ग्लोबल


चीनका वरिष्ठतम जर्नेल छानबिनमा, ७ सदस्यीय सैन्य आयोगमा २ जना मात्र बाँकी

चीनका वरिष्ठतम जर्नेल छानबिनमा, ७ सदस्यीय सैन्य आयोगमा २ जना मात्र बाँकी

नेपालखबर
माघ ११, २०८२ आइतबार १५:२५,

चिनियाँ सेनाको सबैभन्दा उच्च पदस्थ जर्नेलमाथि अनुसन्धान सुरु गरिएको रक्षा मन्त्रालयले जनाएको छ। जर्नेल चाङ युसिया राष्ट्रपति सी चिनफिङपछिको वरिष्ठतम सैन्य अधिकारी हुन्। उनी केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष पनि थिए।

जर्नेल चाङ डिसेम्बरमा भएको पार्टीको कार्यक्रममा अनुपस्थित रहे। त्यसपछि केही दिनयता उनी गिरफ्तार भएको अनुमान गरिँदै आएको थियो।

शनिबार चिनियाँ रक्षा मन्त्रालयले चाङलाई ‘अनुशासन र कानुनको  गम्भीर उल्लंघन गरेको’ आरोपमा छानबिन चलिरहेको बताएको हो।

चीनले भ्रष्टाचार आरोपमा पक्राउ पर्ने अधिकारीहरूका विषयमा यस्तो पदावली प्रयोग गर्ने गर्छ।

यद्यपि, मन्त्रालयले भने यसबारे थप जानकारी दिएको छैन। 

चाङसँगै जर्नेल लिउ चेनली पनि छानबिनमा रहेको बताइएको छ।

गत अक्टोबरमा मात्र चीनले ९ जना शीर्ष जर्नेलहरूलाई हटाएको थियो। 

चीनमा सीको अध्यक्षतामा रहेको केन्द्रीय सैन्य आयोगले सेनाको नियन्त्रण गर्ने गर्छ। सोही आयोगका उपाध्यक्ष चाङ कम्युनिस्ट पार्टीको २४ सदस्यीय पोलिट्ब्युरोमा पनि थिए। उनीमाथि कारबाहीसँगै ७ सदस्यीय केन्द्रीय सैन्य आयोगमा अब राष्ट्रपति सी आफैँ र सैन्य अनुशासन मामिला हेर्ने चाङ सेनमिन गरी २ जना मात्र बाँकी छन्।

चाङका बुबा चिनियाँ कम्युनिस्ट पार्टीको संस्थापक जर्नेलमध्ये एक थिए। चाङ १९६९ मा जनमुक्ति सेनामा भर्ती भएका थिए। ७५ वर्षीय चाङलाई सेवानिवृत्त हुने उमेर कटिसक्दा पनि पदमा बहाल राखिएको थियो। त्यसैले उनी राष्ट्रपति सीका निकट मानिन्थे।

पछिल्ला वर्षहरूमा राष्ट्रपति सीले रक्षामन्त्री, विदेशमन्त्रीसहित उच्च अधिकारीहरूलाई भ्रष्टाचारको आरोपमा हटाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad