ग्लोबल


अरब क्रान्तिको १५ वर्ष : लखेटिएका ५ राष्ट्रपतिको हालत के छ?

अरब क्रान्तिको १५ वर्ष : लखेटिएका ५ राष्ट्रपतिको हालत के छ?

अरब क्रान्ति सुरु हुनुभन्दा अघि २०१० मा बेन अली, सालेह र होस्नी मुबारकका साथमा गद्दाफी


नेपालखबर
पुस २, २०८२ बुधबार १७:५०,

ट्युनिसियाका २६ वर्षीय ठेला पसले मोहमद बौअजिजीले आफ्नो ठेला प्रहरीले खोसेपछि विरोधस्वरूप आत्मदाह गरेको ठिक १५ वर्ष भयो।

हतासामा उनले चालेको सो कदमले देशव्यापी आन्दोलन सुरु भयो। लाखौँलाख मान्छे बेरोजगारी, भ्रष्टाचार र थोत्रो राजनीतिक प्रणालीको विरोधमा सडकमा उत्रिए।

२८ दिनमा प्रदर्शनकारीहरूले राष्ट्रपति जिन एल अबिदिन बेन अलीको सत्ता ढल्यो। उनी २३ वर्षदेखि सत्तामा बसिरहेका थिए।

ट्युनिसियाको यो विद्रोहबाट प्रेरित भएर इजिप्ट, लिबिया, यमन र सिरियामा पनि जनता सडकमा ओर्लिए। २०११ का यी घटनालाई अरब क्रान्ति भन्ने गरिन्छ। सो क्रान्तिले अरबका पाँच शक्तिशाली शासकलाई सत्ताच्यूत गरेको थियो। तिनको हालत के भयो त?

ट्युनिसियाका जिन एल अबिदिन बेन अली
अली १९८७ मा प्रधानमन्त्रीका रूपमा सत्तामा आएका थिए। उनले आजीवन राष्ट्रपति हबिब बुरगुइबालाई स्वास्थ्यका कारण शासन गर्न असक्षम रहेको घोषणा गरे र सत्ता हातमा लिए।

सत्तामा पुगेपछि उनले विरोधीहरूको दमन गरे र कठोर शासन लागू गरे। उनले अर्थतन्त्र खुला गरे, जसले आर्थिक वृद्धि त भयो। तर, मुलुक बढ्दो भ्रष्टाचार, असमानता र मिडिया सेन्सरसिपले थिचियो। जसले गर्दा आक्रोश जन्मायो।

प्रहरीले मनपरी गरेको, युवाहरू बेरोजगार भएको, भ्रष्टाचार व्यापक वृद्धि भएको जस्ता कारणले आक्रोश चुलिएका बेला २०१० को डिसेम्बर १७ मा मोहमद बौअजिजीले आत्मदाह गरे।

निरन्तर एक महिना लामो प्रदर्शनपछि जनवरी १४ मा बेन अलीले सरकार विघटन गरे, देशमा संकटकाल लगाए र साउदी अरब भागे।

पछि उनलाई अदालतले अनुपस्थितिमै जन्मकैदको सजाय सुनायो। 

त्यसको आठ वर्षपछि निर्वासनमै रहँदा २०१९ मा साउदी अरबको जेद्दामा उनको मृत्यु भयो। उनी ८३ वर्षका थिए। 

इजिप्टका होस्नी मुबारक
अनबर सादतको हत्यापछि १९८१ मा इजिप्टको सत्तामा आएका थिए होस्नी मुबारक। वायु सेनाका यी पूर्वकमान्डरले सेना र संकटकालीन कानुनको सहारामा शक्ति आफ्नो हातमा लिए। विरोधीहरूलाई दमन गरे, राजनीतिक स्वतन्त्रता खुम्च्याए। र, भ्रष्टाचार बढ्यो।

२५ जनवरी २०११ मा प्रदर्शनकारीहरू बेरोजगारी, गरिबी र राजनीतिक दमनको विरोध गर्दै सडकमा ओर्लिए। मुबारकले सत्ता छाड्नुपर्ने उनीहरूको माग थियो।

१८ दिनको आन्दोलनपछि ११ फेब्रुअरीका दिन उनी राजीनामा दिन बाध्य भए। यससँगै उनको तीन दशक लामो शासन ढल्यो।

मुबारकविरुद्ध सुनुवाइ भयो र अदालतले उनलाई प्रदर्शनकारीहरूको हत्याका लागि दोषी ठहर गर्दै जन्मकैद सुनायो।

तर, उच्च अदालतले सो फैसला रद्द गर्दै पुनः सुनुवाइ गर्न आदेश दियो। सुनुवाइ बाँकी रहँदै उनलाई भ्रष्टाचारमा ६ वर्ष जेल सजाय सुनाइयो। तथापि, खराब स्वास्थ्य र बदलिँदो राजनीतिका कारण उनले अत्यन्त कम समय मात्र जेलमा गुजारे।

२०१७ मा उनलाई निर्दोष ठहर गर्दै रिहा गरियो। २५ फेब्रुअरी २०२० मा ९१ वर्षको उमेरमा कायरोमा उनको मृत्यु भयो।

यमनका अली अब्दुल्लाह सालेह
सालेह यमनका पुराना तानाशाह थिए। उनले यो देशमा ३३ वर्ष शासन चलाएका थिए। १९७८ मा उनी उत्तरी यमनका राष्ट्रपति बनेका थिए भने १९९० पछि एकीकृत यमनको।

जातीय र सैन्य राजनीतिका मास्टरमाइन्ड मानिने उनले यमनमा शासन चलाउनुलाई ‘सर्पको टाउकामा नाच्नु’ हो भनेका थिए। उनले यो क्षेत्रमा बदलिँदो गठबन्धनहरूको फाइदा उठाए। अरब क्रान्तिपछि २०१२ मा सत्ता हस्तान्तरण सम्झौता गरेर बाहिरिन बाध्य भए।

तर, लगत्तै उनले आफ्नो पुरानो शत्रु हुतीसँग गठबन्धन गरे र हुतीलाई राजधानी साना कब्जा गर्न सघाए। यो २०१४ को कुरा थियो।

२०१७ मा गएर उनले हुतीको साथ छाडे। र, हुतीसँग लडिरहेका साउदी अरब नेतृत्वको गठबन्धनसँग सम्झौता गरे। तर, हुतीहरूको आक्रमणमा परी उनी ७५ वर्षको उमेरमा मारिए।

लिबियाका मुअम्मर गद्दाफी
१९६९ मा सैन्य अधिकृत थिए गद्दाफी। तर, उनले राजतन्त्र अन्त्य गरेर सत्ता नै कब्जा गरिदिए। पछि उनले आफूलाई कर्णेलमा बढुवा गरे र जीवनभर सो पदमा कायम रहे।

गद्दाफीले आफूले चाहेजस्तो एउटा शासनप्रणाली विकास गरेका थिए। उनले औपचारिक संस्था नभई क्रान्तिकारी समितिमार्फत शासन चलाए। लिबियाको विशाल तेल भण्डारको रणनीतिक उपयोग गरेर उनले मुलुकमा नियन्त्रण कायम राखे।

दशकौँसम्म उनी अन्तर्राष्ट्रिय समुदायबाट एक्लिएका थिए। तर, सन् २००० पछि उनले आणविक हतियार कार्यक्रम त्यागे र पश्चिमसँग सम्बन्ध जोडे।

एक मानवअधिकारवादी वकिल पक्राउ परेपछि १५ फेब्रुअरी २०११ मा प्रदर्शनकारीहरू बेनगाजीको सडकमा ओर्लिए। अरब क्रान्ति भएका अरु मुलुकमा झैँ यो एउटा झिल्को मात्र थियो। गद्दाफीको हिंसात्मक दमनले शान्तिपूर्ण प्रदर्शनलाई सशस्त्र विद्रोह र गृहयुद्धमा बदलिदियो।

अगस्ट २०११ मा विपक्षी फौजले त्रिपोली कब्जा गर्‍यो। यससँगै उनको शासन धराशायी हुन थाल्यो। अमेरिकी अगुवाइमा नेटोले भीषण हवाइ हमला गर्‍यो। यो आक्रमण निर्णायक साबित भयो।

गद्दाफी आफ्नो गृहनगर सिर्ते फर्किए। जहाँ उनलाई अक्टोबर २० का दिन विद्रोहीहरूले हत्या गरे। यससँगै उनको ४२ वर्षे शासन अन्त्य भयो।

सिरियाका बसर अल असद
असद मात्र ३४ वर्षको उमेरमा सिरियाको सत्तामा आएका थिए। उनको बाबुको मृत्युपछि उनलाई राष्ट्रपति बनाउन संविधान नै संशोधन गरिएको थियो।

उनका बाबु हाफिज अल असद सैन्य अधिकारी थिए, जसले १९७० मा सैन्य कु गरेर सिरियाको सत्ता हत्याएका थिए। हाफिजले केन्द्रीकृत र नियन्त्रित सरकार स्थापना गरेका थिए, जसलाई छोरा बसरले २४ वर्ष नेतृत्व गरे।

केही किशोरहरूले स्कुलको भित्तामा सरकारविरोधी नारा लेखेपछि सिरियामा आन्दोलन सुरु भएको थियो। देशभर प्रदर्शन फैलियो र सरकारले कठोर दमन गर्‍यो। जसले अन्ततः गृहयुद्धकै रूप लियो। 

यो युद्धमा अमेरिका प्रवेश गरेसँगै रुस, इरान र टर्की पनि तानिए। र, यो युद्ध झण्डै १४ वर्ष लम्बियो। जसका कारण मुलुकको आधाभन्दा बढी जनसंख्या विस्थापित भयो र ठूलो शरणार्थी संकट पैदा गर्‍यो।

८ डिसेम्बर २०२४ मा असदको शासन ढल्यो। 

हायत तहरिर अल शाम (एचटीएस) नामक विद्रोही समूहले तीव्र आक्रमण थालेपछि केही दिनमै सिरियाली सेना तहसनहस भयो।

विद्रोही फौज राजधानी दमास्कस प्रवेश गर्दै गर्दा असदको परिवार विमान चढेर रुसतर्फ भाग्यो। जहाँ उनीहरूले शरण लिएका छन्। अल जजिराबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad