चीनको ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रतीकको रूपमा चिनिने शेन्ङ्याङ सम्राटीय दरबार अहिले पनि विश्वभरका पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
यो दरबार छिङ राजवंशका संस्थापक नुरहाची (सम्राट ताइजु) र उनका उत्तराधिकारी हुआङताइजि (सम्राट ताइजोङ) द्वारा सत्रौँ शताब्दीमा निर्माण गरिएको हो।
शेन्ङ्याङ दरबार छिङ राजवंशको जन्मस्थल मानिन्छ। सन् १६१६ मा नुरहाचीले लियाओनिङ प्रान्तको हेथुआला क्षेत्रमा ‘महान् जिन शासन’ स्थापना गरी आफूलाई खान घोषणा गरेपछि उनले सन् १६२५ मा राजधानी लियाओयाङबाट शेन्ङ्याङ सार्दै दरबार निर्माण सुरु गरेका थिए।
पछि हुआङताइजिले सन् १६३६ मा यही दरबारमा सिंहासनारोहण गरी राजवंशको नाम ‘महान् छिङ’ राखेका थिए।
बेइजिङमा राजधानी सारिएपछि पनि शेन्ङ्याङ दरबारलाई वैकल्पिक शाही निवासको रूपमा संरक्षण दिइयो। सम्राटहरू काङ्सी, छियानलोङ, जियाचिङ र दाओगुआङले सन् १६७१ देखि १८२९ सम्म पूर्वीय भ्रमणका क्रममा यही दरबारमा बसोबास गर्दै पुर्खा पूजासम्बन्धी विभिन्न धार्मिक तथा सांस्कृतिक समारोहहरू आयोजना गर्थे।
करिब ६० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो दरबारमा ११४ वटा पुराना भवन रहेका छन्। जसमा नुरहाची कालका दाझेङ हल र शिवार मञ्च, हुआङताइजि कालका दाछिङ गेट, छोङ्झेङ हल, फेङह्वाङ टावर र छिङनिङ दरबार विशेष रूपमा प्रसिद्ध छन्।
सम्राट छियानलोङको शासनकालमा बनेका वेंसु मण्डप र प्रदर्शन मञ्चले दरबारको भव्यता अझ बढाएको छ।
सन् १९२५ देखि सर्वसाधारणका लागि संग्रहालयको रूपमा खोलिएको शेन्ङ्याङ सम्राटीय दरबारलाई सन् १९६१ मा चीनको पहिलो चरणको राष्ट्रिय सांस्कृतिक सम्पदा संरक्षण सूचीमा सूचीकृत गरिएको थियो।
सन् २००४ मा संयुक्त राष्ट्रसंघले यस दरबारलाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ।
आज यो दरबार चीनको इतिहास, वास्तुकला र मान्छु संस्कृतिको अद्वितीय प्रतीकका रूपमा चिनिन्छ। जसले देश र विदेशका हजारौँ आगन्तुकलाई आफ्नो आकर्षक ऐतिहासिक सुन्दरताले मोहित बनाइरहेको छ।




















Shares

प्रतिक्रिया