दुई घण्टाभन्दा लामो द्विपक्षीय वार्तापछि ‘टेम्पल अफ हेभन’तिर जाँदै गरेका सी चिनफिङ र डोनाल्ड ट्रम्प फोटो खिचाउन केहीबेर रोकिए। त्यसबेला पत्रकारहरूले ट्रम्पलाई सोधे, ‘वार्ता कस्तो भइरहेको छ?’
ट्रम्पले जवाफ दिए, ‘राम्रो! गज्जबको ठाउँ, अतुलनीय। चीन सुन्दर छ।’
पत्रकारहरूले ताइवानको बारेमा पनि कुराकानी भयो भनेर सोध्दा उनले कुनै जवाफ दिएनन्। तीन पटक पत्रकारहरूले यो प्रश्न सोधेका थिए। तर ट्रम्पले जवाफ दिएनन्।
त्यसअघि सैन्य सलामी र बालबालिकाहरूले गरेको स्वागतबाट ट्रम्प निकै प्रभावित देखिन्थे।
‘सेना त यहाँभन्दा गतिलो हुनै सक्दैन,’ द्विपक्षीय वार्ताको सुरुमा पनि ट्रम्पले भनेका थिए।
वार्तापछि ह्वाइट हाउसले पनि ताइवानको विषयमा बोलेको छैन। बरु, इरानको विषयमा जोड दिएको छ। ह्वाइट हाउसले हर्मुज जलमार्ग खुला गर्न दुवै पक्ष सहमत भएको उल्लेख गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुई नेताबीचको शिखर बैठक राम्रो भएको टिप्पणी गरेका छन्।
‘विश्वमा स्थिरता हुनु सबैको हितमा छ,’ रुबियोले भनेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया