कोरोना भाइरस (कोभिड—१९) बाट आइतबारसम्म नेपाल बाहिर ४९ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ, उच्चस्तरीय स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ३३ नेपालीले ज्यान गुमाएका छन्।
कोरोनाका कारण अमेरिकामा ८, युएईमा २ जना नेपालीले ज्यान गुमाएको समितिको प्रतिवेदनमा उल्लेख छ। टर्की, आयरल्यान्ड, नेदरल्याण्ड्स र जापानमा एक—एक नेपालीको मृत्यु भएको छ। यो तथ्यांक नेपाली समयअनुसार आइतबार बिहानसम्मको हो।
विदेशस्थित अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली दूतावास, एनआरएनए शाखा तथा स्थानीय संघसंस्थाको सहयोगमा समितिले यो तथ्यांक संकलन गरेको हो।
कुन देशमा कतिको मृत्यु, कति संक्रमित? हेर्नुहोस् चार्ट:

समितिको तथ्यांकअनुसार विदेशमा रहेकामध्ये कूल १ हजार ९ सय ७४ नेपाली कोरोनाबाट संक्रमित छन्। यो तथ्यांक नेपालमा संक्रमित हुनेहरुको संख्या बाहेक हो। संक्रमित हुनेमा विदेशस्थित अस्पतालमा कार्यरत ७० भन्दा बढी नेपाली चिकित्सक पनि छन्।
कोरोनाबाट सबैभन्दा बढी नेपाली अमेरिकामा संक्रमित भएका छन्। ‘त्यहाँ एक हजारभन्दा बढी नेपाली संक्रमित भएका छन्’, समितिले भनेको छ, ‘दोस्रो धेरै नेपाली संक्रमित हुने देशमा ब्रिटेन रहेको छ।’ ब्रिटेनमा ७०० भन्दा बढी नेपाली संक्रमित छन्।
समितिका अनुसार विदेशमा अहिलेसम्म ४३४ नेपाली संक्रमित भएपछि सञ्चो भएका छन्।
कुन क्षेत्रमा कति नेपाली संक्रमित? हेर्नहोस् चार्ट

‘विश्वभरिका नेपालीमध्ये २४ देशमा रहेकाहरुमा कोरोना देखिएको छ। हामी त्यसको अनुसन्धान गरिरहेका छौं’, एनआरएनए महासचिव डा.हेमराज शर्मा भन्छन्, ‘कोरोनाका कारण नेपालीमा परेका अन्य असरहरुबारे समेत अध्ययन गर्ने काम भइरहेको छ।’
महासचिव डा. शर्माका अनुसार कोरोना महामारी पछि संघले ४१ देशमा रहेका शाखामार्फत ९ सय स्वयसेवक परिचालन गरेको छ। त्यसबाट विश्वभरका करिब ३० हजार गैरआवासीय नेपालीले प्रत्यक्ष—अप्रत्यक्ष रुपमा राहत पाएका छन्।
Shares

प्रतिक्रिया