ग्लोबल


अस्ट्रेलियाको ‘बोन्डी बिच’मा बन्दुक हमला, १२ जनाको मृत्यु, २९ घाइते

अस्ट्रेलियाको ‘बोन्डी बिच’मा बन्दुक हमला, १२ जनाको मृत्यु, २९ घाइते

घटनास्थल


नेपालखबर
मंसिर २८, २०८२ आइतबार १८:५९, काठमाडौँ

आइतबार अस्ट्रेलियाको बोन्डी बिच (समुद्र तट) मा हनुक्का मनाइरहेका यहुदीहरूमाथि दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका छन्। 

अस्ट्रेलियाली प्रहरीले गोली लागेर कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने २९ व्यक्ति घाइते भएको जानकारी दिएको छ। 

स्थिति नियन्त्रण गर्न प्रहरीले दुवै आक्रमणकारीलाई गोली हानेको छ। अधिकारीहरूका अनुसार एक आक्रमणकारीको मृत्यु भएको छ भने अर्का गम्भीर भएका छन्।

घटनास्थल

घटनाका भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन्। भिडिओमा उत्तरी बोन्डी बिचमा धेरैवटा शव छरिएको देखिन्छ। 

यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले घटनाले स्तब्ध पारेको बताएका छन्।

उनले राष्ट्रलाई सम्बोधन गर्दै भनेका छन्, ‘यहुदी जनतामाथिको आक्रमण हरेक अस्ट्रेलियालीमाथिको आक्रमण हो।’

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज

उनले अगाडि भनेका छन्, ‘हाम्रो देशमा घृणा, हिंसा र आतंकवादका लागि कुनै ठाउँ छैन। म स्पष्ट पार्न चाहन्छु- हामी यसलाई पूर्ण रूपमा अन्त्य गर्नेछौँ।’

यस्तै इजरायलका राष्ट्रपति इसाक हर्जोगले यसलाई ‘यहुदीहरूमाथिको आतंकवादी आक्रमण’ भनेका छन्।

उनले एक्समा लेखेका छन्, ‘सिड्नीमा रहेका हाम्रा यहुदी दिदीबहिनी तथा दाजुभाइहरूप्रति हाम्रो गहिरो समवेदना छ, जसलाई आतंककारीहरूले पहिलो हनुक्का मैनबत्ती बाल्न लाग्दा आक्रमण गरे।’

इजरायलका राष्ट्रपति इसाक हर्जोग

न्यु साउथ वेल्सका प्रहरी आयुक्त एम लान्योनका अनुसार घटना आइतबार साँझ ६:४७ बजे (अस्ट्रेलियाली समय)  बोन्डी बिचको आर्चर पार्कनजिकै भएको हो।

बीबीसी संवाददाता टेसा वोङका अनुसार, यो घटना 'बोन्डी बिच'को उत्तरी भागमा भिडभाड भएको क्षेत्रमा भएको हो।

उनी भन्छिन्, 'समुद्र तटपछाडिको घाँसे मैदाननजिकै हनुक्का कार्यक्रम भइरहेको थियो। त्यहाँ एउटा पैदल पुल थियो, जुन मानिसहरूले समुद्र तटमा पुग्न प्रयोग गर्थे।'

टेसा वोङका अनुसार गोली चल्नुभन्दा करिब एक घण्टाअघि मात्र उनले त्यो पुल पार गरेकी थिइन्।

उनी भन्छिन्, 'त्यहाँ कम्तीमा २०० जना थिए भने ठूलो आवाजमा संगीत बजिरहेको थियो। अनि विभिन्न गतिविधि भइरहेका थिए।'

अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरीले एक्समा पोस्ट गरेको छ, ‘आज बोन्डी बिचको सार्वजनिक क्षेत्रमा दुई जनाले गोली चलाएपछि प्रहरी अपरेसन चलिरहेको छ।’

घटनास्थलमा प्रहरी

इङ्‌ग्ल्यान्डका पूर्वक्रिकेटर माइकल भन्छन् : म मुस्किलले बाँचेँ

इङ्‌ग्ल्यान्डका पूर्वक्रिकेटर माइकल वोनले आफू मुस्किलले बाँचेको बताएका छन्। उनले रेस्टुरेन्टमा लुकेर आफ्नो ज्यान बचाएको उल्लेख गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बोन्डीको रेस्टुरेन्टभित्र रहँदा डरलाग्दो अनुभव भयो। म अब सुरक्षित रूपमा घर पुगेको छु। आतंककारीहरूको सामना गर्ने आपत्‌कालीन कर्मचारीहरूलाई धेरै–धेरै धन्यवाद। यस घटनाबाट पीडित सबैप्रति मेरो समवेदना र साथ छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad