ग्लोबल


सुरुङ सञ्जाल भत्काउने क्रममा ९ प्यालेस्टिनी लडाकु मारिए : इजरायल

सुरुङ सञ्जाल भत्काउने क्रममा ९ प्यालेस्टिनी लडाकु मारिए : इजरायल

नेपालखबर
मंसिर १३, २०८२ शनिबार ७:१०, जेरुसेलम

इजरायली सेनाले शुक्रबार दक्षिणी गाजा पट्टीमा सुरुङ सञ्जाल भत्काउने क्रममा हालै मारिएका नौ जना प्यालेस्टिनी लडाकुको शव फेला परेको बताएको छ।

'पूर्वी राफामा सञ्चालन गरिएको अभियानको क्रममा सेनाले ‘आतङ्कवादी समूहका भूमिगत संरचनामा थप नौ जनाको अवशेष फेला पारेको छ', सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ', 'यसअघि पूर्वी राफामा भूमिगत आतङ्कवादी संरचनाबाट भाग्ने प्रयासमा ३० भन्दा बढी आतङ्कवादीहरू मारिएका थिए।'

धेरै स्रोतहरूले बिहीबार एएफपीलाई दिएको जानकारीमा दक्षिणी गाजाका सुरुङहरूमा, इजरायली सैन्य नियन्त्रणमा रहेका क्षेत्रहरू मुनि लुकेर बसेका दर्जनौँ हमास लडाकुहरूको भाग्यबारे वार्ता भइरहेको छ।

बुधबार हमासले मध्यस्थता गरिरहेका देशहरूलाई सुरक्षित मार्ग अनुमति दिन इजरायलमाथि दबाब दिन आह्वान गरेको थियो। इस्लामवादी समूहले सुरुङबाट सुरक्षित अवतरणका लागि आग्रह गरिएको सार्वजनिक रूपमा पहिलो पटक स्वीकार गरेको छ।

इजरायल र हमासबीच अमेरिकाको पहलमा इजिप्ट, टर्की र कतार मध्यस्थमा भएको युद्धविराम अक्टोबर १० मा लागु भएको थियो। यसका सर्तअनुसार इजरायली सेना गाजा पट्टीभित्र तथाकथित ‘पहेँलो रेखा’ पछाडि फिर्ता भएको थियो। यो युद्धरत क्षेत्रमा पहेँलो ‘कङ्क्रिट ब्लक’ले चिन्हित सीमा हो।

हमासका लडाकुहरू पहेँलोे घेराको इजरायली नियन्त्रित पक्षमा रहेका सुरुङहरूमा फसेका छन्।

एक मध्यस्थ देशका स्रोतले बिहीबार एएफपीलाई पुष्टि गरेअनुसार संयुक्त राज्य अमेरिका, इजिप्ट, टर्की र कतारले ‘राफाह नजिकको पहेँलो रेखा पछाडिका सुरुङहरू छोड्न हमासका लडाकुहरूलाई अनुमति दिने सम्झौतामा पुग्ने उद्देश्यले’ छलफल गरिरहेका छन्।

‘वर्तमान प्रस्तावले उनीहरूलाई इजरायली नियन्त्रणमा नभएका क्षेत्रहरूमा सुरक्षित मार्ग प्रदान गर्नेछ, जसले यो थप उल्लङ्घन वा युद्धविरामको पतनतर्फ लैजाने द्वन्द्व बिन्दु नबनोस् भनी सुनिश्चित गर्न मद्दत गर्नेछ’, स्रोतले थप्यो।

गाजाका एक प्रमुख हमास सदस्यले एएफपीलाई बताएअनुसार समूहले फसेका उनीहरूको सङ्ख्या ६० देखि ८० को बीचमा रहेको अनुमान गरेको छ।

यस विषयमा एक इजरायली सरकारी प्रवक्ताले यसै महिनाको सुरुमा एएफपीसँग भनेका थिए, ‘प्रधानमन्त्री बेन्जामिन नेतान्याहु (सरकार)ले लडाकुलाई ‘सुरक्षित मार्ग’ का लागि अनुमति दिनुभएको छैन।’

गाजा युद्ध हमासले सन् २०२३ अक्टोबर ७ को इजरायलमाथिको आक्रमणले सुरु भएको थियो। आक्रमणमा कम्तीमा एक हजार २२१ जनाको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसङ्घले विश्वसनीय मानेको गाजाकोे स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गाजामा इजरायलको प्रतिशोधी आक्रमणमा कम्तिमा ६९,७९९ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार युद्धविराम लागू भएदेखि इजरायली गोलीबारीबाट ३५२ प्यालेस्टिनी मारिएका छन्।  (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad