अमेरिकाले इजरायलले इरानमा गरेको आक्रमणमा आफू सामेल नरहेको बताएको छ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गरी भनेका छन्, ‘आज राति इजरायलले इरानविरुद्ध एकतर्फी कारबाही गरेको छ। हामी इरानविरुद्धको आक्रमणमा संलग्न छैनौँ र हाम्रो सर्वोच्च प्राथमिकता यस क्षेत्रमा रहेका अमेरिकी सेनाको सुरक्षा गर्नु हो।’
उनले अगाडि भनेका छन्, ‘इजरायलले हामीलाई भनेको छ- यो कारबाही उनीहरूको आत्मरक्षाको लागि आवश्यक थियो।’
अमेरिका विदेशमन्त्री रुबियोले राष्ट्रपति ट्रम्प र प्रशासनले आफ्ना सेनाको सुरक्षा गर्न र यस क्षेत्रमा हाम्रा साझेदारहरूसँग नजिकको सम्पर्कमा रहन सबै आवश्यक कदम चालेको जानकारी पनि गराएका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘म यो स्पष्ट पार्न चाहन्छु- इरानले अमेरिकी हित वा कर्मचारीहरूलाई लक्ष्य गर्नु हुँदैन।’
Statement from Secretary of State Marco Rubio
“Tonight, Israel took unilateral action against Iran. We are not involved in strikes against Iran and our top priority is protecting American forces in the region. Israel advised us that they believe this action was necessary for its… pic.twitter.com/5FFesh3dkF — The White House (@WhiteHouse) June 13, 2025
इजरायलका रक्षामन्त्री इजरायल काट्जले शुक्रबार बिहान इजरायली लडाकु विमानले इरानमा हमला गरेको बताएका छन्।
न्युयोर्क टाइम्सका अनुसार इजरायली सेनाले तेहरान वरपरका कम्तीमा ६ सैन्य अड्डामा आक्रमण गरेको हो।
यसैबीच इरानको सरकारी सञ्चारमाध्यमले इजरायलको आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डर हुसेन सलामी मारिएको पुष्टि गरेको छ।
हुसेन सलामी इरानी सेनामा सबैभन्दा महत्त्वपूर्ण पदमा थिए। उनको नेतृत्वमा आईआरजीसीले इरानको ब्यालिस्टिक मिसाइल प्रणाली सम्हाल्ने गर्थ्यो।
अल-जजीराका अनुसार इजरायली आक्रमणमा दुई प्रमुख इरानी आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरानची र फेरेदुन अब्बासी पनि मारिएका छन्।
उता इजरायलले इरानका सेना प्रमुख मोहम्मद बघेरी, अन्य वरिष्ठ सेना अधिकारी र केही वरिष्ठ आणविक वैज्ञानिक पनि आक्रमणमा मारिएको दाबी गरेको छ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आवश्यक परुन्जेल इरानविरुद्ध आक्रमण जारी रहने बताएका छन्।
Shares

प्रतिक्रिया