ग्लोबल


अमेरिकी सरकारमा सुरु भयो ‘सटडाउन’, अब के हुन्छ?

अमेरिकी सरकारमा सुरु भयो ‘सटडाउन’, अब के हुन्छ?

नेपालखबर
असोज १५, २०८२ बुधबार १३:०, काठमाडौँ

अमेरिकामा माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास असफल भएपछि गभर्न्‌मन्ट सटडाउनको स्थिति उत्पन्न भएको छ।

बीबीसीका अनुसार सेप्टेम्बर ३० मध्यराति औपचारिक रूपमा 'सटडाउन' सुरु भएको हो। यसको अर्थ अब सरकारका धेरै काम अस्थायी रूपमा रोकिने छन्।

यस्तो स्थिति आउनुमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन र विपक्षी डेमोक्र्याट पार्टीले एकअर्कालाई दोष लगाएका छन्।

अमेरिकामा सन् २०१८-१९ पछि पहिलोपटक 'सटडाउन'को स्थिति उत्पन्न भएको हो। 

यसैबीच राष्ट्रपति ट्रम्पले अब सरकारले सामूहिक रूपमा तथा फिर्ता नहुने गरी कर्मचारी निकाला गर्न सक्ने चेतावनी दिएका छन्।

सटडाउनका बेला सामान्यतया अत्यावश्यक सेवा निरन्तर सञ्चालन हुने भए पनि केही कर्मचारीले तलब नपाई काम गर्नुपर्ने हुन सक्छ।

अमेरिकामा अत्यावश्यक नमानिएका कर्मचारीलाई सरकारले बेतलबी बिदामा राख्ने अभ्यास छ। जसले गर्दा खाद्यसेवा, पूर्वप्राथमिक विद्यालय, विद्यार्थीलाई कर्जा दिने कार्यक्रम तथा राष्ट्रिय निकुञ्ज सञ्चालनलगायतका काम पूर्ण वा आंशिक रूपमा बन्द हुन सक्छन्।

यद्यपि विगतमा 'सटडाउन'का समयमा बेतलबी बिदामा राखिएका कर्मचारीलाई स्थिति सहज भएपछि उक्त अवधिको तलब दिइएका उदाहरण छन्।

तर यसपटक राष्ट्रपति ट्रम्पले धेरै कर्मचारीलाई फिर्ता नगर्ने गरी कामबाट हटाइने चेतावनी दिएको अवस्था छ। 

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका सांसदले बजेटसम्बन्धी विधेयक थपघट नगरी सिनेटबाट पारित गर्न चाहेका थिए। यसका लागि ६० सदस्यको समर्थन चाहिन्थ्यो। जबकि रिपब्लिकनका सांसद ५३ जना मात्र छन्। अत: विधेयक पारितका लागि विपक्षी डेमोक्र्याटिक पार्टीको सहयोग अपरिहार्य थियो। 

यसैकारण स्वास्थ्य सेवालगायत विषयमा आफ्ना माग पूरा गराउन विपक्षीले असहयोग गरेको बताइएको छ। 

ट्रम्प सरकारले मेडिकएड, सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) र नेसनल इन्स्टिट्यूट अफ हेल्थलगायत स्वास्थ्यसम्बन्धी निकायको बजेट कटौती गरेको छ, जुन विपक्षीलाई मन परेको छैन। 

तर सत्तारुढ रिपब्लिकनले यसमा कुनै चासो दिइरहेको छैन। बजेट पारित नभएर सरकारी काम रोकिँदा विपक्षीविरुद्ध नै जनआक्रोश बढ्ने अनुमान उसले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad