इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले मध्य पूर्वमा रहेका इजरायली र अमेरिकी विश्वविद्यालयलाई निसाना बनाइने चेतावनी दिएको छ।
इरानको राजधानी तेहरानस्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयमा हमला भएपछि आईआरजीसी मध्यपूर्वमा रहेका इजरायली र अमेरिकी विश्वविद्यालयमा पनि आक्रमण गरिने बताएको हो।
आईआरजीसीले भनेको छ, ‘इरानी विश्वविद्यालयहरूमा भएको आक्रमणको बदला नलिएसम्म क्षेत्रभरिका विश्वविद्यालयलाई निसाना बनाइनेछ।’
आईआरजीसीले चेतावनी दिँदै अगाडि भनेको छ, ‘अमेरिकी विश्वविद्यालयका सबै कर्मचारी, संकाय, विद्यार्थी र आसपासका बासिन्दालाई आफ्नो सुरक्षाका लागि विश्वविद्यालयबाट कम्तीमा एक किलोमिटर टाढा रहनुहोला।’
विज्ञप्तिमा अमेरिकाले इरानी विश्वविद्यालयहरूमा भएको बम विस्फोटको निन्दा गर्नुपर्ने अन्यथा यस क्षेत्रका अमेरिकी संस्थामा पनि आक्रमण गरिने चेतावनी दिइएको छ।
यसका लागि स्थानीय समयअनुसार मार्च ३० मंगलबार दिउँसो १२ बजेसम्मको समयसीमा दिइएको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेईले सामाजिक सञ्जाल एक्समार्फत दुई इरानी विश्वविद्यालय इस्फहान युनिभर्सिटी अफ टेक्नोलोजी (मध्य इरान) र तेहरान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा भएको आक्रमणको निन्दा गरेका छन्।
बघेईले अमेरिका र इजरायलले ‘विश्वविद्यालय, अनुसन्धान केन्द्र, ऐतिहासिक स्थल र प्रमुख वैज्ञानिकलाई निसाना बनाएर देशको वैज्ञानिक जग र सांस्कृतिक सम्पदालाई कमजोर पार्ने प्रयास गरेको’ उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया