ग्लोबल


९० लाख खर्चेर पोर्चुगलमा आठ हजारलाई पिज्जा खुवाउँदै बागलुङका टंक सापकोटा

९० लाख खर्चेर पोर्चुगलमा आठ हजारलाई पिज्जा खुवाउँदै बागलुङका टंक सापकोटा

भगवान गिरी
असार ५, २०७७ शुक्रबार ९:२१,

विश्वमा इटालेली खानाका लागि बीसौँ नम्बरभित्र पर्ने पोर्चुगलका नेपाली सेफ टंक सापकोटाले एक आठ हजार जनालाई आठ हजार पिज्जा निःशुल्क खुवाउने अभियान शुरु गरेका छन्।

‘एक्लैले संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ’ भन्ने नाराका साथ कोरोना कहरबाट प्रभावितका लागि टोली नै लिएर सापकोटा एक महिनाभित्र पिज्जा खुवाउन मैदानमा उत्रिएका हुन्। अभियान असार २ गतेदेखि शुरु भइसकेको छ। इटालेली पिज्जाका लागि पोर्चुगलमा उत्कृष्ट सेफका रूपमा उनी धेरै पटक सम्मानित भइसकेका छन्।

बाग्लुङको दमकेमा जन्मिएर युरोपका विभिन्न देश हुँदै २४ वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाएका ४५ वर्षीय सापकोटा विभिन्न सेवामूलक काम र सहयोग पु¥याएकाले पनि सुपरिचित छन्। कोरोनाको महामारीबाट समस्यामा परेका मानिसलाई आफ्नो निजी खर्चमा सेवाभावले पिज्जा खुवाउने अभियान चलाइएको सापकोटाले राससलाई बताए।

पोर्चुगलको राजधानी लिस्बनका २४ वटा वडाका समस्याग्रस्त मानिसलाई पिज्जा खुवाउने लक्ष्य राखिएको छ।

‘लिस्बन महानगरका काउन्सिलर कार्लोस कास्तुको समन्वयमा सम्बन्धित स्थानमा नै पिज्जा बनाएर खुवाउन हाम्रो टिम जुटेको छ’, सापकोटाले भने। घुम्ती शिविर हरेक वडामा सञ्चालन हुने र घरघरमा पिज्जा पु-याइने छ। स्थलगत पिज्जा तयार पार्ने व्यवस्थापनमा नेपाली व्यवसायी लक्ष्मीप्रसाद सापकोटा पनि लागिपरेका छन्।

मूलतः एशियाली र अफ्रिकी तथा पोर्चुगिसलाई पिज्जा वितरण गर्ने लक्ष्य छ। सामान्यतः एउटा पिज्जा तयार गर्न नौ युरो अर्थात् झण्डै रु एक हजार एक सय लाग्ने अनुमान छ। अभियानलाई नै आवश्यक पर्ने पिज्जा बनाउनका लागि उनले ३० हजार युरो (झण्डै रु ४० लाख) पर्ने चुल्हो (फोर्नो) उनले किनेका छन्। उनको अभियानमा ७० हजार युरो (रु ८५ लाखदेखि ९० लाख) खर्च हुने जनाइएको छ।

अभियानमा लिस्बन नगरपालिकाका मेयरले महत्वाकांक्षी योजनामा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। काउन्सिलर कार्लोस कास्तुले आफैँ पिज्जा बनाउने स्थलमा उपस्थित भई उनको कामको हौसला प्रदान गरेका छन्। एक नेपालीले यति ठूलो पुण्य काम गरेकामा लिस्बन नगरपालिका सधैँ साथमा रहेको उनले बताए।

अभियान पोर्चुगलभरि नै सञ्चालन गर्ने उनको अठोट छ। ‘समाजसेवा भनेको मनदेखि नै आउनुपर्छ। स्वार्थरहित समाजसेवामा लागेको हुँ’, उनले भने। उक्त अभियानमा ५०० स्वयंसेवक परिचालन गरिएको छ। एघार कर्मचारी पारिश्रमिक लिएर उक्त अभियानमा खटिरहेका छन्।

यसअघि सापकोटा विश्वको सबैभन्दा महँगो र दुर्लभ च्याउ (हाइट्ट्राफल) पोर्चुगलमा भित्र्याउने पहिलो नेपालीको पहिचान बनाउन सफल भएका छन्। हाल पोर्चुगलमा तीन इटालियन र एक नेपाली रेस्टुरेन्ट सञ्चालनमा छन्। एक इटालेली रेस्टुरेन्टमा पिज्जा तयार पार्न सुनको चुल्हो तयार राखिएको छ।

उनको रेस्टुरेन्टमा पोर्चुगलका विभिन्न क्षेत्रका चर्चित व्यक्तित्व, कलाकार, फुटबल खेलाडी र राजनीतिज्ञको जमघट हुने गरेको छ। पोर्चुगलका वर्तमान राष्ट्रपति मार्सेलो रेवेलो दे सौसा र प्रधानमन्त्री एन्तानियो कोस्टा पनि धेरै पटक आफूले बनाएको पिज्जा खान रेस्टुरेन्ट आउने गरेको सापकोटाले आफ्नो अनुभव सुनाए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad