ग्लोबल


भेनेजुएलामा ६.३ म्याग्निच्युडको भूकम्प

भेनेजुएलामा ६.३ म्याग्निच्युडको भूकम्प

नेपालखबर
असोज ९, २०८२ बिहिबार ११:४२, काठमाडौँ

उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु जुलिया राज्यको तेलसहर मेने ग्रान्डेबाट १४ किलोमिटर टाढा र २७ किलोमिटर गहिराइमा थियो। यो क्षेत्र थोरै जनसंख्या भएको मानिन्छ।

भूकम्प राजधानी काराकसमा पनि महसुस गरिएको थियो। राजधानी काराकस केन्द्रबिन्दुबाट ६ सय किलोमिटरभन्दा टाढा छ। केही भवन हल्लिएका कारण धेरै बासिन्दा आफ्ना अपार्टमेन्ट छाडेर बाहिर निस्किन बाध्य भएको एएफपी पत्रकारहरूले जनाएका छन्।

यूएसजीएसले भूकम्पबाट सुनामीको खासै खतरा नभएकाले तयारीको आवश्यकता नरहेको जनाएको छ।

यसअघि केही घण्टाअघि उही क्षेत्रमा ६.२ म्याग्निच्युडको अर्को भूकम्प आएको थियो, जुन छिमेकी कोलम्बिया र क्यारिबियनका अरुबा, कुराकाओ र बोनेयर टापुमा समेत महसुस गरिएको थियो। तर तत्काल ठूलो क्षतिको कुनै खबर आएको छैन।

भेनेजुएलामा शक्तिशाली भूकम्प सामान्यतया कमै आउने भएकाले काराकस र माराकाइबोलगायत सहरमा यसपटकको कम्पनले चेतावनी जारी गरिएको थियो। मानिसहरू सडकमा उत्रिए, तर गृहमन्त्री डायोस्डाडो क्याबेल्लोले राज्य टेलिभिजनमार्फत भूकम्प ‘उल्लेखनीय संरचनात्मक क्षतिबिना’ भएको बताए। 

लगभग ८० प्रतिशत भेनेजुएलाली भूकम्पीय क्षेत्रमा बस्छन्।

सन् १९९७ मा सुक्रे राज्यको क्यारियाकोमा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएपछि हालसम्म ठूलो घटना भएको थिएन।

त्यसअघि सन् १९७६ मा काराकसमा आएको भूकम्पमा करिब तीन सय जनाको मृत्यु र दुई हजार घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad