ग्लोबल


मेघालय: हनिमुन मनाउन हिँडेकी छोरी पतिकै हत्या आरोपमा पक्राउ परेपछि यसो भन्छन् पिता

मेघालय: हनिमुन मनाउन हिँडेकी छोरी पतिकै हत्या आरोपमा पक्राउ परेपछि यसो भन्छन् पिता

फाइल तस्बिरमा पति राजा रघुवंशीसँग र बायाँतर्फ हिरासतमा पुगेपछि सोनम।


नेपालखबर
जेठ २६, २०८२ सोमबार १३:२८, काठमाडौँ

भारतीय प्रान्त मध्य प्रदेशको इन्दौरबाट हनिमुन मनाउन भनेर भारतकै अर्को प्रदेश मेघालय पुगेको भारतीय जोडीको रहस्यमय घटनाले सनसनी मच्चाएको छ। 

हनिमनु मनाउने क्रममा बेपत्ता भनिएकी २७ वर्षीया सोनम रघुवंशी एकाएक सोमबार सँगै रहेका पति २९ वर्षीय राजा रघुवंशीको हत्या आरोपमा पक्राउ परेपछि मानिसहरू स्तब्ध भएका छन्। 

हनिमनुका लागि मेघालयको शिलोङ पुगेकी उनलाई प्रहरीले उत्तर प्रदेशको गाजीपुरमा फेला पारी गिरफ्तार गरेको हो।

यद्यपि प्रहरीले सोनम आफैँ आत्मसमर्पण गर्न आएको बताएको छ। साथै घटनामा संलग्न आरोपमा प्रहरीले अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सोनमले भाडामा मानिस लगाएर पतिको हत्या गराएको देखिएको दाबी प्रहरीले गरिरहेको छ। 

यसैबीच सोमम रघुवंशीका बुबा देवी सिंहले भने आफ्नी छोरी निर्दोष रहेको र प्रहरीले भ्रम सिर्जना गरेको दाबी गरेका छन्। 

सिंहले पत्रकारहरूसँग भनेका छन्, 'छोरी सोनम रघुवंशी निर्दोष छिन्। मलालाई छोरीमाथि पूर्ण विश्वास छ। उनले यस्तो काम गर्न सक्दिनन्।'

सिंहका अनुसार विवाह केटाकेटी र दुवैका परिवारको सहमतिमै भएको थियो। 

उनले भने, ‘नानी (सोनम) ले किन (आफ्नै श्रीमान्‌को) हत्या गराउनु? त्यस्तो भए घुम्न किन जानु? म (भारतका गृहमन्त्री) अमित शाहजीलाई अपील गर्छु- यसमा सीबीआई अनुसन्धान गरिनुपर्छ। मेघालय प्रहरीले (झुटो) कथा बनाएको छ।’

उता राज्यमन्त्री अलेक्ज्यान्डर लालु हेकले भने सोनमका बुबाको भनाइको निन्दा गरेका छन्।

उनले भने, मेघालय प्रहरीले यो मामिलामा धेरै राम्रो तरिकाले अनुसन्धान गरिरहेको छ र राज्यको छवि बिगार्नेहरूविरुद्ध मानहानिको मुद्दा दायर गरिनुपर्छ।

अर्कातर्फ मृतक राजा रघुवंशीकी आमा उमा रघुवंशीले भने आफ्ना छोराको हत्या गर्नेहरूलाई कडाभन्दा कडा सजाय गर्न माग गरेकी छन्।

उनले भनिन्, 'राजा र सोनमको विवाह सहमतिमा भएको थियो र सोनमले नै मेघालय जाने योजना बनाएकी थिइन्। राजाले सोनमले आफ्नो टिकट बुक गरेको बताएका थिए।'

उमा रघुवंशीले पनि सीबीआई अनुसन्धानको लागि अपिल गरेकी छन्।

सीबीआई- भारत सरकारको प्रमुख अनुसन्धान एजेन्सी हो। यसको पूरा नाम ‘सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन’ अर्थात् केन्द्रीय अनुसन्धान ब्युरो हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad