सात वर्षदेखि चीनको राष्ट्रिय सुरक्षा आयोगका उपनिर्देशक रहेका लिउ हाइक्सिङ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको प्रमुखमा नियुक्त भएका छन्।
चीनका अनुभवी कूटनीतिज्ञ तथा कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्य लिउले अन्तर्राष्ट्रिय विभागको मन्त्रीका रुपमा यस अघिका प्रमुख लिउ जियानचाओको भूमिका सम्हाल्ने छन्।
लिउ जियानचाओ भ्रष्टाचार काण्डमा परेपछि उनलाई विभागको मन्त्री पदबाट हटाइएको थियो। करिब नौ महिनाअघि अल्जेरिया भ्रमणबाट फर्केपछि हिरासतमा लिइएका लिउ जियानचाओ जुलाईको अन्त्यदेखि सार्वजनिक रूपमा देखिएका छैनन्। उनी भ्रष्टाचार काण्डमा जेल परेको बुझिएको छ।
चीनको युरोपेली मामिलाका विशेषज्ञ ६२ वर्षीय लिउ हाइक्सिङले विगत तीन दशकसम्म विभिन्न कूटनीतिक भूमिकामा काम गरिसकेका छन्। २०१८ देखि उनी राष्ट्रिय सुरक्षा आयोगको कार्यालयका उपनिर्देशक थिए।
१९८५ मा विदेश मन्त्रालयमा सामेल भएर अनुवाद विभागबाट काम सुरु गरेका उनी उच्च अध्ययनका लागि फ्रान्स गए। त्यसपछि उनले पहिले संयुक्त राष्ट्र संघमा चिनियाँ मिसनमा र पेरिसस्थित दूतावासमा काम गरिसकेका छन्।
बेइजिङ फर्केपछि उनले विदेश मन्त्रालयको युरोपेली मामिला विभागको उपनिर्देशक र तत्कालीन निर्देशकको रूपमा काम गरे। २०१५ मा विदेश मामिला सहायक मन्त्री पदमा पदोन्नति भए।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले बेइजिङको कूटनीतिक रणनीतिमा महत्त्वपूर्ण भूमिका खेल्छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार मन्त्रीस्तरीय यो विभागले अन्य देशका ६०० भन्दा बढी राजनीतिक दलहरूसँग सम्बन्ध स्थापित गरेको छ।
६१ वर्षीय लिउ जियानचाओ जुन २०२२ मा अन्तर्राष्ट्रिय विभागको प्रमुख बनेका थिए। कोभिड महामारीपछिको कूटनीतिक अभियानमा विदेशमा चीनको छवि सुधार गर्न उनले एशिया, युरोप र अफ्रिकाभरि व्यापक रूपमा भ्रमण गरेका थिए।
नेपाल भ्रमण गर्दा र बेइजिङमा नेपालका प्रमुख पार्टीका प्रतिनिधिमण्डलहरूसँग भेटवार्ता गर्ने क्रममा लिउ जियानचाओले नेपाली नेताहरूसँग राम्रो सम्बन्ध बनाएका थिए। पछिल्लो समय चीनका विदेशमन्त्री वाङ यीपछि लिउ जियानचाओ नेपाली नेताहरूबीच बढी निकट मानिन्थे।
Shares

प्रतिक्रिया