अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्यका विषयमा सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरे।
यस विषयमा युरोपेली नेताहरूले आफ्ना धारणा राखेका छन्।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले वार्ता ‘रचनात्मक’ भएको र ‘सुरक्षा ग्यारेन्टी सहित संवेदनशील विषय’मा छलफल भएको बताए।
बेलायतका प्रधानमन्त्री किअर स्टारमरले सुरक्षा ग्यारेन्टी र रुस, युक्रेन र अमेरिकासँग त्रिपक्षीय बैठक 'ऐतिहासिक' कदम हुने बताए।
जर्मन चान्सलर फ्रेडरिक मेर्जले रुससँग कुनै पनि बैठक गर्नुअघि युद्धविरामको आवश्यकतामा जोड दिँदै ट्रम्पलाई भने, ‘यसमा काम गरौँ र रुसलाई दबाब दिने प्रयास गरौँ।’
यस्तै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि वार्ता सम्पूर्ण युरोपको सुरक्षाको विषय भएको उल्लेख गर्दै युद्धविरामका लागि मर्जको आह्वानलाई दोहोर्याए।
इटालीका प्रधानमन्त्री जर्जियो मेलोनीले सबैभन्दा महत्त्वपूर्ण प्रश्नमध्ये एक "यो घटना फेरि नहोस् भनेर कसरी सुनिश्चित गर्ने भन्ने कुरा शान्तिका लागि पहिलो सर्त भएको बताइन्।
नेटोका महासचिव मार्क रुटले युक्रेनका पूर्वाधारलाई निसाना बनाउने अवस्था रोक्न प्रयास गरिनुपर्ने बताए।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले अपहरण गरिएका युक्रेनी बालबालिकाको फिर्तालाई उच्च प्राथमिकता दिन आह्वान गरिन्।
‘आमा र हजुरआमाजस्तै प्रत्येक बालबालिका आफ्नो परिवारमा फर्कनुपर्छ’, उनले भनिन्।
भएन ठोस सहमति
अमेरिकाका राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग सोमबार ह्वाइट हाउसमा गरेको भेटवार्तामा रुस र युक्रेनबीच युद्धविरामबारे कुनै सहमति भएन।
बरु ट्रम्पले यसो भने, ‘अहिले यति चाँडै युद्धविराम सम्भव छैन।’
यद्यपि, बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
ट्रम्पले भने, ‘अमेरिका र युरोपेली देशहरू यसमा मिलेर काम गर्नेछन्।’
साथै रुसी राष्ट्रपति कार्यालय (क्रेमलिन) ले ट्रम्पले बैठक रोकेर आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनसँग ४० मिनेट फोनमा कुरा गरेको बताएको छ।
यस क्रममा पुटिनले रुस र युक्रेनका प्रतिनिधिहरूबीचको प्रत्यक्ष वार्तालाई समर्थन गरे।
जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जले ट्रम्पसँगको फोन संवादमा पुटिन १५ दिनभित्र जेलेन्स्कीलाई भेट्न सहमत भएको बताएका छन्।
जेलेन्स्कीले पनि पुटिनसँग भेटघाटको लागि तयार रहेको बताएका छन्। तर भेटघाट कहाँ हुने भन्ने कुरा तय भइसकेको छैन।
ट्रम्प-जेलेन्स्की बैठकका १० प्रमुख बुँदा
ट्रम्पले भने...
१. आजको बैठकको नतिजा जे भए पनि युक्रेनका लागि अमेरिकी समर्थन रहिरहनेछ।
२. युक्रेन नेटोको सदस्य नहुन सक्छ, तर अमेरिकाले युक्रेनलाई धेरै राम्रो सुरक्षा प्रदान गर्नेछ।
३. म युक्रेनमा शान्ति कायम राख्न अमेरिकी सेना पठाउनेबारे विचार गर्न सक्छु।
४. युद्ध निश्चित रूपमा समाप्त हुनेछ, तर यो कहिले हुन्छ भन्नेबारे मलाई पूर्ण रूपमा थाहा छैन।
५. रुस, युक्रेन र अमेरिकाको बैठक हुनेछ र त्यसमा युद्ध समाप्त हुने सम्भावना छ।
६. युद्ध यसको समय आएपछि समाप्त हुनेछ। म ठ्याक्कै भन्न सक्दिनँ, तर यो समाप्त हुनेछ।
७. ह्वाइट हाउसमा युरोपेली नेताहरू र जेलेन्स्कीलाई भेटेपछि म पुटिनलाई फोन गर्नेछु।
जेलेन्स्कीले भने...
१. युद्ध अन्त्य गर्न कूटनीतिक बाटो अपनाउन तयार छु, भूमि आदानप्रदान स्वीकार्य छैन।
२. युद्ध समाप्त भएपछि मात्र राष्ट्रपति चुनाव हुन सक्छ। युद्ध चलिरहेका बेला यो सम्भव छैन।
३. युक्रेनको सुरक्षाका लागि अमेरिकाका हतियार धेरै महत्त्वपूर्ण छन् र कसैसँग पनि त्यस्तो हवाई रक्षा प्रणाली छैन।
Shares

प्रतिक्रिया