ग्लोबल


पुटिन र जेलेनस्सकी १५ दिनभित्र भेट्ने

पुटिन र जेलेनस्सकी १५ दिनभित्र भेट्ने

नेपालखबर
भदौ ३, २०८२ मंगलबार ५:५३, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की १५ दिनभित्र भेट्ने भएका छन्।

जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जले ट्रम्पसँगको फोन वार्ताका क्रममा पुटिनले यो भेटघाटमा सहमति जनाएको बताएका हुन्। 

यद्यपि यो भेटघाट कहाँ हुने भन्ने कुरा तय भएको छैन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ताका क्रममा एकछिन रोकेर ट्रम्पले पुटिनलाई फोन गरेका थिए। 

रुसी राष्ट्रपतिको कार्यालय (क्रेमलिन) ले पनि ट्रम्पले बैठक रोकेर पुटिनसँग ४० मिनेट फोनमा कुरा गरेको बताएको छ। यस क्रममा पुटिनले रुस र युक्रेनका प्रतिनिधिहरूबीच भइरहेको प्रत्यक्ष वार्तालाई समर्थन गरेका थिए।

ह्वाइट हाउसमा भएको वार्तमा युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल भएको छ। ट्रम्पले अमेरिका र युरोपेली देशहरूले यसमा मिलेर काम गर्ने बताए।

ट्रम्प-जेलेन्स्की बैठकका १० प्रमुख बुँदा

ट्रम्पले भने...

१. आजको बैठकको नतिजा जे भए पनि युक्रेनका लागि अमेरिकी समर्थन रहिरहनेछ।

२. युक्रेन नेटोको सदस्य नहुन सक्छ, तर अमेरिकाले युक्रेनलाई धेरै राम्रो सुरक्षा प्रदान गर्नेछ।

३. म युक्रेनमा शान्ति कायम राख्न अमेरिकी सेना पठाउनेबारे विचार गर्न सक्छु।

४. युद्ध निश्चित रूपमा समाप्त हुनेछ, तर यो कहिले हुन्छ भन्नेबारे मलाई पूर्ण रूपमा थाहा छैन।

५. रुस, युक्रेन र अमेरिकाको बैठक हुनेछ र त्यसमा युद्ध समाप्त हुने सम्भावना छ।

६. युद्ध यसको समय आएपछि समाप्त हुनेछ। म ठ्याक्कै भन्न सक्दिनँ, तर यो समाप्त हुनेछ।

७. ह्वाइट हाउसमा युरोपेली नेताहरू र जेलेन्स्कीलाई भेटेपछि म पुटिनलाई फोन गर्नेछु।

जेलेन्स्कीले भने...

१. युद्ध अन्त्य गर्न कूटनीतिक बाटो अपनाउन तयार छु, भूमि आदानप्रदान स्वीकार्य छैन।

२. युद्ध समाप्त भएपछि मात्र राष्ट्रपति चुनाव हुन सक्छ। युद्ध चलिरहेका बेला यो सम्भव छैन।

३. युक्रेनको सुरक्षाका लागि अमेरिकाका हतियार धेरै महत्त्वपूर्ण छन् र कसैसँग पनि त्यस्तो हवाई रक्षा प्रणाली छैन।

ट्रम्प, जेलेन्स्की र अन्य युरोपेली नेताहरूबीच ह्वाइट हाउसमा धेरैवटा बैठक  भए। ह्वाइट हाउसले यससँग सम्बन्धित जानकारी मिडियाबाट टाढा राखेको छ।

राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनसँग द्विपक्षीय बैठक र त्यसपछि त्रिपक्षीय बैठकको प्रस्ताव गरेको बताएका छन्। 

ट्रम्पसँगको भेटपछि पत्रकार सम्मेलनमा जेलेन्स्कीले पुटिनसँगको कुनै पनि प्रकारको बैठकका लागि तयार रहेको बताए।

जेलेन्स्कीले त्रिपक्षीय बैठकमा भाग लिने बताए, तर यो पहिलो बैठक कसरी जान्छ भन्नेमा निर्भर गर्ने उनको भनाइ छ।

जेलेन्स्कीले आफूसँग द्विपक्षीय बैठकबारे पूर्ण जानकारी भने नभएको बताए। उनले भने, म बैठकका लागि कुनै पनि सर्त राख्निनँ तर पुटिनले सर्तहरू राख्न सक्छन्।

जेलेन्स्कीले थपे, म पूर्ण रूपमा निश्चित छु कि हामी भेट्नुपर्छ र युद्ध अन्त्य गर्ने बाटोमा अगाडि बढ्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad