भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो अहिले आफ्नो जीवनकै ठूलो चुनौती सामना गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेल निर्यातमा प्रतिबन्ध घोषणा गरेका छन्। तथापि, नाकाबन्दीका भरमा मदुरोको सरकार ढाल्न ट्रम्पलाई मुस्किल पर्ने विश्लेषकहरूको भनाइ छ।
ट्रम्पले मदुरोको सरकारलाई विदेशी आतंकवादी संगठन घोषित गर्दै भेनेजुएला आउने जाने तेल ट्यांकरमा पूर्ण नाकाबन्दी लगाएका हुन्।
यो नाकाबन्दी लागू गराउन उनले क्यारिबियन क्षेत्रमा युद्धपोत खटाएका छन्। यो दक्षिण अमेरिकाको ‘इतिहासमै धेरै युद्धपोत तैनाथी’ भएको उनले बताएका छन्।
गत साता मात्र अमेरिकी सैनिकहरूले भेनेजुएलानजिक समुद्रमा एउटा तेल ट्यांकर कब्जा गरेका थिए। जसमा १० करोड डलरको तेल थियो। सो तेलको एउटा हिस्सा क्युबा पठाइँदै थियो।
‘उनीहरूले हाम्रो सबै ऊर्जा अधिकार खोसे। हाम्रो सबै तेल लगे। हामी त्यो फिर्ता चाहन्छौँ,’ ट्रम्पले भेनेजुएलाको तेलमा दाबी गर्दै भने।
त्यसपछि अन्य मुलुकबाट भेनेजुएलातर्फ हिँडेका तेलका ट्यांकरहरू फर्किएका छन्।
अहिले अमेरिकी नौसेनाको करिब एक चौथाइ हिस्सा क्यारिबियनमा तैनाथ छ। अमेरिकी सैनिकहरूले लागुऔषध तस्करी गरेको भन्दै २० वटाभन्दा बढी स्पिडबोटहरूलाई लक्षित गरी आक्रमण गरेका छन्। भेनेजुएलाको तटीय क्षेत्रमा निरन्तर अमेरिकी लडाकु विमानले उडान भरिरहेका छन्।
ट्रम्पकी चिफ अफ स्टाफ सुजी विलियम्सले जबसम्म मदुरोले हात उठाउँदैनन् तबसम्म यस्ता आक्रमण र नाकाबन्दी जारी रहने बताएकी छन्।
ट्रम्पको पछिल्लो कदमले अमेरिकी रणनीति परिवर्तन गरेको पूर्व अमेरिकी अधिकारी तथा लेखक एडवर्ड फिसम्यान बताउँछन्।
‘समुद्री नाकाबन्दी लगाउनु र भेनेजुएलाको सम्पूर्ण तेल निर्यात ठप्प पार्नु भनेको युद्धको घोषणा सरह हो। नाकाबन्दी युद्ध सुरु गर्नुअघि लगाइन्छ। यो राजनीतिको कुनै औजार होइन,’ उनले भने।
अरोरा म्याक्रो स्ट्राटेजिज नामक कम्पनीका डेनियल ल्यान्सबर्ग रोड्रिगेज भन्छन्, ‘मदुरो ओसिएको बारुदको ठूलो थुप्रोमाथि बसेका छन्। त्यो थुप्रो झनझन बढ्दैछ। ढिलोचाँडो त्यसलाई सल्काउन केही न केही चाहिन्छ। तर, मलाई लाग्दैन, यो नाकाबन्दीले त्यसलाई सल्काउँछ।’
ट्रम्पको पहिलो कार्यकालमा लगाइएका नाकाबन्दीबाट मदुरो बच्न सफल भएका थिए। तर, उनीसँग अझै टिक्ने केही उपाय छन्।
भेनेजुएलाले दैनिक १० लाख ब्यारेल तेल उत्पादन गर्छ। त्यसको एक चौथाइ हिस्सा सेभरोनले उत्पादन गर्छ। सो कम्पनीले भेनेजुएलामा आफ्नो काम जारी रहेको बताएको छ।
निर्यात रोकिएपछि यो देशले तेल उत्पादन कति समयसम्म निरन्तर गर्न सक्छ भन्ने प्रश्न पनि छ।
तेलबाहेक पैसा कमाउने अरु उपाय पनि छन् मदुरोसँग। सुन खानी, लागुऔषधबाट पनि भेनेजुएलामा डलर भित्रिन्छ। तर, अमेरिकाले भेनेजुएलाको आकाशमा उड्ने विमानहरूलाई सचेत गराइसकेको छ।
मदुरोले अहिलेसम्म ट्रम्पको धम्कीलाई टेरेका छैनन्। तर, स्थानीय मुद्रा बोलिभारको अवमूल्यन तीव्र गतिमा भइरहेको छ र डलरको अभाव हुन थालिसकेको छ।
हुन त क्युबाले अमेरिकी नाकाबन्दी सहेको ६० वर्ष नाघिसक्यो। तर, क्युबा र भेनेजुएलामा तात्विक फरक रहेको विश्लेषकहरूको भनाइ छ।
भेनेजुएलाको जनसंख्या झण्डै तीन गुणा ज्यादा छ। अनि क्युबाका क्रान्तिकारीहरूभन्दा भेनेजुएलाका सम्भ्रान्तहरू महँगो जीवनशैलीमा अभ्यस्त भइसकेका छन्।
क्युबाले मदुरोलाई महत्त्वपूर्ण सहयोग गरिरहेको छ। उनका बडीगार्ड पनि क्युबाले पठाइदिएको छ भने गुप्तचरीमा पनि सघाएको छ। तर, रुस, इरान र चीनजस्ता मुलुकले उनलाई बलियो सहयोग गर्ने वचन दिएका छैनन्।
‘मदुरो टाट पल्टिन सक्छन्। अमेरिकी नाकाबन्दीले बन्द गरिदिएको आम्दानीलाई सुन, लागुऔषधले पूर्ति गर्छजस्तो लाग्दैन,’ च्याटम हाउसका ल्याटिन अमेरिका विज्ञ क्रिस्टोफर साबातिनी भन्छन्।
तर, ह्युगो चाभेजले सुरु गरेको बोलिभारियन क्रान्ति शताब्दीको चौथाइ हिस्सा टिकेको देखेका विज्ञहरू सैन्य हस्तक्षेपबिना मदुरोको शासन ढल्छ भनिहाल्न सक्दैनन्।
‘ट्रम्प अधिकतम हल्लाखल्ला र न्यूनतम जोखिम चाहन्छन्। तर, सत्ता परिवर्तनको कारबाही सुरु हुनासाथ जोखिम ह्वात्तै बढ्छ,’ एक पूर्व अमेरिकी अधिकारीले भने।
‘नाकाबन्दीबाट सत्ता परिवर्तनको लक्ष्य पूरा गर्न सकिन्न,’ उनी भन्छन्, ‘इतिहासमा पनि अहिंसात्मक आर्थिक दबाबका भरमा सत्ता परिवर्तन भएका एकदमै कम उदाहरण छन्। तर, अफगानिस्तान होस् कि इरान, सत्ता ढाल्न अमेरिकाले सैन्य शक्ति लगायो भने उनीहरू सफल भएका छन्। तर, कठिन कुरा के छ भने त्यसपछिको स्थिति तपाईं सम्हाल्न सक्नुहुन्छ?’ फाइनान्सियल टाइम्सबाट
Shares

प्रतिक्रिया