ad ad

ग्लोबल


नेपालीको अपमान गरेको भन्दै बलिउड अभिनेत्री अनुष्काविरुद्ध अरुणाचलमा मुद्दा दर्ता

नेपालीको अपमान गरेको भन्दै बलिउड अभिनेत्री अनुष्काविरुद्ध अरुणाचलमा मुद्दा दर्ता

शैलेन्द्र समदर्शी
जेठ ६, २०७७ मंगलबार ७:२०,

अनुष्का शर्मा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलामाथि अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरिएकाले उनीविरुद्ध अरुणाचल प्रदेशको गोर्खा समाजले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको हो।

पाताल लोकमा नेपाली महिलामाथि प्रयोग गरिएको अत्यन्त आपत्तिजनक दृश्य र संवादका कारण अहिले अनुष्का शर्मा विवादमा तानिएकी छिन्।

उक्त वेब सिरिजले नेपाली भाषीहरुको अपमान भएको भन्दै यतिबेला विश्वभरबाट अनुष्का शर्माको आलोचना भइरहेको छ।

उनको विरोधमा भारतका विभिन्न प्रान्तमा रहेका गोर्खा समाज आक्रोशित बनेका छन्।

सो क्रममा शर्माविरुद्ध विभिन्न स्थानमा मानहानी सम्बन्धी मुद्दा दर्ता गरिएको छ।

बलिउड अभिनेत्री शर्माविरुद्ध अल अरुणाचल प्रदेश गोर्खा युथ एसोसिएशनले मात्र नभएर दिल्ली बस्दै आएकी दार्जिलिङ निवासी अञ्जनी शर्माले पनि मानव अधिकार आयोग र दिल्लीको साइबर क्राइममा सोमबार मुद्दा दायर गरेकी छन्।

‘पाताल लोकमा नेपालीभाषी महिलामाथि जुन प्रकारको शब्द प्रयोग गरिएको छ, त्यो अत्यन्त निन्दनीय छ। त्यो आपत्तिजनक र नश्लवादी टिप्पणी हो’, शर्मा भन्छिन्, ‘त्यसैले मैले अनुष्का शर्माविरुद्ध मानव अधिकार आयोग र साइबर क्राइममा उनीविरुद्ध मुद्दा दायर गरेकी हुँ।’

अञ्जनी शर्मा गोर्खाल्यान्ड संयुक्त सङ्घर्ष समितिकी प्रवक्ता पनि हुन्। अर्कोतिर भारतभर सङ्गठन रहेको भारतीय गोर्खा परिसङ्घको युवा एकाइ भारतीय युवा गोर्खा परिसङ्घले पनि अभिनेत्रीविरुद्ध भारत सरकारको सूचना एवं प्रसार मन्त्रालयमा ‘अनलाइन उजुरी’ दायर गरेको छ।

युवा परिसङ्घका राष्ट्रिय संयोजक नन्द देवानका अनुसार पाताल लोकमा नेपालीभाषी महिलामाथि गरिएको टिप्पणी एक करोड ५ लाख भारतीय गोर्खामाथिको अपमान हो।

उनीहरूले यस संवादका लागि अमेजन प्राइम, निर्माता अनुष्का शर्माले माफी माग्नुपर्ने तथा बेव सिरिजबाट उक्त दृश्य र संवाद हटाउनुपर्ने माग गरेका छन्।

मे १५ का दिन रिलिज भएको अमेजन प्राइमको वेब सिरिज पाताल लोकमा पूर्वोत्तर भारतको एक जनजाति महिलालाई ‘नेपाली वेश्या’को रूपमा देखाउन खोजिएको छ।

वेब सेरिजको दृश्य र संवादले चोट पुगेपछि भारतस्थित गोर्खा समाजले यसको विरोधमा मानव अधिकार आयोगसमक्ष मुद्दा दर्ता गरिसकेको छ।

तर अहिलेसम्म पनि अमेजन प्राइम र अनुष्का शर्माबाट कुनै स्पष्टीकरण आएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .