भारत प्रशासित प्रदेश लद्दाखका सामाजिक कार्यकर्ता सोनम वाङचुकलाई शुक्रबार पक्राउ गरिएको छ।
भारतीय सञ्चारमाध्मयका अनुसार दुई दिनअघि लद्दाखको लेहमा भएको हिंसात्मक प्रदर्शनमा भारत सरकारले उनलाई जिम्मेवार ठहर्याएको हो।
वाङचुकको पक्राउपछि लेहमा इन्टरनेट बन्द गरिएको छ।
सेप्टेम्बर २४ मा लेहमा भएको हिंसापछि लगातार तेस्रो दिन कर्फ्यु लगाइएको छ। स्कुल र कलेज शनिबारसम्मका लागि बन्द गरिएका छन्।
लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन र छैटौँ अनुसूचीमा समावेश गर्न माग गर्दै भएको विरोध प्रदर्शनका क्रममा लेहमा हिंसा भड्किएको थियो।
जसमा परी चार युवाको मृत्यु भएको थियो भने ४० प्रहरीसहित ८० जना घाइते भएका थिए। अहिलेसम्म ६० जना पक्राउ परेका छन्।
गत बुधबार प्रदर्शनका क्रममा आक्रोशित युवाहरूले ढुंगा प्रहार गरेपछि प्रहरीसँग झडप भएको थियो। त्यस क्रममा लेहमा रहेको भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी पनि गरिएको थियो।
त्यसबेलै भारतको गृह मन्त्रालयले विज्ञप्ति जारी गरी वाङचुकले नेपालमा हालै भएको जेन-जेड आन्दोलनको उदाहरण दिएर भिडलाई उक्साएको आरोप लगाएको थियो।
Shares

प्रतिक्रिया