ताजिकिस्तानले आफ्नो सीमा क्षेत्रमा अफगानिस्तान क्षेत्रबाट गरिएको ड्रोन आक्रमणमा चिनियाँ कम्पनीका तीन कर्मचारी मारिएको दाबी गरेको छ।
विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी ड्रोन हमला आफ्नो खातलान प्रान्तको सीमा क्षेत्रमा भएको बताएको हो।
यस आरोपमा अफगानिस्तानबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन, यद्यपि यसविरुद्ध चीनले एक्सन लिइसकेको छ।
ताजिकिस्तानको विदेश मन्त्रालयले ग्रेनेड र हतियारले भरिएको ड्रोन हानिएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘ताजिकिस्तानले अफगानिस्तानसँगको सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न प्रयास गरिरहेको छ, तर अफगान भूमिमा आपराधिक समूहका विनाशकारी गतिविधि जारी छन्।’
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले लेखेको छ, ‘अफगानिस्तानस्थित चिनियाँ दूतावासले शुक्रबार रिपोर्ट गरेको छ- हालै अफगानिस्तान र ताजिकिस्तानको सीमामा अर्को घटना भएको छ, परिणामस्वरूप केही चिनियाँ नागरिक मारिएका र घाइते भएका छन्।’
दूतावासले प्रभावित क्षेत्रमा सुन खानी गतिविधिमा संलग्न चिनियाँ कम्पनी र कर्मचारीलाई सकेसम्म चाँडो क्षेत्र छाड्न चेतावनी दिएको छ।
आपत्कालीन अवस्थामा स्थानीयलाई तुरुन्तै स्थानीय प्रहरी तथा सहयोगका लागि दूतावासमा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ।
Shares

प्रतिक्रिया