तालिबान अधिकारीहरूले पाकिस्तानले शुक्रबार अफगानिस्तानको सीमावर्ती प्रान्त पक्तिकामा बम विस्फोट गराएर युद्धविरामको उल्लंघन गरेको बताएका छन्।
तालिबान सरकारका एक प्रान्तीय अधिकारीले बीबीसी अफगान सेवालाई बताएअनुसार शुक्रबार, ‘पाकिस्तानले पक्तिका प्रान्तको अर्घुन जिल्लास्थित एउटा घरमा बम विस्फोट गराएको हो। जसमा परी केही सर्वसाधारणको मृत्यु भएको छ भने केही घाइते भएका छन्।’
यसैबीच अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले पक्तिका प्रान्तमा पाकिस्तानले गरेको आक्रमणमा तीन क्रिकेट खेलाडीको मृत्यु भएको बताएको छ।
एक वरिष्ठ तालिबान अधिकारीले नाम नछाप्ने सर्तमा एएफपी समाचार एजेन्सीलाई बताएअनुसार पाकिस्तानले अफगानिस्तानको सीमावर्ती पक्तिका प्रान्तमा कारबाही सुरु गरेको छ।
उनले भने, ‘पाकिस्तानले युद्धविरामको उल्लंघन गर्यो र पक्तिकाका तीन स्थानमा बम विस्फोट गरायो। अफगानिस्तानले जवाफ दिनेछ।’
युद्धविराम उल्लंघन वा अफगानिस्तानमा भएका कुनै पनि आक्रमणबारे अहिलेसम्म पाकिस्तानबाट कुनै प्रतिक्रिया आएको छैन।
यसअघि तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम भएको बताएका थिए।
धेरै झडपपछि बुधबार पाकिस्तान र अफगानिस्तानबीच ४८ घण्टा युद्धविराम गर्न सहमत भएका थिए।
कतारको मध्यस्थतामा दुई देशबीच दोहामा वार्ता जारी छ।
Shares

प्रतिक्रिया