इरानले अमेरिकी ड्रोन खसालिएको र इरानी हवाई क्षेत्रमा घुसपैठ गरेको लडाकु विमानमा गोली पनि हानिएको दाबी गरेको छ।
अल जजिराको रिपोर्टअनुसार ‘इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इरानी सेनाले आरक्यू-४ ड्रोन र घुसपैठ गर्ने ए-३५ लडाकु विमानविरुद्ध कारबाही गरेको बताएको हो।’
तर घटना कहिले हो भन्ने कुरा स्पष्ट पारिएको छैन।
आईआरजीसीले चेतावनी दिँदै भनेको छ, ‘अमेरिकाले युद्धविराम उल्लंघन गरेमा इरानलाई बदला लिने अधिकार छ।’
युद्धविरामका बिच अमेरिकाले सोमबार राति दक्षिणी इरानमा हमला गरेपछि इरानी सर्वोच्च नेता मोज्तबा खामेनीले विज्ञप्ति जारी गरेका छन्।
इरानको सरकारी टेलिभिजनबाट पनि प्रसारित खामेनीको लिखित सन्देशमा खाडी क्षेत्रका देशहरूले अब अमेरिकी अड्डाहरूका लागि ढालका रूपमा काम नगर्ने दाबी गरिएको छ।
उनले भनेका छन्, ‘यो निश्चित छ- समयको चक्र पछाडि फर्कने छैन र यस क्षेत्रका देश तथा भूमि अब अमेरिकी अड्डाहरूका लागि ढालका रूपमा काम गर्ने छैनन्।’
उनले यो पनि भनेका छन्, ‘अमेरिका आफ्नो पहिलेको स्थितिबाट झन्झन् टाढा जाँदै छ।’
आफ्नो सन्देशमा खामेनीले इजरायल पनि उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘अस्थिर यहुदी शासन र इजरायल आफ्नो दुर्भाग्यपूर्ण जीवनको अन्तिम चरणमा पुगिरहेका छन्।’
लिखित सन्देशमा उनले १० वर्षअघि आफ्ना बुबाको भनाइ पनि सम्झेका छन्।
उनले भनेका छन्, ‘२५ वर्षपछि इजरायलले इतिहास देख्न पाउने छैन।’
इजरायल र अमेरिकाको संयुक्त हमलामा गत फेब्रुअरीमा पिता मारिएपछि मार्चमा सर्वोच्च नेता बनेका मोज्तबा खामेनी त्यसयता सार्वजनिक रूपमा देखिएका छैनन्।
उनले अहिलेसम्म लिखित वक्तव्य मात्र सञ्चारमाध्यममार्फत जारी गरिरहेका छन्।
Shares

प्रतिक्रिया