रशासनले थप दुई धक्का दिएको छ। यसका साथै भन्सार शुल्क घटाउने सहमतिले तयार गरेको संवादको वातावरण थप बिग्रिने चिन्ता विश्लेषकहरूले गरेका छन्।
भन्सार घटाउने सहमति भएसँगै चिनियाँ बन्दरगाहहरूबाट अमेरिकाका लागि जहाज छुट्न थालेका थिए। चिनियाँ अधिकारीहरू पनि सबैभन्दा ठूला आर्थिक महाशक्तिबारे सहकार्यको सम्भावनाप्रति आशावादी देखिन थालेका थिए।
तर, अमेरिकाले हालै लिएका दुई निर्णयले यो युद्धविराम भंग गराउन सक्ने देखिएको छ।
त्यसमध्ये पहिलो हो– ट्रम्पले चीनलाई सेमिकन्डक्टर डिजाइनमा प्रयोग हुने सफ्टवेयर बेच्न अमेरिकी कम्पनीहरूलाई लगाएको प्रतिबन्ध। यसको खुलासा बुधबार फाइनान्सियल टाइम्सले गरेको हो।
स्मार्टफोन, कम्प्युटर, अटोमोबाइल र अन्य उपकरणमा प्रयोग हुने चिप्स केही वर्षयता अमेरिका र चीनबीचको टक्करको मुख्य विषय बनेको छ। जो बाइडेनले अमेरिकामा निर्मित चिप्स चीनलाई बेच्न प्रतिबन्ध लगाएका थिए। यसै महिना चिनियाँ कम्पनी ह्वावेले बनाएको चिप्स प्रयोग नगर्न अमेरिकाले अरुलाई चेतावनी दिएको छ।
चीनले यसको कडा शब्दमा भर्त्सना गर्दै आफैँले चिप्स विकास गर्न अर्बौं डलर लगानी गरेको छ।
गत शुक्रबार अमेरिकी अधिकारीहरूले कम्पनीहरूलाई त्यस्ता चिप्स बनाउन उपयोग हुने सफ्टवेयर पनि चीनलाई नबेच्न भनेका छन्।
अमेरिकाको दोस्रो कदमले भने चिनियाँ सरकारलाई मात्र होइन, सर्वसाधारणलाई पनि क्रुद्ध तुल्याएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ विद्यार्थीको भिसा आक्रामक रूपमा रद्द गरिने बताएका छन्। खासगरी कम्युनिस्ट पार्टीसँग निकटलाई।
यसको असर व्यापक मात्रामा पर्नेछ। किनकि २०२४ मा अमेरिकामा २ लाख ७० हजार चिनियाँ विद्यार्थी थिए। तीमध्ये केही मात्र चीनका राजनीतिक तथा व्यापारिक सम्भ्रान्त परिवारका हुन्। अधिकांश मध्यमवर्गीय परिवारका छन्। तर, अमेरिकाले चाहेमा जोसुकैलाई कम्युनिस्ट पार्टीसँग सम्बन्ध देखाएर फिर्ता पठाउन सक्छ।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकी कदमको विरोध गरेको छ।
अमेरिकामा अध्ययनरत चिनियाँ विद्यार्थीहरूले आफूहरू त्रसित भएको बताएका छन्।
अमेरिकाको यो कदमले थुप्रै विद्यार्थीलाई समस्या पर्न सक्ने भए पनि वास्तवमा चीनलाई फाइदा हुने कतिपयको तर्क छ। पछिल्लो समय अमेरिकामा चिनियाँ विद्यार्थीको संख्या घट्दो छ, सुरक्षा, नश्लभेद र आवतजावतमा कठिनाइका कारण।
ट्रम्पको यो कदमले अमेरिकामा रहेका थप चिनियाँ विज्ञहरूलाई आफ्नो घर फर्किन प्रेरित गर्ने देखिन्छ।
बुधबार नै चीन र ट्रम्पको भन्सार झेलिरहेका अन्य मुलुकलाई अमेरिकी अदालतले एउटा खुसीको खबर दिएको छ। अदालतले ट्रम्पको अधिकांश भन्सारलाई अवैध घोषित गरेको छ।
तर, सरकारले तत्काल त्यसबारे पुनरावेदन गरेको छ। एजेन्सी
Shares

प्रतिक्रिया