अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा जति विश्वका अन्य कुनै पनि देशसँग आणविक हतियार नभएको दाबी गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘यो उपलब्धि मेरो पहिलो कार्यकालमा हासिल भएको हो, जब मौजुद हतियार पूर्ण रूपमा आधुनिकीकरण र नवीकरण गरियो।’
उनले आणविक हतियारको ‘विशाल विनाशकारी शक्ति’का कारण आफूले त्यसो गर्न नचाहेको तर ‘अर्को विकल्प नभएको’ उल्लेख गरेका छन्।
ट्रम्पका अनुसार आणविक हतियारको सूचीमा रुस दोस्रो र चीन तेस्रो स्थानमा छन्। तर चीन अर्को पाँच वर्षभित्र बराबरीको अवस्था आउन सक्छ।
उनका अनुसार अन्य देशको आणविक परीक्षण कार्यक्रमलाई ध्यानमा राख्दै उनले युद्ध विभागलाई अमेरिकी आणविक हतियार परीक्षण सुरु गर्न निर्देशन दिएका छन्। यो प्रक्रिया तुरुन्तै सुरु हुनेछ।
यसअघि अक्टोबर २६ का दिन रुसी सेनाका सर्वोच्च पदस्थ जनरलले आणविक शक्तिले चल्ने बुरेभेस्टनिक क्रुज क्षेप्यास्त्र परीक्षण गरेको बताएका थिए।
जनरल स्टाफका प्रमुख गेरासिमोभले टेलिभिजन बैठकमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने, ‘हामीले आणविक शक्तिले चल्ने क्षेप्यास्त्रको धेरै घण्टाको उडान गर्यौँ। क्षेप्यास्त्रले १४ हजार किलोमिटर (८,७०० माइल) दूरी पार गर्यो, जुन यसको अधिकतम दायरा होइन।’
यो कम उचाइको क्षेप्यास्त्र हो। यो पहिलोपटक सन् २०१८ मा घोषणा गरिएको थियो। यो असीमित क्षमता भएको र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट बच्न सक्षम भएको दाबी गरिएको छ।
जनरल गेरासिमोभले अक्टोबर २१ मा परीक्षणका क्रममा क्षेप्यास्त्र १५ घण्टासम्म हावामा उडेको बताए।
पश्चिमी विज्ञहरूले भने पहिले नै क्षेप्यास्त्रको रणनीतिक महत्त्व र सफल परीक्षण भनी रुसले गरेको दाबीमा शंका व्यक्त गरेका छन्।
पुटिनले सन् २०२३ मा क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेका थिए। यद्यपि यो दाबी स्वतन्त्र रूपमा प्रमाणित हुन नसकेको बीबीसीले उल्लेख गरेको छ।
यसैबीच ट्रम्पले अमेरिकासँग सबैभन्दा धेरै आणविक हतियार भएको दाबी गरे पनि सन् २०२२ को तथ्यांक हेर्दा रुस पहिलो स्थानमा देखिन्छ।
गत वर्ष रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारको प्रयोगसम्बन्धी नीति परिवर्तन अनुमोदन गरेका थिए।
रुसको त्यस आणविक नीतिमा भनिएको छ, ‘आणविक हतियार नभएको देश आफैँले आणविक हतियारधारी देशसँग सहकार्य गरेर आक्रमण गर्छ भने रुसले यसलाई संयुक्त आक्रमण मान्नेछ।’
युक्रेनसँग जारी युद्धमा रुसलाई आशंका थियो- संयुक्त राज्य अमेरिका र बेलायत दुवै युक्रेनसँग सेनामा सामेल हुन सक्छन्।
३२ राष्ट्रको सैन्य गठबन्धन नेटोले पनि युक्रेनलाई समर्थन गरिरहेको छ।
रुसको आणविक नीतिमा यो पनि भनिएको छ, ‘रुसमाथि अर्को देशबाट क्षेप्यास्त्र, ड्रोन वा हवाई आक्रमण भएको थाहा भयो भने आणविक हतियारले जवाफ दिइनेछ।’
रुसको आणविक नीतिमा अन्य परिस्थितिका विषयमा पनि उल्लेख गरिएको छ।
त्यसमा भनिएको छ, कसैले नयाँ सैन्य गठबन्धन बनाउँछ, ‘वर्तमान गठबन्धन विस्तार गर्छ, सैन्य पूर्वाधार रुसको सिमाना नजिक ल्याउँछ वा रुसको सिमानाको नजिक कुनै पनि सैन्य गतिविधि गर्छ भने आणविक हतियार प्रयोग गर्न सकिन्छ।’
Shares

प्रतिक्रिया