ग्लोबल


साइप्रसमा नेपालीले नै गरे अर्का नेपालीको हत्या

साइप्रसमा नेपालीले नै गरे अर्का नेपालीको हत्या

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार ५:५७,

साइप्रस राजधानी निकोसिया नजिकै एक नेपालीको हत्या भएको छ। एउटै अपार्टमेन्टमा बस्ने साथीहरुबीच विवाद हुँदा चितवनका विवेक आमगाईंले ज्यान गुमाएको साइप्रसस्थित नेपाली महावाणिज्य दूतावासले पुष्टि गरेको हो।

२१ वर्षीय उनी त्यहाँ अध्ययन गर्दै आएका थिए। साइप्रसमा करिब ४ हजार नेपाली विद्यार्थी छन्। गैरआवासीय नेपाली संघ साइप्रसका अनुसार मृतक विवेकको नेपला ठेगाना चितवन, रत्ननगर नगरपालिका—१२ जमुनापुर हो।

स्थानीय मिडिया तथा साइप्रसमा रहेका नेपालीहरुले आक्रमणकारी सुवास गिरी नामक युवक भएको उल्लेख गरेका छन्। उनको नेपाल ठेगाना सिन्धुपाल्चोक हो। छुरा प्रहार पछि सुवास आफैँ प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेका थिए।

स्थानीय सञ्चार माध्यमका अनुसार अपार्टमेन्टमा बस्ने बाँकी चारै जनालाई नियन्त्रणमा लिएर प्ररहरीले अनुसन्धान गरिरहेको छ।  ‘एउटै अपार्टमेन्टमा ५ जना नेपाली विद्यार्थी बस्दै आएका थिए। मंगलबार साँझ रक्सी पिएपछि झगडा हुँदा एक जनाको मृत्यु भएको हो। घटनाको अनुसन्धान जारी छ’, प्रहरीलाई उदृत गर्दै स्थानीय साइप्रसमेल अनलाइले लेखेको  छ।

त्यहाँ रहेका नेपालीका अनुसार भन्सा र सरसफाईको विषयमा विवाद बढ्दै जाँदा घटनाभएको हो।

निकोसियामै बसोबास गर्ने नेपाली चेली माया लेप्चाङ तामाङले नेपालखबरसँग भनिन्, ‘मंगलबार दिउँसैतिर भान्सा र सरसफाईको विषयमा ठाकठुक परेको रहेछ। राति फेरि झगडा हुँदा दुःखद घटना हुनपुग्यो।’ 

गैरआवासीय नेपाली संघ साइप्रसले पनि नेपालीद्वारा नेपालीको हत्या भएको पुष्टि गरेको छ। अब मुद्दा अदालत पुगेको संघले जानकारी दियो।

नेपाली महावाणिज्य दूतावासले घटनाबारे साइप्रस सरकारको आधिकारिक च्यालनबाट विस्तृतमा विवरण पर्खिरहेको जनाएको छ। ‘हामी सरकारी च्यानलबाट विस्तृत विवरण पर्खिरहेका छौं। त्यसपछि घटनाबारे आधिकारिक विवरण सार्वजनिक गछौं’, स्रोतले भन्यो।

घटना मंगलबार राति मदिरा सेवन गरेर १० बजेपछि भएको हो। नेपाली विद्यार्थीको बसोबास रहेको अपार्टमेन्टदेखि प्रहरी चौकी पैदल हिँड्दा १२—१५ मिनेट दुरीमा छ।

घटनास्थलमा प्रहरी पुग्दा विवेक रगतले लतपत अवस्थामा भेटिएका थिए। ‘त्यसपछि उनलाई अस्पताल लैजान एम्बुलेन्स बोलाइएछ। एम्बुलेन्स आउन ढिलो हुँदा मृत्यु हुनपुग्यो’, नेपाली महावाणिज्य दूतावास स्रोतले टेलिफोनमा नेपालखबरसँग भन्यो, ‘अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको रहेछ। अस्पतालका डाक्टरले मृत घोषित गरे।’

नयाँ नेपाली विद्यार्थी अप्ठ्यारोमा
साइप्रस नेपालीको अध्ययन/कामको गन्तव्य मुलुक हो। कोरोना महामारीका कारण अध्ययनका लागि त्यहाँ रहेका नेपाली विद्यार्थी अप्ठ्यारोमा परेका छन्। उनीहरुको अवस्था बुझ्न इजरायलस्थित नेपाली दूतावास र साइप्रसको महावाणिज्य दूतावासले संयुक्त रुपमा फारम भराइरहेका छन्। साइप्रसमा नेपाली दूतावास छैन। त्यहाँ महावाणिज्य दूतावास मात्र रहेको छ।

‘यहाँ आएकाहरु काम गर्दै पढ्न भनेर आउनेहरु हुन्। पुराना विद्यार्थी खासै समस्यामा छैनन्’, नेपाली महावाणिज्य दूतावास स्रोतले नेपालखबरसँग भन्यो, ‘खानालाई अप्ठ्यारो पर्नेहरुलाई नेपाली संगठनले राहत वितरण गरिरहेका छन्। विस्तृत अवस्था बुझ्न अनलाइनबाट फारम भराउने काम भइरहेको छ।’

साइप्रसमा रहेका ४ हजारमध्ये अधिकांश विद्यार्थी काम गरेर अध्ययन गर्नेहरु हुन्। नेपालीहरु त्यहाँ पर्यटन उद्योगसँग सम्बन्धित काममा रोजगारीमा थिए। कोरोना भाइरस महामारीपछि साइप्रसको पर्यटन उद्योग नाजुक अवस्थामा पुगेको छ। नेपालीले रोजगारी गुमाएका छन्।

साइप्रसमा ८८३ जना कोरोना संक्रमित देखिएका छन्। १५ जनाको मृत्यु भएको छ। लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान रोकिएपछि पर्यटन उद्योग ठप्प छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad