ग्लोबल


छत्तीसगढमा माओवादीको विस्फोटमा परी एएसपीको मृत्यु, केही प्रहरी घाइते

छत्तीसगढमा माओवादीको विस्फोटमा परी एएसपीको मृत्यु, केही प्रहरी घाइते

नेपालखबर
जेठ २६, २०८२ सोमबार १२:२१, काठमाडौँ

भारतीय प्रान्त छत्तीसगढको सुकमा जिल्लामा सोमबार बिहान माओवादीहरूले गराएको प्रेसर आईईडी विस्फोटमा कोन्टा डिभिजनका अतिरिक्त प्रहरी अधीक्षक (एएसपी) आकाश राव गिरिपुंजेको मृत्यु भएको छ।

घटनामा सुकमाको कोन्टा प्रहरी चौकीका इन्चार्ज सोनल ग्वाला र एसडीओपीसहित केही प्रहरी कर्मचारी घाइते पनि भएका छन्।

छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘कोन्टा-एराबोरा सडकको डोन्ड्रा नजिकै आईईडी विस्फोटमा घाइते भएपछि सुकमाका एएसपी आकाश राव गिरिपुंजे सहिद भएका छन्। उनी एक बहादुर सिपाही थिए र उनलाई धेरैवटा बहादुरी पुरस्कार प्रदान गरिएको थियो। यो हाम्रा लागि दु:खद क्षण हो। खोज र उद्धार सुरु गरिएको छ।’

भारतीय सञ्चारमाध्यका अनुसार सोमबार बिहान अतिरिक्त प्रहरी अधीक्षक आकाश राव आफ्नो टोलीसँग कोन्टा-एराबोरा सडकमा रहेको डोन्ड्रानजिकै क्षेत्र नियन्त्रणको लागि पैदल गस्तीमा गएको बेला विस्फोटमा परेका हुन्।

यो अपरेसन यही जुन १० मंगलबारका लागि भारतीय माओवादीले आह्वान गरेको भारत बन्दविरुद्ध गरिँदै थियो। यस क्रममा अचानक प्रेसर आईईडी विस्फोट भई एएसपी आकाश गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै उद्धार गरी कोन्टा अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका हुन्।

घटनापछि त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। सुरक्षा बलको तैनाथी बढाइएको छ र खोजी अभियान तीव्र पारिएको छ।

सुरक्षा बलले डिसेम्बर २०२३ देखि छत्तीसगढको बस्तरमा माओवादीहरूविरुद्धको अभियानलाई तीव्र बनाएको थियो।

गृहमन्त्री अमित शाहले २०२६ मार्च ३१ सम्ममा माओवादीहरूलाई समाप्त पार्ने दाबी गरेका छन्। 

यस क्रममा सुरक्षा बलले पछिल्लो १५ महिनामा बस्तरमा ४०० भन्दा बढी माओवादीलाई मारेको दाबी गरेको छ।

सुरक्षा बलका अनुसार, पछिल्लो १ महिनामा शीर्ष माओवादी नेता नम्बल्ला केशव राव उर्फ ​​बसवराजुसहित दुई दर्जनभन्दा बढी माओवादी मारिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad