ग्लोबल


ट्रम्पले अब ७ दिन मात्र जारी राख्न पाउँछन् इरानविरुद्धको युद्ध

ट्रम्पले अब ७ दिन मात्र जारी राख्न पाउँछन् इरानविरुद्धको युद्ध

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १४:५४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति ट्रम्पसँग इरानविरुद्धको युद्ध जारी राख्न अब सात दिनको समय मात्र बाँकी छ। किनभने अमेरिकाको संविधानअनुसार कुनै पनि युद्ध जारी राख्न ६० दिनभित्र कंग्रेस (संसद्) सँग अनुमति लिनुपर्ने हुन्छ। 

तर ट्रम्पले के चलाखी गरेका छन् भने इरानविरुद्ध फेब्रुअरी २८ मा हमला सुरु गरिए पनि मार्च २ मा मात्र संसद्‌लाई जानकारी गराए। जसअनुसार अब उनले मे १ अघि संसद्‌बाट थप युद्धका लागि स्वीकृति प्राप्त गर्नुपर्छ।

तर ट्रम्प कंग्रेसको सामना गर्न चाहँदैनन्। १०० सदस्यीय सिनेटमा ट्रम्पसँग ५३ सांसद छन्, कमला ह्यारिसको पार्टी डेमोक्र्याटिक पार्टीका ४७ सांसद छन्। 

ट्रम्पको रिपब्लिकन पार्टीका लगभग १० सांसदले यसअघि नै इरान युद्धको विरोधमा बोलिसकेका छन् भने विपक्षी डेमोक्र्याटहरू यसमा एकताबद्ध छन्। त्यसैले ट्रम्प आगामी मे १ अघि नै कुनै तरिकाबाट युद्ध अन्त्य गर्न चाहन्छन्।

तर ६० दिनपछि पनि राष्ट्रपतिले एउटा विकल्प प्रयोग गर्न पाउने प्रावधान छ। राष्ट्रपतिले एकपटकका लागि ३० दिन समय थप्न पाउँछन्, तर यो समय सेनाको सुरक्षित फिर्ताका लागि हो, युद्ध जारी राख्न होइन।

यद्यपि ट्रम्पले यो समयसीमा बेवास्ता गर्न पनि सक्छन्। किनकि यसअघि अमेरिकाका राष्ट्रपतिहरूले संविधानले आफूलाई सेनाको कमान्डर-इन-चिफका रूपमा व्यापक अधिकार प्रदान गरेको तर्क गर्दै यस्ता कानुनी सीमा पूर्ण रूपमा लागु नहुने जिकिर गरेका थिए। 

उदाहरणका लागि सन् २०११ मा तत्कालीन राष्ट्रपति बराक ओबामाले लिबियामा ६० दिनभन्दा बढी समयसम्म सैन्य हमला जारी राखेका थिए र त्यतिबेला उनले त्यहाँ कुनै ‘निरन्तर युद्ध’को अवस्था नभएकाले यो नियम लागु हुँदैन भन्ने तर्क गरेका थिए। 

ट्रम्पले आफ्नो पहिलो कार्यकाल २०१९ मा यमन युद्धमा अमेरिकाको भूमिका अन्त्यका लागि पेस प्रस्ताव ‘भिटो’ (कुनै निर्णय, प्रस्ताव वा नियम पारित हुन नदिन प्रयोग गरिने विशेष अधिकार) गरेका थिए। उनले यसलाई आफ्नो संवैधानिक अधिकार कमजोर पार्ने प्रयास भनेका थिए। 

तर ट्रम्पले यसपटक ६० दिनको समयसीमा बेवास्ता गरे भने यसले रिपब्लिकन पार्टीका लागि पनि राजनीतिक कठिनाइ सिर्जना गर्न सक्छ।

त्यसो त अहिले ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चितकालका लागि लम्ब्याएका छन् भने पाकिस्तानमा फेरि दोस्रो चरणको वार्ता गर्ने प्रयास गरिरहेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad